मेयर्स कप क्रिकेट : फाइनलमा पुलिस क्लब र एपिएफको भिडन्त पक्का
काठमाडौं मेयर ११ एपिएफसँग ७ विकेटले पराजित

काठमाडौंमा जारी मेयर्स कप क्रिकेटमा एपिएफसँग काठमाडौं मेयर पराजित भएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं मेयर ११ एपिएफसँग ७ विकेटले पराजित भएको हो । 

सो प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। अब उपाधिका लागि दुई विभागीय टिम पुलिस क्लब र एपिएफ क्लब भिड्ने भएका छन्। पुलिस क्लब यसअघि नै फाइनल पुगिसकेको छ। 

बिहीबारको खेलमा काठमाडौंले एपिएफलाई १ सय ७८ रनको लक्ष्य दिएको थियो । एपिएफले ४४ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपिएफको जितमा सन्दीप जोरा र कप्तान शरद भेषवाकरले अर्धशतकीय इनिङ्स खेले।

शरदले अविजित रहँदै ६१ रन बनाए भने सन्दीप ६२ रनमा अविजित रहे। यस्तै शंकर रानाले ३१ रन र भुवन कार्कीले ११ रन बनाउँदा पवन सर्राफ भने शून्य रनमा आउट भए। काठमाडौंका कप्तान सन्दीप लामिछाने, अनुज चुनारा र अनिल खरेलले १–१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७८ रन बनाएको थियो। काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए भने हरिशंकर साहले ३६ रन र खडक बोहराले १३ रनको योगदान गरे । 

विक्रम भुसालले २० रन जोडे भने कप्तान सन्दीप लामिछाने ११ रनमा आउट भए। एपिएफका कमल सिंह ऐरी र अविनाश बोहराले ३–३ विकेट लिए।



यो जितसँगै एपिएफले ४ खेलमध्ये ३ जितसहित ६ अंक जोडेर दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ । पुलिस पनि ४ खेलमा ३ जितसहित ६ अंक जोडेर फाइनलमा पुगेको छ । 



  • प्रकाशित मिति : फागुन २७, २०७७ बिहीबार १८:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया