फागुन २१ गते खुला राजनीतिमा आएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सरकारले कडा सुरक्षा दिएको छ। भर्खरै खुला राजनीतिमा आएका उनको सुरक्षा थ्रेट ख्याल गरेर प्रहरी निरीक्षकको कमाण्डमा १० जना टोली खटाइएको हो।
सरकारले प्रतिबन्ध गाएको दुई वर्षपछि गत शुक्रबार खुला राजनीतिमा आएका विप्लवलाई सरकारले विशेष प्राथमिकता दिएको हो। शान्ति वार्तामार्फत मूलधारको राजनीतिमा आएका उनी अहिले देश दौडाहामा छन्। हिजो मात्रै उनी गृहजिल्ला कपिलवस्तुको शिवगढी पुगेका थिए।
विप्लवको सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी खटाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताएका छन्।
खुला राजनीतिमा आएपछि विप्लव काठमाडौंको सामाखुशीस्थित एक घरमा बसिरहेका छन्। एसएसपी सिंहले काठमाडौंको हकमा परिसरबाटै र उपत्यका बाहिर गएमा सम्बन्धि जिल्लासँगको समन्वयमा प्रहरी प्रधान कार्यालयले सुरक्षा बन्दोबस्त गर्ने छन्।
विप्लवको सुरक्षामा उनकै पार्टीका केही युवाहरु पनि परिचालित भएका छन्। पूर्व माओवादी लडाकुसहितका युवाहरु विप्लवको सुरक्षामा खटिएका छन्। सार्वजनिक कार्यक्रमको मञ्चदेखि अन्य स्थानमा प्रहरीसँगै युवाहरु पनि विप्लवको सुरक्षामा तैनाथ भइरहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।