नेप्से २ प्रतिशतले घट्दा कारोबार रकममा भने सुधार

गत साता निरन्तर घटेर बन्द भएको सेयर बजार यस साता पनि घट्दो क्रममा नै रहेको छ । साताको पहिलो दिन आइतबार अन्तिम समयसम्म पनि घट्दो क्रममा नै रहेर सेयर बजार बन्द भएको छ । 

आइतबार समग्र नेप्से परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । समग्र नेप्से परिसूचक घटे पनि आइतबार कारोबार रकममा भने केही सुधार आएको छ । गत साता अन्तिम कारोबारको दिन बुधबारको तुलनामा कारोबार रकममा सुधार आएको हो । 

बुधबार कुल २०५ वटा कम्पनीको सेयर खरिद–बिक्री भएको थियो । ती कम्पनीका ७८ लाख १६ हजार ८७४ कित्ता सेयर कुल ४ अर्ब ३ करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा खरिद–बिक्री भएको थियो । तर, आइतबार (आज) २११ कम्पनीका सेयर खरिद–बिक्री भएको नेप्सेले देखाएको छ । ती कम्पनीका ९९ लाख ३ हजार कित्ता सेयर कुल ४ अर्ब ९५ करोड रुपैयाँमा खरिद–बिक्री भएका छन् ।

यस्तै, चैत महिनाको पहिलो दिन सेयर बजारमा ५१ अंकको पहिरो गएको छ । उक्त अंकले घटेर नेप्से परिसूचक २४०७ बिन्दुमा आइपुग्दा सेन्सेटिभ सूचक ४३५ बिन्दुमा झरिसकेको छ । राम्रा र बलिया कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १० अंकले घटेको छ ।
गत फागुन ९ गते २६४० अंक पुगेको नेप्से परिसूचक त्यसपछिका १३ कारोबार दिनमा दुई दिन मात्रै बढेर बन्द भएको छ । बाँकी ११ कारोबार दिनमा सूचक २ सय ३३ अंक तल झरेको हो । 

बजारमा तरलता अभाव र प्राविधिक विश्लेषकहरुले सूचक २१ सय अंकसम्म झर्न सक्ने विश्लेषण गरेको हल्लाले बजारमा बिक्री चाप बढ्दा नेप्सेमा फराकिलो अंकको गिरावट आएको लगानीकर्ताले दाबी गरेका छन् । 

सूचक २६ सय अंक माथि पुग्दा केही ठूला लगानीकर्ताले सेयर बेचिसकेका छन् । उनीहरू जतिसक्यो बजार तल झारेर सेयर उठाउने ध्याउन्नमा लागेको एकथरि लगानीकर्ताको दाबी छ । त्यसैले अनेकथरि हल्ला फिँजाएर बजार घटाउँदै सेयर किनिरहेको उनीहरूको दाबी छ ।



आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिए पनि ११ उपसमूहको सूचक भने नकारात्मक देखिएको छ । यस दिन हाइड्रोपावर कम्पनीहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दा उक्त उपसमूहको सूचक २.३२ प्रतिशतले बढेको छ भने चन्द्रागिरि हिल्सको सेयरमूल्य बढ्दा होटल एन्ड टुरिजम उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले बढेको हो । 

पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार



आइतबार कारोबारमा आएका कम्पनीमध्ये पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन चन्द्रागिरि हिल्स, अपर तामाकोसी, पञ्चकन्यामाई हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता हिमालयन पावर पार्टनरको सेयरमूल्य सबैभन्दा धेरै ९.८६ प्रतिशतले घटेको छ भने नेपाल हाइड्रो डेभलपर्सको ७.९५ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६.५६ प्रतिशत, शिखर इन्स्योरेन्सको ६.५५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.०८ प्रतिशतले घटेको छ ।

त्यस्तै, यस दिन अपर तामाकोसीको सबैभन्दा धेरै ४४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको २७ करोड ५६ लाख, नविल बैंकको २० करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड ६७ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १६ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १६:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया