धुम्बाराही वार्तामा प्रचण्डको 'अभियोग पत्र'देखि होटल अर्यालका कुरा
एमालेमा अझै टरेको छैन विभाजनको खतरा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको बैठक सकारात्मक दिशातर्फ अगाडि बढेको नेताहरुले बताएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा नेताहरुबीच एकतावद्ध भएर अघि बढ्नुपर्ने विषयमा सैद्धान्तिक सहमति भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए। छलफलमा ठोस सहमति नजुटे पनि सकारात्मक भएको प्रतिक्रिया दुवै पक्षका नेताहरुले दिएका छन्।

फागुन २८ 

छलफलमा दुवै समूहका राजनीतिक निर्णय, भेला, बैठक र गत कातिक २८ गते नेकपा एक हुँदाकै बेला पुष्पकमल दाहाल प्रचण्डले दर्ता गराएको आरोप पत्रबारे पनि कुरा उठेको थियो। यो संवाद निरन्तर अघि बढ्ने विश्वास नेताहरुले लिएका छन्।

नेपाल समूहले सर्वोच्च अदालतको फैसलाअनुसार २०७५ जेठ ३ गतेकै अवस्थामा एमाले पुगेको बताउँदै त्यहीअनुसार विधि, विधान, पद्धति र सिद्धान्तअनुसार हुने निर्णयलाई स्वीकार्ने बताएको छ।

तर त्यस विपरीत भएका निर्णय र कदमलाई स्वीकार्न नसकिने आफूहरुले प्रष्टसँग अध्यक्ष ओलीसमक्ष राखेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। 



विवाद समाधान गर्न अध्यक्ष ओलीले पहल गरेका थिए। उनले नै नेता नेपालसहितलाई पार्टी कार्यालयमा छलफलका लागि डाकेका हुन्। 

पार्टीको केन्द्रीय कमिटी बैठक यही चैत ७ गते बोलाएका ओलीले यसअघि गत शुक्रबार (फागुन २८) मा आफू पक्षधर सदस्यहरुको बैठक राखेर अध्यक्ष र महासचिव रहने गरी बाँकी केन्द्रीय पदाधिकारी खारेज गरेका थिए।



त्यस्तै उनले नेपाल समूहका प्रदेश इन्चार्ज हटाएर आफू पक्षधर नेताहरुलाई नियुक्त गर्दै माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। 

नेपाल पक्षले फागुन २८ का तिनै निर्णय खारेज गरेर सहमति प्रयासको प्रस्थान विन्दु बनाउनु पर्ने प्रस्ताव गरेका छन्। उक्त निर्णय खारेज गरेमा आफ्नो समूहको भेला पनि स्थगित गर्ने नेपाल समूहले जानकारी गराएको नेता रावलले बताए। 

गतिरोध हट्ला?

सोमबारको छलफलमा सहमति नभए पनि एमालेले मात्रै राजनीतिक गतिरोध अन्त्य गर्ने कुरामा दुवै समूह सहमत भएको नेता प्रदीप ज्ञवालीले बताए। त्यहीअनुसार सहमति कायम गरेर अघि बढ्नुपर्ने विषयमा समझदारी भएको नेता ज्ञवालीले बताए। 

छलफलमा ओली समूहबाट अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ थिए भने नेपाल समूहबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी थिए।

अर्याल होटलका कुरा

एमाले महासचिव ईश्वर पोखरेल आजको बैठकमा सहमति नभए पनि छलफल जारी रहने बताए। पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताहरुबीच भएको छलफल सकारात्मक भएको बताए।

गत फागुन २८ गतेको निर्णय फिर्ता लिन ओली किन तयार नभएको? भन्ने सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले भने, '२८ गतेको मात्रै होइन, यसबीचमा विभिन्न गतिविधि भएका छन्। अर्याल होटलमा भएका छन्। ४ गते र ७ गतेका बैठकका अनेक विषयहरु छन्।'

ओली पक्षले फागुन २८ गते २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो। त्यसपछि अर्याल होटलमा नेपाल पक्षको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बसेको थियो। बैठकले समानान्तर कमिटी समेत बनाएको थियो।

मतान्तर

दुई पक्षबीचको वार्तामा गत फागुन २८ ओली पक्षले गरेको निर्णयसहित अन्य धेरै विषयमा मतभिन्नता देखिएको छ। बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बैठकमा सबैजसो विषयमा मतान्तर रहेको बताए। 

नेता नेम्वाङले भने, '२८ गते मात्र होइन सबै विषयमा मतान्तर रह्यो।' नेपाल समूहले २८ फागुनमा ओलीले एकलौटी निर्णय गर्दै पदाधिकारीहरु खारेज गरेको भन्दै आपत्ति जनाएको छ।  

प्रचण्डको अभियोग पत्र

नेकपा रहँदाका बेला गत कात्तिक २८ गते तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीविरुद्ध १९ पृष्ठ लामो आरोप पत्र पार्टीमा दर्ता गराएका थिए। जसलाई नेता नेपाल र झलनाथ खनालले पनि समर्थन जनाएका थिए।

ओली र नेपाल समूहको बैठकमा नेकपा तत्कालीन अध्यक्ष पुष्पकमल दाहालले गत कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीविरुद्ध विभिन्‍न संगीन आरोप लगाइएको १९ पृष्ठ राजनीतिक प्रस्तावबारे पनि  कुरा उठेको छ।

प्रधानमन्त्री ओलीले त्यसलाई आफूविरुद्ध प्रचण्डले लगाएको 'अभियोग पत्र' भन्दै आएका छन्। ओली पक्षले सोमबारको छलफलमा उक्त कुरा उठाएको हो। 

बैठकपछि महासचिव पोखरेलले कात्तिक २८ मा प्रचण्डले झलनाथ र माधवको समर्थनमा दर्ता गराएको आरोप पत्रबारे पनि कुरा भएको जानकारी दिए। 

गत भदौ २८ गतेको स्थायी कमिटीपछि नेकपा भित्र मिलेको विवाद प्रचण्डको त्यही आरोप पत्रपछि बल्झिएको थियो। त्यसपछि निरन्तर विवाद चर्किँदै जाँदा पुस ५ मा आफूविरुद्ध अविश्वास प्रस्ताव राख्न लागेको थाहा पाएपछि प्रधानमन्त्रीले संसद विघटन गरिदिएका थिए। 

  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १७:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया