काठमाडौं मेयर कप : एपिएफको रोमाञ्चक जित

काठमाडौं मेयर कप अन्तर्गत आइतबार भएको विभागीय डर्बीमा नेपाल एपिएफ क्लबले रोमाञ्चक जित हात पारेको छ । उसले नेपाल पुलिस क्लबमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो । 

पुलिसले दिएको २४९ रनको लक्ष्य एपिएफले अन्तिम ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । 

एपिएफका लागि सन्दीप जोरा र सुवास खकुरेलले अर्धशतकीय पारी खेले । ४२.२ ओभरमा पवन सरार्फले विकेट किपर दिलीप नाथबाट क्याच गराउनुअघि सन्दीपले ६५ बलमा २ चौका र ३ छक्काको मद्दतले ६१ रन प्रहार गरे ।

सुवासले ७९ बलको सामना गर्दै ६ चौकाको मद्दतले ५० रन जोडे । आसिफ शेखले ४२ रनको योगदान दिए । अविजित रहेका सुमित महर्जनले ३२ बलमा ३ चौका र १ छक्काको मद्दतमा ३३ रन बनाए । 

पुलिसका लागि पवन सरार्फले ५, योगेन्द्रसिंह कार्कीले २, ललित राजवंशीले १ विकेट लिए । 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५८ रनको बलियो योगफल तयार पारेको थियो ।



पुलिसलाई बलियो योगफलसम्म पुर्‍याउन दिपेन्द्रसिंह ऐरीले शतकीय पारी खेले ।

पहिलो पारीको अन्तिम बलमा अभिनाश बोहराले विकेट किपर सुवास खकुरेलबाट क्यान गराउनुअघि उनले १३१ बलको सामना गर्दै ११ चौका र ६ छक्काको मद्दतले १४० रन प्रहार गरे । पवन सरार्फले ३५ र सुनिल धमलाले ३३ रनको योगदान दिए । 



एपिएफका लागि कप्तान शरद भेषवाकरले ३, अविनाश बोहराले २ र अमरसिंह रौटेलाले १ विकेट लिए । 

लगातार दोस्रो जित निकालेको एपिएफले पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पनि १ विकेटले नै हराएको थियो । 

पराजित पुलिसले पहिलो खेलमा बागमती प्रदेशमाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको थियो ।
 

  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १७:३२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया