'अब माओवादीमा फर्किन सम्भव छैन, अदालतको सम्मान गर्छौँ'

ऊर्जा, जलस्रोत एवम् सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सर्वोच्च अदालतले जे फैसला गरे पनि आफू माओवादी केन्द्रमा नफर्किने बताएका छन्। 

पूर्व माओवादी केन्द्रमा हुँदा स्थायी समिति सदस्य रहेका नेता रायमाझी नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपातर्फ लागेका थिए। आइतवार सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र फर्काइदिएपछि रायमाझीले अब माओवादीमा फर्किन सम्भव नरहेको बताएका हुन्।

पुन:स्थापित प्रतिनिधिसभाको बैठकपछि आइतवार साँझ संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै रायमाझीले भने, 'सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौँ तर तत्काल माओवादी केन्द्रमा फर्किने कुरा सम्भव छैन।'

सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाउँदै आधिकारिक नेकपाका रुपमा ऋषि कट्टेलको नेतृत्वमा रहेको दललाई मान्यता दिएको थियो। 

सत्तारूढ नेकपा विभाजन पहिलाको स्थिति अर्थात साविककै नेकपा एमाले र माओवादी केन्द्र हुने फैसला सर्वोच्चले सुनाएको छ। यो फैसलापछि पूर्व माओवादी केन्द्र र एमाले फर्किने पक्का भएको छ।

सर्वोच्चको फैसलाबाट प्रधानमन्त्री ओली पक्ष हौसिएको छ। तर प्रचण्ड-माधव नेपाल समूह विरोधमा उत्रिएको छ। प्रचण्डले सर्वोच्चबाट अप्रत्यासित फैसला आएको बताएका छन्। 





  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार २०:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया