वामदेवको उही अडान : लप्पन-छप्पन जान्दिनँ, एकताको बाटो खुल्लै राखौं
आफ्ना कारण नेकपा नफुटेको जिकिर

नेकपा एमालेका एकजना उपाध्यक्ष वामदेव गौतमले दुई पार्टीबीचको एकताको ढोका खुला राख्नुपर्ने बताएका छन्। ललितपुरस्थित निवासमा पत्रकारहरूसँगको छलफलका क्रममा सर्वोच्चको फैसलापछि साविक अवस्थामा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको ढोका खुला राख्नुपर्ने बताएका हुन्। 

'अबका दिनमा पनि विगतका तिक्तता सबैले बिर्सेर गाली र बिझ्ने शब्द नबोलौँ', उनले भने, 'एकताको बाटो खुला राख्दै आफ्नो दल सुदृढ बनाउने अभियानमा सबैजना जुट्नु जरूरी छ।'

सर्वोच्चको फागुन २३ को निर्णयबाट साविकका दुवै पार्टी ब्यूँतिएपछि उपाध्यक्ष गौतमले आफू सम्मानका साथ नेकपा एमालेमै फर्किने सोमबार बताएका थिए। २०७५ जेठ ३ गते एकता भएको नेकपा गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि फुटेको थियो। यस्तोमा वामदेव तटस्थ भएर नेकपा एकता अभियानमा लागेका थिए। तर अब उनी पनि एमालेमै फर्कि सकेका छन्। 

उनले सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्ने पनि बताए। 'रिट निवेदकले नमागेको बिषयमा बोलेको भनेर केहीले भनेको सुनेँ', उनले भने, 'भोलि आउनसक्ने राजनीतिक संकटलाई पनि अदालतले सम्बोधन गरेको छ। यदि त्यसो नभनेको भए संसद दलविहीन अवस्थामा आउँथ्यो।'

उनले आफूलाई सोझो नेताका रुपमा चित्रित गरे। 'म जस्तो लप्पन-छप्पन नगर्ने र दायाँ बायाँ नजान्‍नेलाई त सर्वोच्चको निर्णय चित्त बुझेको छ', उनले भने, 'झन् अरु त यो निर्णयले खुसी हुनुपर्छ।'

गौतमले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फागुन ११ र साविककै एमाले र माओवादी केन्द्र फर्काइदिने सर्वोच्च अदालतका दुवै निर्णयलाई स्वागत गरेका छन्। 'सर्वोच्चका दुवै निर्णय स्वागतयोग्य छन्', उनले भने, 'मेरो एकता अभियान यथावत रहने छ। विभाजन र विभाजनको तुष नहटुञ्जेल एकताका पक्षमा लागिरहनु पर्छ।'



उनले नेकपा विभाजनमा आफ्नो दोष नरहेको पनि बताए। 'दुईजना अध्यक्ष दुईतिर मुख फर्काएर हिँड्दा पनि मैले एकताको पक्षमा अभियान चलाएँ', उनले भने, 'एकताको पक्षमा रहेको मानिसलाई यस्तो भन्‍नु कति उचित हो?'



  • प्रकाशित मिति : फागुन २५, २०७७ मंगलबार २०:५७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया