‘विप्लव साँच्चिकै अग्रगमनको पक्षमा छन्'
कार्यकर्ता सोध्छन् : विप्लवका मुद्दा कहाँनेर गलत छन्?

करिब ३ बज्नै लाग्दा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द राष्ट्रियसभा प्रवेश गरेपछि उनको स्वागतमा कार्यकर्ता तथा समर्थकहरू खुसीले गद्‌गद् भए। उनीहरू चन्द चढेको गाडीलाई पछ्याउँदै आफूहरूले केही घण्टादेखि लाउँदै आइरहेको नारा फेरि लाउन थाले :

विप्लव आउ देश बचाऊ !
वीर सहिदहरू लाल सलाम ! 

पूर्वनिर्धारित कार्यक्रम अनुसार विप्लव दिउँसो २ बजे सभागृहमा आउने कार्यक्रम थियो। विप्लव करिब एक घण्टा ढिलो गरी पुगे। तर, उनका समर्थकहरू उनलाई व्यग्रताका साथ पर्खिरहेका थिए, थोरै पनि नडगमगाई। 

सभागृहको माहोल हेर्न लायक थियो। दुई वर्षपछि पहिलो पटक सार्वजनिक हुन लागेका विप्लवलाई हेर्न आउनेको घुइँचो थियो। सभागृहभित्रको मात्र होइन, त्यस आसपासको समेत सुरक्षा व्यवस्था कडा गरिएको थियो। 

विप्लव आफ्ना कार्यकर्ताहरूलाई अभिवादन गर्दै भित्र छिरेको एकै छिनपछि कार्यक्रम सुरु भयो। कार्यक्रम राष्ट्रिय गान बजाएर सुरु भयो। यतिबेलासम्म नारा लगाएर र यत्रतत्र सर्वत्र छरिएर बसिरहेका सबै कार्यकर्ता सर्वसाधारणहरूको ध्यान सभागृहभित्र बजेको राष्ट्रिय गानले आकृष्ट गर्यो। 

त्यसपछि उनीहरू सभागृहको पूर्वतर्फ राखिएको एल सिडी स्क्रिनतर्फ लम्किए र ध्यानपूर्वक सुन्न थाले भित्र भइरहेका गतिविधि। विप्लवलाई हेर्न आउने सर्वसाधारणको संख्यालाई मध्यनजर गर्दै सभागृहको प्राङ्गणमा स्क्रिनको व्यवस्था गरिएको थियो। 



भित्र बिहीबार सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति पत्रमा हस्ताक्षर कार्यक्रम अगाडि बढिरहँदा हामीले बाहिर हर्षोल्लासका साथ बसिरहेको केही सर्वसाधारण तथा कार्यकर्ताहरूसँग कुराकानी गर्यौँ। 

रामेछापका ध्रुव बस्नेत केही दिनअघि काठमाडौँ आएका हुन्। ५० वर्षीय बस्नेत घुमघामको सिलसिलमा काठमाडौँ आएका रहेछन्। दुई वर्षपछि सार्वजनिक हुन लागेका विप्लवलाई हेर्न उनी एक बजेदेखि प्रतिक्षारत थिए।



पेसाले किसान बस्नेत सरकार र विप्लवबीच भएको तीन बुँदे सहमतिलाई एकदमै सकरात्मक रुपमा लिन्छन्। उनी सरकार र विप्लवबीच सहमति हुनुको विकल्प नभएको मान्छन्। 

‘यो सहमति दुवै पक्षको हितमा छ। दुवैले एकअर्कालाई महसुस गरे, जुन एकदमै सकारात्मक हो,’ बस्नेतले फरकधारसँग आफ्नो विचार सुनाए, ‘आजको दिन नेपाली इतिहासमा एक सुनौलो दिन हो।’

उनी वैचारिक रुपमा पनि कम्युनिष्ट नै हुन्। सम्पूर्ण कम्युनिष्टहरूमध्ये उनको झुकाव नेत्र विक्रम चन्दले नेतृत्व गरिरहेको नेकपा विप्लवप्रति छ। 

कारण?

उनलाई लाग्छ सधैँ विप्लव अग्रगमनको पक्षमा छन्। ‘म पनि सधैँ अग्रगमनको पक्षमा भएकाले मलाई उहाँ मन पर्छ,’ बस्नेत थोरै मुस्कुराए, ‘विप्लवका हरेक कार्य र गतिविधि अग्रगमनको पक्षमा छन्।’

त्यसो त विप्लवका कार्य तथा गतिविधिलाई कतिपयले हिंसात्मक भन्छन्। सरकारले पनि उसका गतिविधिलाई हिंसात्मक र अभद्र भन्दै ऊमाथि प्रतिबन्ध लगाएको हो नि?

‘होइन ! म यो कुरामा सहमत छैन,’ हाम्रो प्रश्नको जवाफमा बस्नेतले भने, ‘विप्लवले उठाएका मुद्दा नबुझ्नेहरूले मात्र त्यसो भनेका हुन्। विप्लव त सधैँ देश र जनताको पक्षमा छन्। विप्लवले उठाएको कुन मुद्दा अनि कहाँनेर गलत छ भनिदिनुस् त ?’

आजको सम्झौतापछि विप्लव देश र जनताको पक्षमा आवाज अझै सशक्त रुपमा लाग्नेमा विश्वस्त छन् बस्नेत। बस्नेतकै कुरामा सहमत छन् काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका दहचोक स्थायी घर भएका ५६ वर्षीय हरिशरण थापा र ५० वर्षीय अनन्तराज सिग्देल। थापा र सिग्देल विप्लवलाई हेर्न सभागृहमा दुई बजे पुगेका हुन्। 

बस्नेत जस्तै यी दुई जना पनि कम्युनिष्ट हुन्।  उनीहरूको समान मत छ, ‘यो कदमले सरकार र विप्लव दुवै पक्षलाई फाइदा पुगेको छ। र, यो महत्वपूर्ण कदम थियो।’  
तर, यी दुवैको झुकाव चाहिँ अहिले विभाजित केपी ओली नेकपा समूहप्रति छ। दुवै जना विप्लवका पछिल्ला दुई वर्षका गतिविधिलाई गलत नै त मान्दैनन्, तर शान्तिपूर्ण पनि मान्दैनन्। 

‘विप्लवका गतिविधिहरू शान्तिपूर्ण थिएनन्, भलै उनीहरूले जनताकै मुद्दा उठाउँथे,’ सिग्देल प्रश्न गर्छन्, ‘अबका दिनमा भने गतिविधि पनि शान्तिपूर्ण रुपमै हुनेछन्। जब कुनै समस्याको समाधान शान्तिपूर्ण रुपमै गर्न सकिन्छ, ब्यालेटको सहायताबाट गर्न सकिन्छ भने किन बुलेटको सहारा लिने ?’

पछिल्लो समय विप्लवले यही कुरा बुझेर सरकारसँग वार्ता गर्न आएको सिग्देलको विचार छ। विप्लवसँग सम्झौता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निकै महत्वपूर्ण भुमिका खेलेकाेमा उनले ओलीलाई धन्यवाद दिए। 

‘प्रम केपी ओलीले यो कार्य न कसैलाई चिढ्याउन गरेका हुन् न आफ्नो व्यक्तिगत अभिष्ट पूरा गर्न नै,’ थापाले भने, ‘प्रम ओलीको यो कार्य सम्पूर्ण देशका लागि हो। यो कार्यले देशमा खुसीको माहोल ल्याएको छ।’

थापाले अगाडि भने, ‘उनलाई मन नपराउने मान्छेले उनको यो कार्यलाई स्वार्थ केन्द्रित भनेका छन्। तर, वास्तवमा उनले यो कदम आफ्नो स्वार्थपूर्तिका लागि नभइ देश र जनताको हकहितका लागि गरेका छन्।’ 

हतियार उठाएर मात्र समस्याको समाधान हुँदैन भन्ने कुरा विप्लवले बुझेर नै सम्झौता प्रक्रियामा आएको थापाको ठहर छ। विप्लवको यो परिपक्‍व बुझाइले उनलाई आफैंमा र जनतामाझ झन् बलियो र शसक्त बनाउने थापाले बताए। 

  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार २१:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया