टाइब्रेकरमा जावालखेल स्तब्ध, आर्मी सेमिफाइनलमा
हेटौंडा मैदानमा प्रतिष्पर्धा गर्दै आर्मी र जावलाखेलका खेलाडी र म्यान अफ द म्याच घोषित भएका आर्मीका गोल रक्षक विश्वास चौधरी ।

बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट सुरु भएको स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको दोस्रो खेलमा त्रिभुवन आर्मीले विजयी सुरुवात गरेको छ । ‘ए’ डिभिजन टिम जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । 

खेलको निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आर्मीका गोलरक्षक विश्वास चौधरीले जावलाखेलको सुरुको दुई प्रहार रोकेपछि खेलको नतिजा आर्मीको पक्षमा आएको हो ।

म्यान अफ द म्याच बनेका चौधरीले जावलाखेलका विदेशी खेलाडी विडेल लुइज र राजेन्द्र रावलको प्रहार रोकेका थिए । जावलाखेलका लागि विदेशी खेलाडी फोडे फफना र रुपबहादुर लामाले गोल गरेका थिए । यस्तै आर्मीका लागि टाइब्रेकरमा टंक बस्नेत, दीपक गुरुङ, विकास तामाङ र सेसेहाङ आङदेम्बेले गोल गरेका थिए । भोलि खेलमा संकटा र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

खेलपछि प्रतिक्रिया दिँदै जावलाखेलका प्रशिक्षक किशोर केसीले करिब एक वर्षपछि टोली मैदानमा आए तापनि उत्कृष्ट पुनरागमन गरेको बताए । उनले आर्मीसँग राम्रो प्रतिस्पर्धा गरे पनि टाइब्रेकरमा हार्नु दुर्भाग्य भएको बताए ।

यस्तै आर्मीका प्रशिक्षक चुन बहादुर थापाले राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरूको अभाव भए तापनि प्रतियोगितामा उत्कृष्ट लय समातेको बताएका छन् । फिनिसिङको कमजोरी स्वीकार्दै थापाले आगामी खेलमा घाइते भएका केही खेलाडी ठिक हुँदा टिम थप सशक्त हुने बताए । 

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उप विजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी ट्रफीसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी बुलेट बाइक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीका लागि नेपालमा गरिएको प्रतियोगिताहरूमा सबैभन्दा ठूलो राशिको  पुरस्कार रुपमा बुलेट बाइक भएको आयोजकले दाबी गरेको छ ।





  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार १८:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया