हरिद्वार महाकुम्भः पहिलो स्नान महाशिवरात्रिमा हुने

हिन्दुहरुको सबैभन्दा ठूलो आस्थाको मेला कुम्भ यसपटक उत्तराखण्डको देविनगर हरिद्वारमा आयोजना हुँदैछ । कुम्भलाई समुद्र मन्थनका बेला निक्लिएको अमृत कलशका रुपमा हेरिन्छ । कुम्भ मेलाको आयोजना १२ वर्षमा हरेक तीन वर्षको अन्तरालमा प्रयागराज, हरिद्वारा, नासिक र उज्वैवनमा हुँने गर्दछ । 

हरिद्वारको कुम्भ गंगा तटमा, उज्वैनको शिप्रा नदीको तटमा, नासिकमा गोदावरी नदीको टमा र प्रयागराजमा गंगा, यमुना र सरस्वतीको संगममा आयोजना हुन्छ । 
पुराणमा कुम्भबारे एक श्लोक वर्णन गरिएको छ । 

‘कुम्भ राशिगते जीवे यद्द्विनेशन मशगे रवौ।
 हरिद्वारे कृतसंसाननं पुनरावृत्तिवर्जनम् ।’

अर्थात जब सूर्य मेष राशिमा र बृहस्पति कुम्भ राशिमा प्रवेश गर्दछन् तब हरिद्वारमा कुम्भ मेलाको आयोजना हुन्छ । ज्योतिषीय स्थितिमा गंगा स्थान गर्ने सबैलाई पापबाट मुक्ति मिल्ने र जीवन–मरणको चक्रबाट छुटकारा मिल्नुका साथै मोक्ष प्राप्ति हुने मान्यता रहँदै आएको छ । 

हरेक कुम्भ मेला चार महिना लामो हुन्छ । तर, यसपटक कोरोना महामारीलाई मध्यनजर गर्दै हरिद्वारमा आयोजित कुम्भ मेला २८ दिनसम्म मात्रै चल्नेछ । यसपटक एक अप्रिलदेखि २८ अप्रिलसम्म आयोजना हुनेछ । यसबीच राज्य सरकार र केन्द्रीय सरकारले पनि केही गाइडलाइन जारी गरेका छन् । कुम्भमा आउने श्रद्धालुहरुलाई अनिवार्य लागू गर्नुपर्ने बताइएको छ । 

हरिद्वार कुम्भ मेलामा यसपटक चार शाही स्नान हुनेछन् । विश्वभरबाट मेलाका लागि श्रद्धालु हरुको आउने क्रम सुरु भइसकेको छ । कुम्भमा स्नान सबैभन्दा आकर्षणको केन्द्रविन्दु हुन्छ । 



शिवरात्रिको दिन पहिलो स्थान

हरिद्वार कुम्भ मेलाको शुरुवात एक अप्रिलदेखि नै हुनेछ । तर पहिलो शाही स्थान भने ११ मार्च महाशिवरात्रिको अवसरमा हुने भएको छ । पृथ्वीमा गंगा अवतरण भगवान शिवका कारण भएको र शिवको जटामा गंगा समाहित भएको हिन्दु धर्ममा मान्यता रहेको छ । यसैकारण शिवरात्रिकै दिन पहिलो गंगा स्नान हुने भएको छ ।



यस्तै यसपटकको कुम्भको दोस्रो शाही स्नान पहिलो स्नानको एक महिनापछि १२ अप्रिल सोमबार औँसीको दिन हुने भएको छ । औंसीको दिन पवित्र नदीमा स्नान गरी दान गर्नुलाई विशेष महत्वका रुपमा हेरिन्छ । तेस्रो शाही स्नान १४ मेष संक्रान्तिमा हुनेछ । मेष संक्रान्तिका दिन गंगाको जल अमृत बन्ने मान्यता छ ।

ज्याेतिषीय मान्यता अनुसार यस दिन गंगा स्नान गर्ने व्यक्तिको जीवनमा सबै पाप पखालिन्छ । हरिद्वारा कुम्भ मेलाको चौथो र अन्तिम शाही स्नान चैत्र पूर्णिमाका दिन हुनेछ । यसलाई शाही स्नानको महत्वपूर्ण दिनमध्ये एक मानिन्छ । चैत्र पूर्णिमालाई अमृत योगको नामले पनि जानिन्छ । 

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार १५:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया