फाइभजी परीक्षणका लागि लगानी अध्ययन सुरु

सरकारले पछिल्लो समय मोबाइल इन्टरनेट फाइभजी को परीक्षण सुरु गरेको छ । विकसित मुलुकहरूमा यसको परीक्षण निकै अघि भए पनि नेपालमा भने हालै सुरु गरिएको हो ।

फाइभजी प्रविधि भित्रिनुपूर्व नेपालले गर्ने तयारीस्वरूप नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले यसको कानुनी र प्राविधिक परीक्षणको तयारी सुरु गरेका छन् । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार पहिलो चरणमा विभिन्न चार स्थानमा फाइभजी परीक्षण गर्ने तयारी भइरहेको छ ।

पहिलो चरणअन्तर्गत टेलिकमले काठमाडौं, पोखरा, विराटनगर र वीरगञ्जमा फाइभजी परीक्षण गर्ने भएको छ । प्रवक्ता जोशीले भने, ‘त्यसका लागि केही पूर्वतयारी आवश्यक पर्नेछ ।’ अहिले टेलिकमले फोरजी सेवा प्रदान गरिरहेको छ । फोरजी सेवा विस्तारको अन्तिम चरणमा फाइभजी परीक्षण गर्ने तयारी रहेको जोशीले थप स्पष्ट पारे ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार फाइभजी परीक्षणका लागि सबैभन्दा पहिला यसको फ्रिक्वेन्सी निर्धारण र वितरण हुनुपर्नेछ । प्राधिकरणले फाइभजी प्रविधिका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण वितरणका लागि तयारी सुरु गरिसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् । 

‘हामीले फाइभजीका लागि फ्रिक्वेन्सी प्रस्ताव गरेका छौँ’, उनले भने, ‘त्यसका लागि अक्सन गरिनेछ । फाइभजी अक्सनका लागि न्यूनतम मूल्य कति निर्धारण गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ ।’ 

नेपाल टेलिकमले फाइभजी सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सीका लागि प्राधिकरणमा आवेदन दिइसकेको प्रवक्ता जोशीले जनाएका छन् । ‘प्राधिकरणले फ्रिक्वेन्सी वितरण गरिदिएपछि मात्र हामी परीक्षण चरणमा जान सक्छौँ’, उनले भने । त्यस्तै, फाइभजी परीक्षणका लागि पूर्वाधार र मोबाइल हेन्ड सेट पनि तयार हुनुपर्ने हुन्छ । हाल प्रयोगमा रहेका कतिपय मोबाइल सेटले फाइभजी सर्पोट नगर्ने हुँदा उपभोक्ताले समेत त्यसका लागि तयारी रहनु जरुरी छ । यसबाहेक फाइभजी सेवा सञ्चालन हुने टावर निर्माण गर्नुपर्ने र फोरजीको टावरलाई अपग्रेड गर्नुपर्ने हुन्छ ।



पछिल्लो समय नेपाल सरकारले पनि फाइभजी सेवा सञ्चालनका लागि विभिन्न पक्षबाट अध्ययन भइरहेको बताएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले फाइभजीका बारेमा अध्ययन सुरु भएको बताए । ‘हामीलाई फाइभजी चाहिन्छ, त्यसमा कुनै शंका नै भएन,’ दत्तले भने, ‘पूर्वाधार, लगानीबारे अध्ययन भइरहेको छ ।’ कस्तो पूर्वाधार बनाउने, कति लगानी गर्ने भन्ने विषय अध्ययन भइरहेको उनले बताए ।



  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १६:५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया