दैनिक जीविकोपार्जनका लागि रोजगारी अत्यावश्यक नै रहेको छ । मानिसहरू विभिन्न मुलुकमा रोजगारीका लागि जाने गरेको विगतको अवस्था छ । यसै क्रममा नेपालमा पनि अन्य मुलुकबाट हरेक वर्ष रोजगारीका लागि आउने गरेका छन् । यद्यपि पछिल्लो समय नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने विदेशी कामदारको संख्या भने घटेको छ ।
चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा नेपाल आउने विदेशी कामदारको संख्या ३५.६ प्रतिशतले घटेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । गत आवको सोही सात महिनाको अवधिको तुलनामा चालु आवमा ३५ प्रतिशतले विदेशी कामदार आउने क्रम घटेको विभागले बताएको हो ।
विभागका अनुसार माघ मसान्तसम्ममा कुल ५०४ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । तर गत आवको सोही अवधिमा भने यस्तो संख्या ७८३ थियो ।
यस्तै यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रम स्वीकृति नवीकरण गराएका छन् । गत आवको सोही अवधिमा ६२९ जनाले आफ्नो श्रम स्वीकृति नवीकरण गराएका विभागले जनाएको छ । गत आव भर भने १ हजार ९१ जनाले नयाँ श्रम स्वीकृति र ९५९ जनाले श्रम स्वीकृति नवीकरण गराएको विभागको तथ्यांकमा उल्लेख छ ।
हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत ८० भन्दा बढी देशका १६ हजार ३७८ जना कामदार कार्यरत छन् । नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ । यी औपचारिक रूपमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् । दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रम स्वीकृति नलिई नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।
नेपालमा जलविद्युत् आयोजना, पाँचतारे होटेल, विदेशी स्वामित्वका बैंक तथा बिमा कम्पनी, विमान कम्पनी, गैरसरकारी संस्थालगायत क्षेत्रमा विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालबाट अर्बौं रुपैयाँ रेमिट्यान्स (विप्रेषण) का रूपमा लैजाने गरेका पनि छन् । विशेष गरी यसपटक कोरोनाका कारण विदेशी कामदारको आगमन घटेको विभागले बताएको छ ।
नेपालमा चिनियाँ कामदारहरूको अंश बढी छ । विशेष गरी नेपालको जलविद्युत् आयोजनामा चिनियाँहरू प्राविधिक जनशक्तिका रूपमा आउने गर्छन् । तर, कोरोनाका कारण विगत एक वर्षदेखि नै चिनियाँ कामदार आवश्यक मात्रामा नेपाल आउन सकेका छैनन् । यस्तै, कोरोनाका कारण पाँचतारे होटेल, पर्यटन उद्योगलगायत क्षेत्र प्रभावित हुँदा पनि त्यस्ता क्षेत्रमा पहिलाको जस्तो नयाँ विदेशी कामदार मगाउन नसकिएको विभागको दाबी छ ।
विभागका महानिर्देशक सनत केसीले कोरोना महामारीका कारण विदेशी कामदार घटेको बताए । पहिला कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा त विदेशी कामदारको आगमन शून्य नै रहेको थियो, उनले भने तर लकडाउन खुलेसँगै केही मात्रामा विदेशी कामदार नेपाल आउन थालेका छन् ।
पछिल्लो समय भने विदेशी कामदारको आगमन बढ्न थालेको उनको भनाइ छ । ‘बन्दाबन्दीमा नयाँ विदेशी कामदारको आगमन शून्य नै थियो । श्रम स्वीकृति नवीकरणको काम मात्र भएको थियो,’ उनले भने, ‘तर, सरकारले बन्दाबन्दी हटाएपछि र अन्तर्राष्ट्रिय हवाई उडान खुलाएपछि विदेशी कामदार आउन थालेका छन् ।’
नेपालमा विदेशी कामदारलाई श्रम स्वीकृति दिने अधिकार श्रम विभागसँग छ । कामदारले रोजगारदाता संस्थाको निवेदन, कार्य क्षेत्रसँग सम्बद्ध मन्त्रालयको सिफारिस र गृह मन्त्रालयको सहमतिपत्र बुझाएपछि विभागबाट श्रम स्वीकृति पाउन सक्नेछन् । यसका लागि उनीहरूले वार्षिक २० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । विदेशी कामदारले नेपालमा ७ वर्षसम्म काम गर्न पाउने श्रम ऐनमा व्यवस्था रहेको छ ।
नेपालको विभिन्न जलविद्युत् आयोजनाहरू, विदेशी स्वामित्वका स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक, एभरेस्ट बैंक, नेसनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, म्यारियट होटेल, याक एन्ड यति होटेल, सोल्टी होटेलजस्ता संस्थामा विदेशी कामदार रहेका छन् । यस्तै, विभिन्न शैक्षिक संस्थाहरू, विमान कम्पनीमा पनि विदेशी कामदार कार्यरत छन् । यसका अतिरिक्त निर्माणका क्षेत्रमा पनि विदेशी कामदार कार्यरत रहेका छन् ।
विदेशी कामदार आगमनको अवस्था
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।