हेटौँडाबाट मैदान फर्किने भए ‘ए’ डिभिजन टोली

कोरोना कहरपछि नेपालका ‘ए’ डिभिजन टिमहरुले औपचारिक रुपमा प्रतियोगितामा भाग लिएका छैनन् । टोलीमा रहेका सदस्यहरु खेलमा फर्के तापनि ‘ए’ डिभिजन स्तरका गोल्डकप कोरोनापछि  भएका छैनन् । लामो समय खेलमा नफर्केका टोलीहरु अब हेटौँडाबाट मैदानमा देखिने भएका छन् । 

बागमती प्रदेशको राजधानी हेटौँडामा भोलि फागुन २७ गतेदेखि सुरु हुने तेस्रो संस्करणको ‘स्थानीय तह सहिद स्मृति गोल्डकप’ फुटबल प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा टोलीको सहभागिता रहने भएको छ । प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रताप विष्टका अनुसार प्रतियोगितामा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, एपिएफ क्लब, नेपाल पुलिस क्लबसहित लिग च्याम्पियन मछिन्द्र, जावलाखेल युथ क्लब र संकटा क्लब खेल्नेछन् । 

६ वटा ए डिभिजनबाहेक आयोजक हेटौँडा रिगल रिसोर्ट मकवानपुर ११, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा र विदेशी टोली अफ्रिकन रुट्स एसोसिएनले पनि गोल्डकपमा भाग लिनेछन् । भोलि हुने उद्घाटन खेलमा साबिक विजेता आयोजक मकवानपुर–११ र सिमराको नव जनजागृतिबीच भिडन्त हुनेछ । खेल हेटौँडा उपमहानगर–१० मा रहेको वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत ७ गते हुनेछ ।

 

४ हजार दर्शक अट्ने प्याराफिट

खेलमैदान घेराबार, प्याराफिट, स्टेज निर्माणको काम अन्तिम चरण पुगेको एन्फा मकवानपुरका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । यसपालि ४ हजार दर्शक क्षमताको फलामे प्याराफिट राखिएको र मैदानमा पनि बसेर हेर्न मिल्ने गरी म्याट ओच्छ्याइने बताइएको छ ।  प्रतियोगिताको टिकट दर नकआउट चरणका लागि एक सय, सेमिफाइनका लागि दुई सय र फाइनलका लागि तीन सय रुपैयाँ रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछन् । त्यस्तै, विधागत उत्कृट हुने खेलाडीले ट्रफीसहित जनही २५ हजार नगद प्राप्त गर्नेछन् ।



प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित नगद ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचले ट्रफीका साथमा १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।



  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १८:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया