नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेको जिम्मेवारी हेरफेरसहितका निर्णयलाई अवैधानिक भनेको छ।
वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले फरकधारसँग कुरा गर्दै ओलीको उक्त निर्णयलाई गुटको संज्ञा दिएका छन्।
नेपाल पक्षीय एमाले सचिव भीम आचार्यले ओलीको उक्त निर्णयलाई अवैधानिक भने। 'बालुवाटारमा ओलीले गरेको त्यो निर्णय अवैधानिक हो', उनले फरकधारसँग भने, 'त्यो पार्टीको होइन, गुटको मात्रै निर्णय हो। त्यो पार्टीलाई मान्य हुँदैन।'
उनले ओलीले गरेको उक्त निर्णयविरुद्ध उचित कदम चालिने बताए। 'यो निर्णयविरुद्ध के गर्ने भन्ने विषयमा हामी सल्लाह गरेर ठोस धारणा तय गर्छौँ', उनले अगाडि भने।
उक्त निर्णयबारे बुझ्न खोज्दा नेपाल पक्षका एकजना नेता रघुजी पन्तले भर्खरै जानकारीमा आएकाले छलफल गरिरहेको बताएका छन्।
'मैले भर्खरै थाहा पाएँ, विस्तृत रुपमा थाहा भइसकेको छैन', उनले भने, 'हामी छलफलमै छौँ, छलफलपछि धारणा बनाएर बोल्नेछौँ।'
त्यसैगरी नेपाल पक्षका एकजना नेता ठाकुर गैरेले अहिलेसम्म साविक एमालेको केन्द्रीय कमिटी बैठक नै बसिनसकेको बताए।
'जुन पार्टीको केन्द्रीय कमिटीको बैठक नै बसेको छैन, त्यो पार्टीको र यस्तो निर्णय भयो भन्ने सुनेँ', उनले भने, 'मिडियामा आएको यस्तो समाचारले मलाई दिक्क लागेको छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।