[प्रशव पीडा र खुसी] हर सुख-दुःखमा दुखिरहने घाउ हुन् सन्तान

२०३८ साल तिरको कुरा हो । त्यो बेलाको नेपाली समाजको सोच छोरीहरूका लागि त्यति फराकिलो थिएन । एक त स्कुल जाने छोरीहरू निक्कै कम हुन्थे । स्कुल जाने छोरीचेली पनि एसएलसी सकिँदा नसकिँदै बिहे गरेर घर गैसक्थे ।

कलेज जाने त विरलै हुन्थे ! १५-१६ मा टेक्दा उनीहरूको बिहे भइसक्थ्यो भने कोही कोही त आमा पनि । ठिक त्यही समय २३-२४ वर्षसम्म छोरीको बिहे नगरी बस्दा साहित्यकार उषा शेरचनका बुवा आमाले यो समाजको कति प्रश्नको जवाफ दिनु पर्‍यो थाहा छैन ।

नेपालको अन्य समुदायको भन्दा अलि फरक सोच थियो थकाली समुदायको । थकाली समुदाय मातृसत्ता भएको समुदाय हो । मुस्ताङको थाकखोला छोडेर पोखरा आएपछि उनका पुर्खाहरूले पनि त्यहीको समुदायको संस्कार अपनाए । थकाली समुदायलाई पनि पितृसत्ताले गाँज्यो । 

एसएलसी सक्दा उनका साथी सबै घरजम गरेर बसिसकेका थिए । तर, अध्ययन र लेखनमा विशेष रुची राख्ने उषाले तत्काल बिहे गर्न मानिनन् । त्यो बेलाका बडाहाकिम धन शमशेर राणा उनका हजुरबुवाका मित्रजस्तै थिए । संगीत कला अनि पाककलामा निपुर्ण हजुरबुवाको आफ्नै व्यापार व्यवसाय थियो । यति भएर पनि उनी असाध्यै शिक्षा प्रेमी थिए ।

हजुरबुवाको गुण बुवामा पनि सरेकाले उषाको अध्ययन रोकिएन । २३ वर्षको उमेरमा पोखराबाटै बिएसम्मको अध्ययन सकिन् । 

त्यो समयसम्म उनी उषा भट्टचनको नामले लेखनमा चर्चित भइसकेकी थिइन् । त्यतिबेला लेखनमा महिला साहित्यकारहरू उसै पनि असाध्यै कम थिए । त्यसमाथि थकाली समुदाय त छँदै थिएन भन्दा पनि हुन्छ ।



उषाको उमेर तेइसबाट चौबीस लाग्दै थियो । उनकै फुपूका छोरा डिबी शेरचनसँग २०३८ सालमा बिहे भयो । थकाली समुदायमा पहिलो हक फुपूचेला–मामा चेलीको लाग्छ । उनी उनका श्रीमानका मामाकी छोरी हुन् । त्यो बेला तेइस चौबीस वर्षमा बिहे गर्नु भनेको निक्कै ढिलो गर्नु हो ।



उनका श्रीमान् डिबी शेरचन आमा बितेपछि भाइ–बहिनी सबैको घरजम गरेपछि मात्रै गर्ने प्रण गरेका कारण नौ भाइ र एक बहिनीका बिहे भएपछि मात्रै उनले बिहे गरे । बिहेपछि उषा भट्टचनको थर फेरियो । उनी उषा शेरचन भएर काठमाडौं आइन् ।

उनका उमेरका साथीका छोराछोरी हुर्किसकेका थिए । उषाको भर्खर बिहे हुँदै थियो । त्यसैले पनि हुनुपर्छ सायद बिहे लगत्तै उनमा मातृत्व भाव आएको थियो । बिहे गरेको एक वर्षपछि उनी पहिलो पटक गर्भवती भइन् । गर्भ बसेपछि पटक–पटक ‘मिसक्यारेज’ भयो ।

यो समस्या दोहोरिँदा कसै–कसैले त उनलाई बाँझी हुन्छे समेत पनि भने । उनले भने त्यो समय त्यति गम्भीर भएर सोच्दै सोचिनन् । तथापि अरूले भनेको सुन्दा भने मनमा कता–कता बिझाउँथ्यो । तर, उनका परिवारका सदस्यले कहिल्यै प्रश्न उठाएनन् ।

उनी ४५ किलोकी मात्रै थिइन् । त्यतिबेला स्त्रीरोग विशेषज्ञका रूपमा डा. दिव्य श्री मल्ल र डा. सानुमाया दली प्रख्यात थिए । उहाँहरूकै क्लिनिकमा उषाले नियमित जाँच गराइन् । यो पाली पनि गर्भ बसेको ३ महिनापछि पुनः ‘बिल्डिङ’ सुरु भयो । उनी थापाथलीस्थित प्रसूति गृहमा भर्ना भइन् । 

उनलाई पूर्ण ‘बेडरेस्ट’मा राखे । ‘प्रोलोटन डिपो’ सुई दिइयो, तर पनि ‘मिसक्यारेज’ को पीडाबाट उनी मुक्त हुन सकिनन् । ‘क्युरेट’ गरियो । रगत थामिएन । सत्ताइस दिनपछि पुनः ‘क्युरेट’ गरियो । त्यसरी अस्पतालको ‘बेड’मा तीन महिना बस्दा ३० किलो मोटाएको स्वयंलाई पनि पत्तै भएन ।

त्यसबेला जसजसले त्यो डिपो पाए सबैभन्दा मोटाएका कारणले उनलाई सुई दिन बन्द गरियो । उनको पालामा त्यो सुई प्रयोगको चरणमा थियो । सुइँको असर : एकोहोरो बदनकी छरिती उषा दोहोरो बदनमा परिवर्तन भइन् ।

उनीसँगै बिहे गरेकाहरूका दुई-दुईवटा बच्चा भइसकेका थिए । उनको भने अर्कै खालको पीडा थियो ! घरकी जेठी बुहारी । उनी आफैंमा नेतृत्व वरण गर्ने क्षमता थियो । त्यसैले पनि धेरै केही सुन्नु परेन । तैपनि ‘अरूले अब त तिम्रो बच्चा हुँदैन होला भन्दा चसक्क हुन्थ्यो ।’

फेरि पनि उनीसँग नियतिले दिएको कुरा स्वीकार गर्नुको विकल्प थिएन । उनले सजिलै आत्मसात गरिन् ।

शारीरिक आकर्षणका हिसाबले मोटोपन उनका लागि नमिठो सत्य थियो होला, तर मातृत्वका लागि भने मोटोपन उनलाई फाप्यो । यस पटकको गर्भ छोरीका रूपमा धर्तीमा आइन् । यो पटक पनि गर्भ बसेदेखि नै विभिन्न डर, शंका लाग्थ्यो । ‘मिसक्यारेज’ भएका अघिल्ला गर्भको प्रभाव पनि होला त्यो ।

बिहे गरेको झण्डै चार वर्षपछि उनी आमा भइन् । थापाथली प्रसूति गृहमा अप्रेसन गरेर उनले छोरीलाई जन्मदिइन् । छोरी जन्मने बित्तिकै उषाले देख्न पाइनन् । उषाको होस् खुलेर छोरीको अनुहार देख्दा अपार खुसी मिलेको कुरा शब्दमा वर्णन गर्न सक्दिनन् उनी ।

सबै कुरा ठिक हुँदै थियो । छोरी जन्मिएको तीन-चार महिनापछि उनलाई ‘पोस्टडिप्रेसन’ जस्तो भयो । बच्चा जन्मेको केही महिनासम्म उनी एकदमै ‘हेल्दी’ आमा थिइन् । त्यो बेला किन त्यस्तो भयो ? थाहा छैन । तर, तीन-चार महिना जतिपछि भने उनमा नकारात्मक भावना आउन थाले । त्यो बेला थाहा पनि थिएन ‘प्रेग्नेन्सी’पछिको ‘डिप्रेसन’का बारेमा । केही समय आफैंसँग द्वन्द्व गरेकी उषाले आफैंले आफूलाई सहज बनाइन् ।

छोरी जन्मिएको बाइस महिनामा उनी दोस्रो पटक आमा बनिन् । दोस्रो पटक अप्रेसन गर्नु परेन । थापाथली अस्पतालमै उनका छोरा जन्मिए । त्यो प्रसव पीडा सम्झँदा अहिले पनि उषाको शरीर सिरिङ हुन्छ । अनन्त पीडा पछिको प्राप्ति । जन्मने बित्तिकै छातीमा राखिएको बच्चाको स्पर्स । त्यो सुखानुभूति व्यक्त गर्ने कुनै शब्द नै छैन । छोरीको पहिलो स्पर्श महसुस गर्दा उषाका आँखाबाट खुसीका आँसु झरेथे । दोस्रोपटक छोरा जन्मिएपछि डाक्टरले भनेका थिए, ‘यति राम्रो छोरा पाएको छ रुने हो ?’

उस्तै उमेरका दुई छोराछोरी । एकै खाले छुनुमुनु । एकैखालको खेल । सँगै हुर्किए उनका छोराछोरी । सानैबाट ज्ञानी र शान्त स्वभावका छोराछोरी हुर्काउन खासै समस्या भएन । घरमा काम गर्ने सहयोगी थिए । बच्चा राम्रैसँग हुर्किए । 

त्यो समय केटाकेटीलाई होस्टलमा राख्ने ‘फेसन’ जस्तै थियो । व्यापार व्यवसायमा व्यस्त उषाले पनि आफ्ना छोराछोरीको सुदूर भविष्य हेरिन् । ‘होस्टल’मा राखिदिइन् । त्यो बेला घरमा पढ्ने ‘हेल्दी’ वातावरण थिएन । त्यसैले पनि उनीहरू छ-सात वर्षको उमेरमै ‘होस्टल’मा बस्ने भए । काठमाडौंको ‘सेफड’ होस्टलमा बसेर केही वर्ष पढे ।

त्यसपछि भने उषाले आफ्ना छोराछोरी दुवैलाई भारतको महाराष्ट्र सतारा जिल्लास्थिति ​पंचगनीको स्कुलमा भर्ना गरिदिइन् र त्यहीको ‘होस्टेल’मा बसेर ‘आइसिएसई’ पास गरे । ‘सेफड’ हुँदा प्रत्येक बिदामा घर आउँथे छोराछोरी । मुम्बईको पंचगनीमा बिदा वर्षको तीन पटक हुन्थ्यो । उनी हरेक बिदामा छोराछोरी लिन बम्बै अहिलेको मुम्बई जान्थिन् । बिदा सकिएपछि पुर्‍याउन । त्यो समय उनी वर्षको ६ पटक बम्बैको यात्रा गर्थिन् ।

त्यो बेला अभिभावकहरूले आफ्ना छोराछोरी ‘आइटी इन्जिनियर’, ’डाक्टर’ भएको मन पराउँथे । उषामा पनि त्यस्तै केही सपना थियो, छोराछोरीलाई लिएर । पढाइमा अब्बल उनका छोरा एसएलसी अघिसम्म ‘न्युरोसर्जन’, ‘इन्जिनियर’ बन्ने सपना सुनाउँथे । एसएलसीपछि भने उनको रोजाइ फेरियो । ‘प्लस्टु’ पढ्ने बेला उनका छोराले फेसन डिजाइन रोजे । छोरीले म्यानेजमेन्ट । 

छोरीको रोजाइमा कसैको अब्जेक्सन भएन । त्यो बेला फेसन डिजाइनका बारेमा त्यति ज्ञान नै थिएन । त्यसैले पनि छोराको रोजाइसँग उषाका श्रीमान् सहमत भएनन् ।

उषालाई भने छोराको रोजाइप्रति सम्मान थियो । बाबु छोराको मध्यस्थकर्ता बनेर उषाले श्रीमानलाई मनाइन् । उनका छोरा फेसनको राजधानी फ्रान्सको पेरिसमा गएर ५ वर्षे कोर्स पूरा गरेर नेपाल फर्किए । फ्रान्सको पेरिसमा कोर्स सक्दा उनका छोरा आस्तिक शेरचनलाई त्यहीँ निक्कै राम्रो कामको अफर आएको थियो । तर, उषाले नेपाल बोलाइन् । आस्तिक अहिले नेपालमा मात्रै नभएर विश्वका विभिन्न देशमा फेसन ‘डिजाइनार’का रूपमा चिनिएका छन् ।

कहिलेकाहीँ उषालाई लाग्छ, ‘त्यति ठूलो ठाउँमा राम्रो अफर छोडेर छोरालाई नेपाल बोलाएर गल्ती पो गरें कि ? उता भएको भए उसको मार्केट अझै ठूलो हुन्थ्यो ।’ तर, आमाको त्यो निर्णयलाई लिएर न छोरालाई गुनासो छ । न आमालाई अपसोच ।

उषाकी छोरी अमेरिकामा छिन् । उनी आफैं आमा बनिसकिन् । उषा हजुरआमा बनिन् । उनलाई ‘प्राइभेट’ जिन्दगी मन पर्छ । उनी आफ्नै जिन्दगीसँग रमाएकी छन् ।

उषा बेला–बेला छोरी भेट्न अमेरिका पुग्छिन् । छोरीसँगको समय असाध्यै सुन्दर रूपमा बिताउँछिन् । नेपाल फर्किन्छिन् । उषालाई लाग्छ ‘छोराछोरी भनेका जतिबेला पनि दुखिरहने घाउ रहेछन् । आफूलाई सुख हुँदा पनि सम्झना आउने । दुःख हुँदा पनि सम्झना आउने ।’

अहिले नाति छ । उनी भन्छिन्, ‘मेरो नातिले छोराछोरीले भन्दा राम्रो प्रगति गरोस् । माया त ओरालो बग्दो रहेछ ।’ छोराछोरी सानै हुँदा उषाले विभिन्न देशमा घुमाउन लान्थिन् । अहिले उनलाई उनका छोराछोरीले घुमाउँछन् । उनी भन्छिन्, ‘जिन्दगीको यो क्षण बहुत सुन्दर र आनन्ददायी हुँदो रहेछ ।’

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १३:२८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया