न्युजिल्यान्डले जित्यो अष्ट्रेलियाविरुद्धको टि-२० सिरिज

अष्ट्रेलियाविरुद्धको ५ वटा खेलको टि-२० सिरिजमा न्युजिल्यान्डले बाजी मारेको छ । पाँचौँ तथा अन्तिम खेलमा रोमाञ्चक जितसँगै न्युजिल्यान्डले सिरिज ३-२ ले जितेको हो ।

न्युजिल्यान्डले सुरुका दुई खेल जित्दै सिरिजमा २–० को अग्रता बनाएको थियो । तर, अस्ट्रेलियाले लगातार दुई खेल जित्दै सिरिजमा २–२ को बराबरी गर्दै पुनरागमन गरेपछि सिरिजको विजेता अन्तिम खेलबाट घोषणा भएको हो ।

आजको खेलमा अष्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्यान्डले २७ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गरेको थियो । आज बिहान विलिङटनमा भएको खेलमा न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले ७१ रन बनाए । 

जम्मा ४६ बल खेलेका गुप्टिलले ७ चौका र ६ छक्का प्रहार गरे । न्युजिल्यान्डका डिभोन कनवे ३६ रनमा आउट हुँदा ग्लेन फिलिप्स ३४ रनमा नटआउट रहेका थिए । अस्ट्रेलियाका लागि रेलि मेडिथले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेट गुमाएर १४२ रन बनायो । अष्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाउँदा कप्तान आरोन फिन्चले ३६ रनको योगदान गरे ।

मार्कस स्टोनिसले २६ तथा मिचेल मार्सले १० रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्यान्डका लागि इश सोडीले तीन विकेट लिँदा टिम साउथी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिए ।





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार ९:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया