बाल्यकालको त्यो घटना, जसले प्रेमसागरलाई रक्तदानको 'अभियन्ता' बनायो
घरमा ढाँटेर दशाैँपटक रक्तदान
फरकधार / २२ फागुन, २०७७

‘रक्तदान गरी, गरौँ जीवनदान
दानमा दान, महादान
रक्तदान गरी, गरौँ जीवनदान...’

जो कोहीले उनलाई फोन गर्दा यही रिङ् ब्याक टोन बज्छ । टेलिकममा ‘कल रिङ् ब्याक टोन’ सुविधा आएदेखि आफूलाई सम्झेर फोन गर्नेहरुलाई रक्तदान अर्थात् महादान गर्न उनी यसरी नै प्रेरित गरिरहेका छन् । 

रिङ् ब्याक टोन सुविधा आउनुभन्दा धेरै दशकअघि उनले लेखेको यो गीत जनगायक रामेशको स्वरमा रेकर्ड भयो । देशभर हुने रक्तदान कार्यक्रमहरुमा सबैभन्दा बढी बज्ने यो गीतका गीतकार ‘सर्जक’ भन्दा पनि बढी रक्तदान अभियन्ता हुन् । 

उपचारका दौरान रगत खाँचो पर्दा घरीघरी सम्झिइने यिनमा मानवतावादी प्रेमको सागर भेट्छन्, बिरामी र तिनका आफन्त । त्यसैले त मानवीय सत्कर्मका एक आचार्य हुन्, प्रेमसागर कर्माचार्य ।

दशकौँअघि रक्तदान गर्न थालेका प्रेमसागरले अहिलेसम्म १ सय ६४ पटक  रगत दिइसकेका छन् । लामो समय व्यक्तिगत रुपमा रक्तदान गर्ने र गराउने अभियानमा लागेका प्रेमसागरले २०६२ सालपछि भने नेपाल स्वयंसेवी रक्तदाता समाजमार्फत संस्थागत रुपमा अभियानलाई निरन्तरता दिइरहेका छन् । उनी देशभर रक्तदाताहरुको सञ्जाल विस्तार गर्न लागिरहेकै छन् ।

राजधानीको हुने खाने परिवारमा जन्मिएका प्रेमसागरले बुवाको समाजसेवा र पञ्चायतकालीन राजनीतिलाई नजिकबाट साक्षात्कार गरे । बुवालाई पछ्याउँदै, औँला समात्दै अनेकन कार्यक्रमहरुमा जान थालेदेखि नै उनमा समाजसेवाको सपनाले गुँड लगायो ।

२०२८ सालमा प्रेमसागरको परिवार काठमाडौंको मझिपातबाट बागबजारमा बसाइ सर्‍यो । तत्कालीन खसीबजार आडैमा रहेको घरदेखि टुँडिखेलसम्मको खेतबारीमा कृषकहरु काम गरिरहेका देखिन्थे । कामका दौरान हातखुट्टामा चोट लागि अत्यधिक रक्तश्राव भएर कृषकका ज्यानैसम्मका घटना देखेपछि प्रेमसागरको बाल मस्तिष्कमा प्रश्न उठ्यो– ‘के मान्छेको शरीरमा रगत भरेर उसलाई बचाउन सकिन्नथ्यो ?’ यो सवालले उनलाई निरन्तर लघारिरह्यो ।

नेपालमा रक्तदानका क्षेत्रमा काम गर्ने स्वयंसेवी समूहले नेपाल रेडक्रस सोसाइटी स्थापना गरेको थियो । हालको राष्ट्रिय ट्रमा सेन्टर भएको स्थानमा उतिबेला नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक थियो । काठमाडौंका विभिन्न स्थानबाट सामान ओसारपसार गर्ने भरियाहरुले जीविकाका लागि कुरा मिलाएर रगत बेच्थे । ती दृश्य नियाल्दै त्यही बाटो हिँडिरहने प्रेमसागरलाई रक्तदानप्रति झनै चासो बढ्न थाल्यो ।

रेडक्रसका तत्कालीन सिनियर ल्याब टेक्निसियन बासुदेव शर्मा पौडेलसँग प्रेमसागरको चिनापर्ची भयो । त्यो चिनजानले रक्तदानलाई नजिकबाट देख्ने र बुझ्ने अवसर दिलायो, प्रेमसागरलाई । अब घरबाट बाहिर निस्कनासाथ उनको बाटो रेडक्रसको ब्लड बैँकतर्फ मोडिन थाल्यो । 

एकपटक घर परिवारसँग सल्लाह नै नगरी सुटुक्क रेडक्रस सोसाइटीको ब्लड बैंकलाई रक्तदान गरे, प्रेमसागरले । पहिलोपटक रक्तदान गरेपछि उनमा त्यो पुण्य कर्मको चाह बढिरह्यो । उनले दशौँ पटक रेडक्रसकै ब्लड बैंकलाई रक्तदान गरे । 

उतिबेला आफ्नो शरीरको रगत झिकेर अरुलाई दिन मिल्छ वा रक्तदान गर्नुपर्छ भन्ने विषयमा कहीँ कतै कुराकानी भएको सुनिँदैनथ्यो । आफूले दशौँपटक रक्तदान गरेको कुरा आमा बुवालाई थाहा दिँदा घरमा झण्डै कुटाइ खाए, प्रेमसागरले । रक्तदान गरेकाले छोरो दुब्लाएको भन्दै उनकी आमाको आँखा र सिरानी भिजिरह्यो । तर, अहिले छोराको सत्कर्म बुझेकी छन् र हरेक ३ महिनामा रक्तदानको समय सम्झाउँछिन् ।

हरेक मानिसले भविष्यका लागि कैयौँ सुनौला सपना साँचेको हुन्छ । तिनै सपनाले हो, मानिसलाई आफ्नै जीवनप्रति प्रेम जगाउने । रक्तदान गर्दै, गराउँदै हजारौँको जीवन बचाउन अहोरात्र खटिएका प्रेमसागरलाई लाग्छ उनी रगत दिनकै लागि जन्मिएका हुन् । हरेक ३-३ महिनामा रक्तदान हेतु आफ्नो शरीरलाई स्वस्थ राख्न उनी हमेसा सतर्क रहन्छन् ।

प्रेमसागरको मोबाइल फोन प्रायः व्यस्त रहन्छ । ९० प्रतिशत फोन रगत नपाएर छटपटिएका मानिसकै आउँछ । उनको फोनको घण्टी बज्ने कुनै निश्चित समय छैन । रगत नपाएर कोही नमरुन् भन्ने चाह छ, प्रेमसागरको । उनी जुनकुनै बेला झिँजो नमानी फोनमा कुरा गर्छन् र रगत नपाएका बिरामीलाई यथासक्य दिलाएरै छाड्छन् । मध्यराति समेत तारन्तार फोन बज्दा साह्रै झिँजो मान्ने श्रीमती र परिवारजन अहिले उनको कर्मप्रति अभ्यस्त भैसकेका छन् ।

जिन्दगीको लामो कालखण्ड रक्तदान गर्न र गराउन खर्चेका प्रेमसागरले अनेकन तीता मीठा अनुभूति सँगालेका छन् । गंगालाल अस्पतालमा पाँच वर्षको बालिकाको मुटुको शल्यक्रियाका लागि ‘ए पोजेटिभ’ रगत चाहिएको खबर आयो । रक्तदानका लागि उनी आफै दौडिए, बिरामीलाई उनको रगत चढाइयो । ‘ओ पोजेटिभ’ रगत चाहिएकामा पूर्जी लेख्ने स्वास्थ्यकर्मीले असावधानीवश ‘ए पोजेटिभ’ लेखिदिएछन् र गडबड हुन पुग्यो । बालिकाले मृत्युवरण गरिन्, उनी निकै भाव विह्वल भए । त्यो घटनाको यादले उनको मन आजपर्यन्त चिथोरिरहन्छ ।

अहिलेसम्म रक्तदान नगरेकालाई रक्तदान गराउन तयार पार्नु निकै चुनौतीपूर्ण छ । ‘शरीर छेडेर रगत निकाल्ने’ कुरा प्रतिको पुरातन धारणा र तथ्यपरक बुझाइको अभावमा मानिसले रक्तदान गर्ने कुरै भएन । यही बुझाउन प्रेमसागर दशकौँदेखि लागिरहेका छन् ।

रगतको स्रोत नै मानिस हो, कुनै अस्पताल होइन । विज्ञान भन्छ– मानिसलाई दैनिक कार्यसञ्‍चालन लागि प्रतिकेजी ५० मिलिलिटर रगत भए पुग्छ । सामान्यतया स्वस्थ पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर रगत हुन्छ भने महिलामा ६६ मिलिलिटर । आफ्नो शरीरमा नियमित बनिरहने र बढी हुने रगत दान गर्दा कसैको जिन्दगी बाँच्छ भने रगत दान किन नगर्ने ? नागरिकहरुलाई यो तथ्य बुझाउन सरकारी निकायले नै पहल गर्नुपर्छ भन्ने धारणा छ, प्रेमसागरको ।

त्यसो त, रेडक्रसबाटै प्रेरित भएर रक्तदान अभियन्ता बनेका प्रेमसागर अहिले भने ‘रेडक्रसले बदमासी गर्न थालेको’ भन्दै दुःख व्यक्त गर्छन् । रक्तदानको सबैभन्दा जेठो संस्थाको त्यो ऐतिहासिक गरिमामाथि खेलबाड भइरहेको सुन्नमा आएकोप्रति उनी चिन्तित देखिन्छन् ।

अहिले अरु थुप्रै कथित ‘स्वयंसेवी’ संस्थाहरु पनि छन्, जो दाताबाट निःशुल्क रगत लिएर आवश्यकतामा रहेका बिरामीहरुलाई रगत बेचिरहेछन् । यसप्रति प्रेमसागरको आपत्ति छ । सरकारी निकायबाट यस्ता कारोबारको नियमन नभएकोमा प्रेमसागरहरु दुःखी छन् ।

रक्तदान गर्ने, गराउने कार्यक्रमलाई सुरक्षित र विश्वसनीय बनाउनुपर्ने तर्क गर्छन्, प्रेमसागर । उनी भन्छन्, ‘अचेल बाटो–बाटोमा रक्तदानका कार्यक्रम भइराखेका हुन्छन् । सबै आयोजक संस्थाका रक्त संकलन कार्य ‘हाइजिन’का कोणले सुरक्षित नहुन सक्छन् । यसको गम्भीर असर रक्तदाता र रक्त प्रापक दुवैमा पर्न सक्छ ।’ यसप्रति सजग रही सुरक्षित तरिकाले रक्तदान गर्न उनको सुझाव छ ।

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १३:०:२१,   अन्तिम अपडेट : फागुन २२, २०७७ शनिबार १७:२२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया