प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगातार विकास निर्माणका काम गरेकैले आफू नेतृत्वको सरकार ढाल्न खोजिएको बताएका छन्। बहुप्रतीक्षित मेलम्चीको पानी शुक्रबार सुन्दरीजलमा झरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'सरकारले राजमार्ग चौडा बनाएको बनायै छ। सुरुङ बनाएको बनायै छ, तुइन विस्थापित गरेको छ। एकै दिन ३०९ वटा अस्पताल शिलान्यास गर्यो। विद्यालय पनि बनाइरहेको छ', उनले भने, 'सरकारको काम देखेर आत्तिएकाहरू केही गर्दा ढाल्न नसकेपछि हाम्रै पार्टीका नेता लागेका छन्। यो सरकारले उधुम गर्न लाग्यो, केपी ओलीलाई ठेगान लाउनैपर्छ भनेर लागेका छन्।'
ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति लक्षित गर्दै औंठा छाप हालेर सरकार ढालिदिनु भन्दै कांग्रेसकहाँ निवेदन दिन हिँडेको आरोप लगाए। 'हाम्रै पार्टीका हौँ भन्ने दुइटा दायाँ बायाँ औँठा छाप लगाएर कांग्रेसकहाँ निवेदन हाल्न गएका छन्', उनले भने, 'लौन! यो केपी ओलीले त उधुमै गर्न लाग्यो, यसलाई हटाउन पनि नेतृत्व लिइदिनुपर्यो भन्दै कांग्रेसलाई निवेदन हालेछन्।'
उनले दाहाल-नेपालमाथि २०७४ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ ११६ सिट जितेको पार्टी फुटाएर २३ सिट जितेको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन खोज्नु जनमत विपरीत हुने बताए। '११६ सिट जितेको पार्टी भत्काउने अनि २३ सिटको कांग्रेसकहाँ निवेदन दिन जाने? यो जनताले दिइएको आदेश हो?', ओलीले सोधे, 'कांग्रेसकहाँ निवेदन हाल्न कुद्नेको चिन्ता तपाईंहरुले नलिनु, हामी आफैँ ठेगान लगाइ हाल्छौँ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।