'सम्मानजनक' रुपमा एमालेमा फर्किने वामदेव समूहको निर्णय
फरकधार / २४ फागुन, २०७७

सर्वोच्च अदालतको निर्णयसँगै नेकपा विभाजन छुट्टै समूह बनाएका नेता वामदेव गौतम पूर्ववत् नेकपा एमालेमा फर्कने भएका छन्।

नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेको गौतम समूहले 'सम्मानजनक रुपमा' नेकपा एमालेमा फर्किने निर्णय गरेको हो। उपलब्ध नेताहरूको सोमबार बसेको बैठकले सर्वोच्च अदालतको फैसलासँगै एमालेमा फर्किने निर्णय गरेको हो।

सोमबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैठक बसेको थियो। 'सम्मानजनक ढंगले एमालेमै फर्किने र त्यता गएर पनि कम्युनिस्ट आन्दोलनको एकतामा जोड दिने निर्णय भएको छ', बैठकमा सहभागी एक नेताले भने।

ऋषिराम कट्टेलको मुद्दामा फैसला सुनाउँदै आइतबार सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई दर्ता नै नभएको र साविक एमाले एवं माओवादी केन्द्र पूर्ववत् रुपमा रहेको उल्लेख गरेको थियो।

अदालतले नेकपा नाम कट्टेलको पार्टीको हुने फैसला सुनाएको थियो। पहिले नै दर्ता भएको नाममा एमाले र माओवादी एकीकरण हुन नसक्ने भन्दै अदालतले एकता गर्न चाहे राजनीतिक दलसम्बन्धी व्यवस्था अनुसार फेरि प्रक्रिया थाल्न भनेको थियो।

विभाजनउन्मुख रहेको सत्तारुढ नेकपा अदालतको फैसलापछि पूर्ववत् रुपमा फर्किएको छ। नेकपाको प्रचण्ड-माधव पक्षको सोमबार नै बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल समूहका नेताहरु पनि एमालेमै फर्किने भएका छन्।

उनीहरूले एमालेभित्रैबाट ओलीविरुद्ध संघर्ष गर्ने बताएका छन्। साविक एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाल वरिष्ठ नेता थिए भने वामदेव गौतम उपाध्यक्ष थिए। गौतम एमालेका उपाध्यमध्येका वरिष्ठ हुन्।

  • प्रकाशित मिति : फागुन २४, २०७७ साेमबार २२:१:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया