नेकपा एमालेतिर लागेका नेताहरु रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितलाई तत्काल कारवाही नगर्ने निर्णय नेकपा माओवादी केन्द्रले लिएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार दिउँसो बसेको स्थायी कमिटी बैठक एमालेतिर लागेका नेताहरूमाथि कारवाहीबारे कुनै निर्णय नभएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
'उहाँहरूमाथि तत्काल कारवाही हुँदैन। सर्वोच्च अदालतको फैसलापछि विकसित परिस्थिति अनुसार उहाँहरु आउनु हुन्छ भन्ने हो। उहाँहरुले पछिल्लो परिस्थिति अनुसार दृष्टिकोण सार्वजनिक गरेपछि निर्णय लिनेछौँ', श्रेष्ठले भने, 'उहाँहरुले सर्वोच्चको फैसला अनुसार नै दृष्टिकोण बनाउने कुरामा विश्वस्त छौँ।'
बादल लगायत माओवादी केन्द्रमै आउने विश्वास पनि उनले व्यक्त गरे। 'बादल लगायतले आफ्नो दृष्टिकोण र भूमिकाबारेमा आफ्नो धारणा प्रस्तुत गर्नु भएको छैन', प्रवक्ता श्रेष्ठले अगाडि भने, 'हामीले अपेक्षा गरेका छौँ, अदालतको फैसला अनुसार नै उहाँहरु प्रस्तुत हुनुहुनेछ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।