मुलुकको राजनीतिक अन्योलता जस्तै सुदूरपश्चिमको प्रदेश राजधानी कार्यान्वयन गर्ने प्रक्रिया पनि अलमलमा परेको छ । प्रदेश सभाले राजधानी घोषणा गरेको साढे दुई वर्ष पुग्न लाग्दा पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको २ र ४ को तेघरीमा राजधानी बनाउने निर्णय गरेको थियो ।
यो स्थानको जग्गा वन क्षेत्रमा पर्छ । कैलालीको गोदावरी नगरपालिकाको चुरेफेददेखि तेघरीको भावर क्षेत्रसम्म ३० लाख २३७ वर्ग मिटर क्षेत्रफलको जंगल फँडानी गरेर राजधानी बनाउने घोषणा गरेको थियो ।
सुदूरपश्चिम प्रदेश राजधानी पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भई प्रकृया अघि बढाएको दाबी गरे । सो प्रतिवेदन स्वीकृत भइसकेपछि संरचना निर्माणको कामले गति लिने उनको भनाइ छ ।
‘हाम्रो तर्फबाट ढिलासुस्ती भएको छैन, सो क्षेत्रमा राष्ट्रिय वन भएका कारण जग्गा प्राप्तिका लागि विभिन्न चरणमा अध्ययन गर्नुपर्दा समय लागेको हो,’ उनले भने, ‘डिपिआर तयार हुँदैछ, टेन्डर खोलेर काम सुरु गर्न अझै ६ महिनाजति लाग्न सक्छ ।’
उनले भौतिक संरचनाको पूर्वाधार निर्माणमा ५० बिघा जग्गा आवश्यक पर्ने बताए । वातावरणमा प्रभाव पर्ने किसिमले धेरै रूख पनि नकाटिने र हरियाली जंगलभित्रको सहरका रूपमा राजधानी निर्माणको काम अघि बढाउने सरकारको अवधारणा रहेको उनले बताए । सुदूरपश्चिम प्रदेशका सांसद तारा लामा तामाङले राजधानी निर्माणमा ढिलासुस्ती भएको स्वीकार गरे ।
‘दुई वर्ष बितिसक्दा केही न केही उपलब्धि हुनुपर्ने हो,’ उनले भने, ‘जग्गाको भोगाधिकारको, डिपिआर तयार भएको छ कि छैन ? भएको भए छलफलमा किन नआएको ?’
प्रदेशको राजधानी बनाउने विषयमा केन्द्र सरकारले चासो नदेखाएको उनको भनाइ छ । ‘केन्द्र सरकार इमानदार भइदिएको भए प्रदेश राजधानीका लागि छुट्याएको बजेट पठाउनुपर्ने हो,’ उनले भने, ‘संघीयतालाई बलियो बनाउने आधार नै प्रदेश सरकार भएकाले प्रदेशको राजधानी निर्माणको कामलाई जसरी गति दिनु पर्दथ्यो, त्यो हुन सकेको छैन ।’
लामो समयदेखि प्रदेश सरकारले राजधानी तेघरी जंगलमा निर्माण सुस्त गतिमा अगाडि बढाएको भन्दै गोदावरी क्षेत्रका आम नागरिक आक्रोशित बनेका छन् । ‘अहिलेसम्म तेघरी जंगलमा राजधानीका लागि जग्गा प्राप्तिसम्मको काम भइसकेको छैन,’ स्थानीय हरिदत्त भट्टले भने, ‘यो काम कछुवा गतिमा नभई चाँडो गरियोस् ।’
दुई तिहाइको सरकारले अन्य थुप्रै नियम बनाएर काम गर्ने भए पनि प्रदेश राजधानी तेघरीको प्रक्रियालाई चाँडो अगाडि नबढाएको भन्दै अर्का स्थानीय पदमराज जोशीले आक्रोश पोखे । उनले भने, ‘राजधानी घोषणाको साढे दुई वर्ष बितिसक्यो, अहिलेसम्म कुनै पनि काम हुन सकेको छैन ।’
गोदावरी नगरपालिका–२ का स्थानीय हरि साउदले राजधानीको टुङ्गो लागेको दुई वर्ष बितिसक्दा पनि भौतिक पूर्वाधार निर्माण हुन नसक्नु दुःखद् पक्ष भएको बताए । ‘राजनीतिक चलखेल पो भइरहेको छ कि,’ उनले भने, ‘नभए यतिका समयसम्म भवन निर्माण अघि बढिसक्नुपर्ने हो ।’
गोदावरी नगरपालिकाका प्रमुख हरसिंह साउदको आरोप पनि भने प्रदेश सरकार नै कानमा तेल हालेर बसेका कारण राजधानी निर्माणका लागि ढिला भइरहेको बताए । उनले भने, ‘राजधानीको विषयमा प्रदेश सरकारको चासो र चिन्ता हुनुपर्ने हो, तर सरकार कानमा तेल हालेर बसेको छ ।’ आफ्नो पालिकामा राजधानी बनाउने निर्णय भइसकेका कारण आफूहरूले यसका लागि पहल र चासो राख्दै आएको उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।