नेपालमै पहिलो पटक साढे २ केजी युरेनियमसहित चारजना पक्राउ

काठमाडौं : साढे २ केजी युरेनियमसहित काठमाडौंबाट चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पालले शुक्रबार पत्रकार सम्मेलन गरेर यसको जानकारी दिएका हुन्।

प्रतिकेजी अर्ब भन्दामाथि पर्ने उक्त युरेनियमसहित राजधानीकै बौद्ध क्षेत्रबाट ती चारजनालाई पक्राउ गरिएको पालले जानकारी दिएका छन्। 

तर उक्त युरेनियम प्रशोधन नभइसकेको अवस्थामा पाइएको हो। पालले परीक्षणबाट युरेनियम नै भएको पुष्टि भए पनि प्रशोधन हुन बाँकी रहेको बताए। पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने बताइएको छ।​

के हो युरेनियम?

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २३८ पारमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सीमित आयु हुन्छ।

युरेनियम मुख्यतया दुई प्रकारका पाइन्छन्, युरेनियम-२३८ र युरेनियम-२३५। प्राकृतिक रूपमा युरेनियम-२३८ पाइन्छ र त्यसलाई आणविक प्रशोधन केन्द्रमा लगेर प्रशोधन गरिएपछि युरेनियम-२३५ बनाइन्छ।



एक किलो युरेनियम-२३५ को परिमाणबाट उत्पादित विधुत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्तिसरह हुन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययन अनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम-२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

नेपालमा



नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ। बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनबाट देखिएको छ।

तर नेपालमा कति छ त युरेनियम ?

खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमानथाङमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा  बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेको थियो । उक्त तथ्य सार्वजनिक भएसँगै नेपाली सेनाको एक टोलीले सो क्षेत्रको निगरानी गर्दै आइरहेको छ ।

विज्ञहरुका अनुसार सो क्षेत्रमा ३५ टनसम्म युरेनियम हुन सक्ने बताएका छन् । मुस्ताङसँगै मकवानपुर धियालको तीनभंगाले, मकवानपुरकै चिरुवा र चाँदेखोला, काठमाडौंको उत्तर पश्चिमी क्षेत्र, शिवपुरी, नुवाकोटको ककनीलगायतका भेगमा समेत युरेनियम छ।

अहिलेसम्मको अध्ययनअनुसार ठूलो र फराकिलो खानी भने लोमाङथाङमा रहेको पुष्टि भएको हो। तर सरकारले अहिलेसम्म उक्त युरेनियमको खानी उत्खनन गरिसकेको अवस्था छैन।

बजार मूल्य

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारिक वेबसाइट एनबीएलडटडीओईडटजीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई 'युरेनियम-२३५' भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) पर्छ।

यस आधारमा एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करिब १८ अर्ब रुपियाँ) पर्न आउँछ। जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुणा बढी हो।

  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १६:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया