सत्ता सञ्चालनको अबको बाटो !

वर्तमान नेपाली राजनीतिमा अहिले सर्वाधिक चर्चाको विषय हो राज्य सञ्चालनको अबको बाटो । नेपाल कम्युनिस्ट पार्टीको नाममा एकीकृत भएका नेकपा एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले छुट्याइदिएपछि अब देशमा नयाँ राजनीतिक समीकरण र सत्ता सहकार्यको विषयमा चर्चा चुलिएको छ ।

दोस्रो पटकको सत्ता आरोहणको तेस्रो वर्ष पूरा गरेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले चौथो वर्षका लागि सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, उनको कुर्सीमाथिको संकट अहिले नेपाली राजनीतिसँगै उत्कर्षमा रहेको छ । पार्टी एकीकरण गरी करिब दुईतिहाइ मतसहित पदमा रहेका ओली पार्टी एकीकरणबाट पुरानै अवस्थामा फर्किएसँगै अल्पमतमा पर्ने उच्च सम्भावना छ । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा ओली सरकार अल्पमतमा पर्नेछ । त्यसपछि, चुनाव आउनका लागि बाँकी रहेको करिब २ वर्ष अवधिका लागि राज्य सञ्चालनको स्पष्ट मार्गचित्र अहिल्यै कल्पना पनि गर्न मुस्किल छ । संसदमा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा अहिले ओलीको बहिर्गमन अथवा निरन्तरता सहज भने छैन । 

संघीय संसदमा राजनीतिक अवस्था
अब सत्ता गठबन्धनको पहिलो प्रयास प्रधानमन्त्री ओली जोगाउनका लागि संसदमा सत्तारुढ नेकपा एमालेले गर्नेछ । जसको सुरुवात ओलीले बालुवाटारमा भेटवार्ता बढाएर गरिसकेका छन् । संघीय संसदमा राष्ट्रिय दलको मान्यता पाएका चार वटा दल छन् । अबको समीकरण यिनै ४ मध्येबाट बन्नेछ । 

अहिले संसदमा देखिएका चार दलमा पहिलो नेकपा एमाले, दोस्रो नेपाली कांग्रेस, तेस्रो नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी नेपाल रहेको छ । तीबाहेक राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एकएक जना सांसद छन् । एकजना स्वतन्त्र सांसद रहेका छन् ।

सरकार जोगाउने सम्भावित गठबन्धन



अहिले सबैभन्दा बढी सम्भावना देखिएको गठबन्धन भनेको सत्तारुढ एमाले र जनता समाजवादी पार्टीको रहेको छ । पहिलो दल एमालेसँग ८० जना प्रत्यक्ष र ४१ समानुपातिक गरी १२१ सांसद छन् । जसमध्ये अहिले सानु सिवाको निधनपछि १२० जना रहेका छन् । 

चौथो स्थानमा रहेको दल जसपासँग २२ जना प्रत्यक्ष र १३ जना समानुपातिक गरी ३५ जना सांसद छन् । जसपाका यीमध्ये हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बनमा र रेशम चौधरी जेलमा छन् । जसपाको अहिलेको बार्गेनिङ पनि चौधरीलाई छुटाउने सर्तमै केन्द्रित भइरहेको छ । 



एमाले र जसपाको गठबन्धन बनेको अवस्थामा प्रधानमन्त्री ओली सुरक्षित बन्न पुग्छन् । उनीहरुको गठबन्धनको मत १५४ पुग्छ, जुन सत्ता सञ्चालनका लागि आरामदायी बहुमत हो । यसका लागि एमाले र जसपा दुवै लगभग सहमत भइसकेका दुवै पार्टीका नेताहरुले बताउन थालिसकेका छन् । 

एमालेबाहेकको सरकारको सम्भावना कति ?

अहिलेको सरकार हटाउनका लागि बाँकी सबै दल एकै ठाउँमा हुनुपर्ने अवस्था छ । जसको सम्भावना तत्कालका लागि देखिँदैन । किनभने, नयाँ गठबन्धन बनाएर एमाले बाहेकको सरकार बनाउनका लागि कांग्रेस, माओवादी र जसपा तीनवटै दलले प्रधानमन्त्री दाबी गरिरहेका छन् । 

जसपाको आज बसेको संसदीय दलको बैठकमा अबको सरकारमा नयाँ गठबन्धन बनेमा आफूहरुले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । औपचारिक रुपमा विधानको विषयमा छलफल भएको बताइए पनि दलभित्र सरकार र गठबन्धनको विषयमा पनि छलफल भएको छ । 

एमालेबाहेक संसदमा कांग्रेसको ६३, माओवादीको ५३ र जसपाको ३५ मिलाएर सरकार बन्न सक्छ । तर, प्रधानमन्त्री पद र जसपाको संविधान संशोधनको मुद्दालाई सहजै व्यवस्थापन गर्न यो गठबन्धनलाई पनि मुस्किल देखिएको छ । 

ओली सरकार जोगाउने थप विकल्प

अहिलेको सरकारलाई नै निरन्तरा दिनका लागि जसपासँगको गठबन्धन पहिलो विकल्प रहेपनि अरु विकल्प नै नभएको भने होइन । जसपा भित्रकै तत्कालीन राष्ट्रिय जनता पार्टीका सांसदहरुलाई मात्रै पनि ओलीले आफ्नो समर्थनमा ल्याउन सक्छन् । सत्ता जोगाउनका लागि ओलीलाई १६ मतको थप समर्थन जुटाए पर्याप्त बन्नेछ । 

यसबाहेक, कांग्रेसलाई विश्वासमा लिएर पनि ओली अगाडि बढ्न सक्नेछन् । कांग्रेसका सभापति शेरबहादुर देउवा आफूले प्रधानमन्त्री नपाएको खण्डमा अन्य गठबन्धन बनाउनुभन्दा ओलीकै सरकारलाई जोगाएर चुनावमा जान चाहन्छन् । ओलीलाई जोगाएको खण्डमा देउवाले सरकारमा रोजेको मन्त्रालय पाउने सम्भावना रहन्छ । 

  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १६:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया