सहिद गोविन्द गौतमको चौथो स्मृति दिवस : सीमा विवाद उस्तै
फरकधार / २६ फागुन, २०७७
कल्भर्ट राख्दा विवाद भएको कञ्चनपुर पुनर्वास आनन्द बजार क्षेत्र ।

कञ्चनपुर पुनर्वास नगरपालिका–४ आनन्द बजारका गोविन्द गौतमले देशको सीमा रक्षाका लागि प्राण उत्सर्ग गरेको चार वर्ष पूरा भएको छ । तर, त्यो क्षेत्रको सीमा विवाद यथावत छ ।



कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि नेपाल–भारत संयुक्त सर्भे टोलीले कार्य गरे पनि कञ्चनपुरको प्याराताल, आनन्द बजार, ब्रह्मदेव र कैलालीको फूलबारी सहितका स्थानमा अझै सीमा विवाद समाधान हुन सकेको छैन ।

कञ्चनपुरको आनन्द बजारका गोविन्द गौतमको भारतीय एसएसबीले हत्या गरेपछि नेपाल–भारत संयुक्त सर्भे टोलीको गठन गरिएको थियो । सीमा क्षेत्रमा लामो विवाद भएपछि, २०७४ को पुसमा तत्कालीन नापी विभागले प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीको टोली पठायो । त्यो टोलीले रेकी (हेर्ने काम) बाहेक केही गर्न सकेन । 



के हो आनन्द बजार घटना



आर्थिक वर्ष ०७३-७४ को बजेटमा कञ्चनपुरको पुनर्वास नगरपालिकाले वडा नं ४ को आनन्द बजार छेउको नेपाल भारत सीमा क्षेत्रमा ह्विम पाइपका लागि ५ लाखको बजेट छुट्यायो । स्थानीयले ह्विम पाइप जडान गरेर त्यसमा ग्राभेल भरे । अस्थायी बाटो बन्यो । बेस्रमको झाडी र पानी जमिराख्ने त्यो ठाउँमा  स्थानीयलाई वारिपारि जान समस्या थियो ।

बर्खाका बेला साइकल काँधमा बोकेर जानुपर्ने बाध्यता र मोटरसाइकल, जिप कार त बन्द नै हुने समस्या समाधान भएमा स्थानीय खुसी भए । तर, फागुनको २५ गते, भारतको केन्द्रीय सरकार मातहत रहेको सिक्रेट सर्भिस ब्युरो (एसएसबी) ले आनन्द बजार नजिकै बनाइएको त्यो कलभर्ट भत्काउन थाल्यो ।

बल्ल–बल्ल आएको बजेट र अनि स्थानीयको मिहिनेत, एसएसबीले भत्काउन थालेपछि स्थानीय जम्मा भएर त्यसको विरोध गरे । तर, एसएसबीले नेपालतिरको आनन्द बजारमै आएर राति ८ बजेसम्म नेपालीहरूलाई छानी–छानी कुटे ।

‘साँझ परेको थियो, एसएसबीले पसल पसलमा आएर नेपालीलाई कुटे, त्यो खबर गाउँभरि फैलियो, अनि सिमानामा आन्दोलन भयो’, स्थानीय नारायण प्रसाद जैशी भने, ‘दोस्रो दिनको आन्दोलन सशक्त भएको थियो ।’

२०७३ फागुनको २५ गते राति नेपालीहरूमाथि गरिएको कुटपिट र ज्यादतीका विरुद्ध फागुनको २६ बिहानैदेखि आनन्द बजारमा नेपालीहरूले प्रदर्शन गरे । हजारौंको भीड जम्मा भयो । त्यहीबेला भारतीय एसएसबीले पारिबाटै गोली हाने र स्थानीय युवक गोविन्द गौतम सहिद भए ।

गोविन्द गौतमको घर सीमारेखादेखि ५ सय मिटर मात्रै नेपालतिर छ । कल्भर्ट बनाएको ठाउँ नेपाली भूमि हो । अझ त्यसको पाँच सयमिटर परसम्म नेपाली भूमि भएको स्थानीयहरू बताउँछन् । त्यहाँ भएको साविकको पिलर संख्या २०० गायब छ । ‘न खोला छ, न नदीले बगायो भन्नु छ, भनेपछि त्यो पिलर भारतीय सुरक्षाकर्मीले नियतबस गायब पारेका हुन्’, स्थानीय लोकेन्द्र लम्साल भन्छन्, ‘नजिकै रहेको प्याराताललाई उसले आफ्नो बनाउन खोजेको छ ।’

आनन्द बजार नजिकैको पिलर हटाएर त्यसको सोझो रेखांकन गर्ने र प्याराताल भारततिर पार्ने उसको चाल भएको स्थानीय दाबी गर्छन् । भारतको दुधवा नेसनल पार्कको छेउमा रहेको प्याराताल सिमसार क्षेत्र हो । उसले, प्याराताल मात्रै आफ्नो बनाउन सके, दुधवा नेसनल पार्कका वन्यजन्तुका लागि पानीको स्रोत हुने ठानेको स्थानीय बताउँछन् ।

पुनर्वास नगरपालिका ४ का स्थानीय कुबेर नाथ सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको दादागिरी परम्परादेखि चलिआएको बताउँछन् । उनी भन्छन्, ‘व्यक्तिगत लिनुदिनु त केही छैन, तर आँखा अगाडि सिमाना मिचेको कसरी सहनु ?’

‘हाम्रो त वस्तुभाउ चराउने वन हो नि, हामी सानो छँदा देखिएका पिलर, ६ किमिको दूरीसम्म रातारात गायब भए । ०६१÷६२ को संयुक्त सर्भे टिम आउनुभन्दा अगाडि नै भारतले ती पुराना पिलरहरू नेपाल तर्फ सार्‍यो, किनकि उसको प्राथमिकतामा प्याराताल थियो’, नाथले भने ।

प्यारातालको २०४२ साल अघिसम्म तत्कालीन जिल्ला पञ्चायतले माछा मार्ने ठेक्का लगाउँदै आएको उनको दाबी छ । तर, २०६१-६२ सालको संयुक्त सीमा सर्भे टिमले नेपालको भूमिमा गाढेका पिलर स्थानीयले आन्दोलन गरी भत्काएका छन् ।

‘त्यस क्षेत्रका जनताले सिमानाका लागि लडेका थिएनन् भने तराईको धेरै भाग भारतमा गाभिइसक्थ्यो, त्यसैले सिमानाका रक्षक सीमामा बसेका नागरिक हुन्’, नाथले भने । भारततिर एसएसबीका हरेक दुई-दुई किमिमा पोस्टहरू छन् तर त्यसको तुलनामा नेपालतिर सशस्त्र प्रहरीका नगन्य पोस्ट मात्रै छन् । 

छोरोको सपना पूरा भएको देख्ने गोविन्दका बुबाको चाहना

सहिद गोविन्द गौतमका ७४ वर्षीय पिता खेमलाल गौतमलाई आफ्नो छोराको सपना पूरा भएको हेर्न धोको छ । ‘छोरा त गइहाल्यो, समस्या उस्तै छ,’ उनले भने, ‘हामी बाँचेकाहरू पनि ढुक्कले बस्न सक्ने अवस्था छैन । कुन बेला आएर भारतीयले उठाउने हो, फेरि अर्को कसैले ज्यान दिनुपर्ने हो कि भन्ने चिन्ता कायमै छ ।’
सीमा विवाद समाधान गरेमात्र यस क्षेत्रका नागरिक सुरक्षित हुने र आफ्नो छोराप्रति पनि सम्मान हुने उनको भनाइ छ ।

  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १४:११:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया