२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

एमालेमा हलचल :  माधवलाई ओलीको एसएमएस, कोटेश्वरमा प्रचण्ड, आयोगमा निवेदन
एमाले तीव्र गतिमा विभाजनतर्फ

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि मिल्ने बिन्दुमा पुगेको साविकको एमाले तीव्र गतिमा विभाजनतर्फ अघि बढेको छ। आइतवार दिनभर दुवै पक्षका गतिविधिले एमालेले फेरि २०५४ सालकै नियति भोग्ने दिशातर्फ लागेको देखाएको छ।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर पेरिस डाँडाबाट फर्किएका माधवकुमार नेपाल र झलनाथ खनालसँग सम्वाद अघि बढाउने अपेक्षा गरिएको थियो। 



तर २०७५ जेठ ३ मा बनेको नेकपा पुस ५ मा प्रतिनिधिसभा विघटनसँगै विभाजित भएको अवस्थामा आफूलाई साधारण सदस्यबाट समेत निकाल्ने दाहाल-नेपालप्रति ओलीले प्रतिशोधपूर्ण व्यवहार देखाए। फागुन २८ मा बालुवाटारमा केन्द्रीय समिति बैठक राखेर ओलीले नेपाल-खनाल पक्षका सबै नेतालाई जिम्मेवारीबिहीन बनाइदिए। 

त्यसपछि रुष्ट बनेका नेपाल-खनालले तत्कालै होटल अर्यालमा आफ्नो पक्षका स्थायी कमिटी सदस्यलाई बोलाएर प्रतिरोधमा उत्रिने चेतावनी दिए। त्यसको भोलिपल्ट अर्थात् शनिबार नेपाल पक्षले देशभर समानान्तर कमिटी घोषणा गर्दै प्रदेश इन्चार्जदेखि विभागीय प्रमुखसम्म तोक्यो।



नेपाल पक्षको बैठकले चैत ४ र ५ गतेलाई आफ्नो पक्षका नेता-कार्यकर्तालाई राष्ट्रिय भेलाका लागि काठमाडौं बोलाएका छन्। यो राष्ट्रिय भेला आह्वान गरेसँगै एमाले अब विभाजनतिर अघि बढेको ठानिएको छ।

यसबीचमा प्रधानमन्त्री ओलीले चैत ७ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाए। तर उक्त बैठकमा आफूहरु नजाने बताउँदै नेता नेपालले अब एमाले विभाजनतर्फ अघि बढेको घोषणा गरे। 

उता ‌ओलीले चैत ७ गते केन्द्रीय कमिटी बैठकमा नआए नेताहरूमाथि कारवाही चेतावनी दिइसकेका छन्। एमालेको विधानमा लगातार तीन बैठकसम्म नआएमा जिम्मेवारीमुक्त गरिने व्यवस्था छ। ओलीले यससँगै नेपाल-खनाललाई पेलेरै अघि बढ्ने नीति बनाएका छन्। 

उनले शनिबार मात्रै नेपाल-खनाल पेरिस डाँडाबाट रुँदै होटल अर्याल आइपुगेको भन्दै त्यहाँबाट बालुवाटारसम्म आउन नसकेको बताएका थिए। उनले नेपाल पक्षको शरीर मात्रै पेरिस डाँडाबाट आएको तर मन उतै रहेकाले मिल्न नसकिने बताए।



उता यही बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल-खनाललाई एमालेबाट रेस्क्यु गर्ने अवस्था आउन सक्ने बताए। उनले नेपाल-खनालले ओलीलाई पेलेर कि ठीक लगाउने कि विद्रोह गरेर आफैसँग आउने बताएका छन्। 

प्रचण्डको यो प्रतिक्रिया ओली झनै बिच्किए। ओली पक्षका कार्यकर्ताले प्रचण्डको यो भनाइले अझै पनि खनाल-नेपाल एमालेमा आइनसकेको बताएका छन्। दाहालकै योजना नेपाल-खनालले आफूविरुद्ध गतिविधि गरिरहेको ठहरसहित ओलीले पेलेरै अघि बढ्ने नीति लिएपछि एमाले विभाजनको मुखमा पुगेको छ। 

अनि आयो आइतवार 

शनिबार दिनभरी विवाद र आरोप प्रत्यारोपमा अल्झिएको एमालेमा आइतवार पनि त्यही चक्र देखियो। आइतवार दिउँसो नेकपा माओवादी केन्द्रले पनि आफ्नो केन्द्री कमिटी बैठक राखेको थियो। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्न सबै उपाय लगाउने प्रचण्डको योजना प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सुनाए। 

माओवादीले अहिले आफ्नो प्रमुख एजेन्डा कुनै पनि अवस्थामा ओलीलाई सरकारबाट बिदा गर्ने बनाएको छ। उसले त्यसका लागि कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमालेकै खनाल-नेपाल समूहलाई पनि मनाउने प्रयासलाई निरन्तरता दिने बताइसकेको छ।

अर्थात् ओलीलाई बिदा गरेर प्रचण्ड सकेसम्म आफैँ प्रधानमन्त्री बन्न चाहन्छन्। यदि त्यसो नभएमा कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर ओलीलाई सत्ताबाट निकाल्ने योजना प्रचण्डले बनाएका छन्। 

कोटेश्वरमा दाहाल-नेपाल-खनाल मिलन

आफ्नो पार्टीको केन्द्रीय समितिको आजको बैठक सकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतवार दिउँसो सुटुक्क नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई भेट्न कोटेश्वर पुगे। 

शनिबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहँदा नेकपा एमालेका नेता भीम रावल पेरिस डाँडा पुगेका थिए। उनले माओवादी केन्द्रसँगै वार्ताका लागि पेरिस डाँडा गएको जानकारी पत्रकारहरुलाई दिएका थिए।

'हो, म पेरिस डाँडा गएकै हो, दुई पार्टीको पछिल्लो अवस्थाबारे माओवादी केन्द्रसँग छलफल गर्न पुगेको थिएँ', उनले शनिबार भनेका थिए, 'यसबारे अहिले यति भन्छु, किन गएँ भन्ने कुरा म पछि विस्तृत बताउँला।'

रावलले यति भनेको भोलिपल्टै ओलीलाई अर्थपूर्ण सन्देश दिने गरी प्रचण्ड माधव नेपाल-झलनाथ खनाललाई भेट्न कोटेश्वर पुगे। प्रचण्ड र नेपाल दुवैको सचिवालयबाट भेटबारे जानकारी आए पनि त्यसको विस्तृत विवरणबारे केही बोलेका छैनन्। 

ओलीको निम्तो

प्रचण्ड-झलनाथ-माधव संवाद चलिरहँदा बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका सबै केन्द्रीय सदस्यहरुलाई चियापानको निम्तोसहितको एसएमएस पठाए।

प्रधानमन्त्री ओलीले यही मंगलबार एमालेका केन्द्रीय सदस्यहरुलाई चियापानका लागि बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्री ओलीको तर्फबाट पठाइएको एसएमएस नेता नेपाल र खनाललाई पनि पुगेको छ। मंगलबार बिहान ११ बजेका लागि आयोजित चियापान कार्यक्रममा नेपाल पक्षका सबै नेतालाई पनि डाकिएको छ।

ओलीले यही चैत ७ एमाले केन्द्रीय कमिटी बैठक बोलाएका छन्। उक्त बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यहरुलाई चियापानको निम्तो दिइएको हो। यसलाई ओली पक्षले चैत ७ को बैठकका लागि पूर्वतयारी र आत्मियता बढाउने माध्यमका रुपमा व्याख्या गरेको छ।

तर सर्वोच्चको निर्णयपछि पार्टी २०७५ जेठ २ को अवस्थामा पुगेका बेला ओलीले विधानविपरीत आफूखुसी जिम्मेवारी हेरफेरसहितका गतिविधि गरेपछि नेपाल पक्ष चिढिएको छ। यस्तोमा ओलीले चियापान गरेर अवस्थालाई सामान्यीकरण गर्न खोजिएको भनिए पनि नेपाल पक्ष त्यो कुरा मान्न तयार छैन। उसले एमालेभित्र समानान्तर अभ्यास थालिसकेको छ। अर्कातिर माओवादीसँग एकीकरणका उपाय र ओलीलाई सरकारबाट विस्थापनका विकल्पको खोजी पनि गरिरहेको छ।

फेरि आयोगको गोलचक्कर 

नेकपालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि निर्वाचन आयोगलाई हाइ सन्चो भएको थियो। आधिकारिकता र चुनाव चिन्हलाई लिएर आयोगका प्रमुख आयुक्त दिनेश थपलिया नेकपाका दुवै समूहको ठूलो दबाबमा थिए। 

तर असार २३ सर्वोच्चले उनको तनावको ज्वरो नै उतार्ने गरी नेकपा नै खारेज गरिदियो। यस्तोमा अब विवाद साम्य भएको बुझाइ थियो। तर आइतवार एमालेको दाहाल-नेपाल पक्ष चिठ्ठी लिएर ओलीका निर्णयविरुद्ध निर्वाचन आयोग पुग्यो।

नेपाल पक्षले प्रधानमन्त्री ओलीले पार्टीबारे लिएका निर्णय असंवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन नै दिएको छ आयोगमा पुगेर नेपाल पक्षले प्रधानमन्त्री ओलीले गुट भेला राखेर गरेको जिम्मेवारी हेरफेरलाई वैधानिकता नदिन भनेको हो। यससँगै खारेजीमा परेको विवादको गोलचक्कर फेरि एमालेबाट आयोगमा पुगेको छ। 

अध्यक्ष ओलीले गरेको निर्णय पार्टीको वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पुर्‍याउने खालको रहेको नेपाल पक्षको निवेदनमा उल्लेख छ। नेपा पक्षले ओलीको निर्णयलाई अवैधानिक भनिसकेको छ।

नेपाल समूहका ११ जना स्थायी कमिटी सदस्यहरुले आयोगलाई ओलीको गुट बैठकका निर्णयलाई मान्यता नदिन भनेका हुन्। उनीहरुले उक्त निर्णय सच्चिएर आएको अवस्थामा एमालेको निर्णयका रुपमा ग्रहण गर्न भनेका थिए।

 पत्रमा लेखिएको छ,‘हामी निवेदकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकतावद्ध र एकीकृत बनाइ राख्न दृढ संकल्पित भएकोले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णयलाई आयोगमा विवरण सच्याउन माग भई आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनै पनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेस गरेका छौँ,’ 

  • प्रकाशित मिति : १ चैत, २०७७ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया