एमालेमा ७० वर्षे लागू भए विदा हुन्छन् यी तीन नेता
तर महाधिवेशनकै निर्णय अझै भएन कार्यान्वयन

काठमाडौंमा सम्पन्‍न नेकपा एमालेको नवौँ महाधिवेशनले पार्टीको कार्यकारी पदमा बस्‍ने ७० वर्षको उमेर हद तोकेको थियो। २०७१ सालमा सम्पन्‍न महाधिवेशनले नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्न ७० वर्षे उमेर हद विधानमै पारित गरेको थियो। जतिबेला केही नेताले सक्रिय राजनीतिबाट अवकाश समेत लिएका थिए। 

तर, त्यो कुरा लामो समय लागू हुन सकेन। एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि ७० वर्षे उमेर हद हटाइयो। त्यही अनुसार नेकपाका पाका नेताहरु नेतृत्वमा बसिरहेका छन्। तर आइतबार सर्वोच्च अदालतको फैसलासँगै एमाले पूर्ववत् अवस्थामै फर्किएको छ। सर्वोच्चको यो फैसलासँगै केही प्रश्नहरु फेरि ब्यूँझिएका छन्। 

अधिकारी र सिंहलाई होला न्याय?

पार्टीले ७० वर्षे उमेर हद लागु गरेसँगै नवौं महाधिवेशनपछि भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट विदा लिएका थिए। अहिले एमाले ब्यूझिएसँगै नेता अधिकारी र सिंहको त्यागले न्याय पाउला भनेर प्रश्न कार्यकर्ताले  उठाइरहेका छन्।

एमालेको विधान, २०४९ (नवौँ महाधिवेशन, २०७१ को संशोधनसहित) को धारा ६५ उपधारा ३ मा सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुने उमेरको हद ७० वर्ष हुने व्यवस्था गरिएको छ। विधानको धारा ७१ ले ज्येष्ठ कम्युनिष्ट मञ्‍चको व्यवस्था समेत गरेको छ। 

सक्रिय राजनीतिबाट अवकाश पाएका नेताहरू त्यही मञ्‍चको सदस्य हुने व्यवस्था विधानमा गरिएको छ। धारा ७१ ले पार्टीका विभिन्‍न तहका कमिटीहरूले आवश्यकताअनुसार तोकिएबमोजिम ज्येष्ठ कम्युनिस्ट मञ्‍च निर्माण गर्न सक्ने र हरेक वर्ष पार्टी स्थापना दिवस वा विशेष अवसर पारेर ज्येष्ठ कम्युनिस्ट योद्धाहरूको सम्मान गर्ने व्यवस्था गरेको छ। 



अहिले त्यही प्रश्‍न उठ्न थालेको छ। एमाले-माओवादी एकता भएर बनेको नेकपाको नयाँ विधानबाट ७० वर्षको उमेर हद हटाइएको थियो। यससँगै नेकपा एमालेको आठौँ महाधिवेशनले पारित गरेको एउटै कार्यकारी पदमा दुई कार्यकाल रहन नपाउने व्यवस्था पनि नेकपाले राखेन। 

के गर्ला एमाले ? 



एमालेको नवौँ महाधिवेशन हुँदै गर्दा ७० वर्षे उमेर हदको व्यवस्थाले नयाँ पुस्ताले शीर्ष नेतृत्वमा आउने कुराले धेरैको ध्यान तानेको थियो। जसको निकै चर्चा समेत भयो। यसले एमालेका दोस्रो तहका नेताहरु उत्साहित बनेका थिए। तर, त्यो कुरा नेकपा बनेसँगै हराएर गयो। अहिले एमाले ब्यूँतिएसँगै उमेर हदको प्रश्न पुनः उठेको छ। त्यसैले पनि अब एमालेले उमेर हदका सन्दर्भमा के निर्णय गर्ला भन्ने के गर्ला भन्ने सबैको चासोको विषय बनेको छ। 

त्यसो त एमालेको आठौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हदको विषय उठेको थियो। तर तत्कालीन समयमा एमाले नेता सहाना प्रधानका कारण उक्त कुरा अगाडि बढाइएको थिएन। 

एमाले नेता वामदेव गौतमले आठौँ महाधिवेशनमा उमेर हद लागू गर्ने कुराको चर्को विरोध गरेका थिए। दुई पार्टी एकता भएर गठित नेकपाको विधानमा उमेर हदको व्यवस्था हटाउन नेता गौतमकै मुख्य भूमिका थियो। एमालेका एक नेताले भने, 'त्यतिबेला गौतमकै कारण ७० वर्षे उमेर हद हटाइएको थियो।' 

खनाल, गौतम र ओलीलाई अफ्ठ्यारो

यदि एमालेले महाधिवेशनबाट पारित विधान लागू गर्ने हो भने अहिले शीर्ष नेतृत्वका तीनजनाले सक्रिय राजनीतिबाट विदा लिनुपर्ने हुन्छ। पहिलो नम्बरका नेता हुन् वामदेव गौतम। पार्टीले ७० वर्षे उमेर हद लागू गरेमा गौतम विदा हुनुपर्नेछ। २६ असार २००५ मा जन्मेका गौतम हाल ७३ औँ वर्षमा छन्।
 
त्यस्तै एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि सक्रिय राजनीतिक जीवनबाट विदा लिनुपर्नेछ। वि.सं. २००६ साल चैत ६ गते जन्मिएका नेता खनालले ७० वर्ष पार गरेर ७१ वर्ष लागिसकेका छन्। त्यस्तै अहिलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उमेर हदका कारण विदा लिनुपर्ने हुन्छ। प्रधानमन्त्री ओली गत ११ फागुनदेखि ६९ वर्ष पूरा भएर ७० लागेका छन्। उनी वि.सं २००८ साल फागुन ११ गते जन्मिएका हुन्। 

नेपाललाई छुँदैन

एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भने ७० वर्षे उमेर हदले छुँदैन। नेता नेपाल फागुन २३ गते ६८ वर्ष पुगेर ६९ वर्ष लागेकाले उनलाई विधानअनुसार काम गर्न छेक्दैन। नेता नेपाल वि.सं. २००९ साल फागुन २३ गते जन्मिएका हुन्। यदि एमालेले आफ्नै विधानको अक्षरशः पालना गर्ने हो भने गौतम, खनाल र ओलीले विदा लिनुपर्ने हुन्छ। 

  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार १७:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया