आफैँ प्रधानमन्त्री बन्‍ने बाबुराम भट्टराईको दाउ
आन्तरिकदेखि भारतीय सहयोगसम्म जुटाउने कोसिस

सत्ता गठबन्धनलाई लिएर देशको राजनीतिक तानातानको अवस्थामा छ। २३ फागुनमा सर्वोच्च अदालतले नेकपा खारेज गर्दै साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि देशको राजनीतिक अवस्था सत्ताको खिचातानीमा पुगेर अड्किएको छ।

तीन ठूला पार्टीसहित जनता समाजवादी पार्टी समेत अहिले सत्ताको निर्णायक खेलाडी बनेको छ। जसपाका नेताहरु अहिले मिलेसम्म प्रधानमन्त्री नभए पनि गठबन्धन सरकार वरिष्ठ मन्त्री खाने योजना बनाइरहेका छन्। 

सत्ताको खेल यति रमाइलो भएको छ, जसपाबिना एमाले, कांग्रेस र माओवादी केन्द्रले सरकार बनाउनै सक्ने अवस्था छैन। सत्तामा टिकिरहन प्रधानमन्त्री केपी शर्मा

ओलीलाई जसपाकै साथ चाहिएको छ। अर्कातिर ओली ढालेर सरकारमा जाने दाउमा रहेका कांग्रेस र माओवादी केन्द्रलाई पनि जसपाबिना पाइलो सर्ने अवस्था छैन।

माओवादी केन्द्रले कुनै पनि हालतमा ओलीको बिदाइका लागि आफैँले प्रधानमन्त्री नलिने संकेत गरिसकेको छ। कांग्रेसलाई सत्ताको बागडोर दिन तयार माओवादी केन्द्र त्यसकै लागि जसपालाई फकाउन कम्मर कसेर लागेको छ।

माओवादी केन्द्रले अहिले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता डा.बाबुराम भट्टराईलाई अघि सारेको छ। अर्थात् आफ्नो नेतृत्वमा सरकार नबने देखेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दललाई अघि सारेका छन्, त्यो पनि ओलीलाई सत्ताबाट ढाल्ने शर्तमा।



प्रचण्डको यही आश्वासनले पछिल्लो समय कांग्रेस र जसपा दुईवटै पार्टीका केही नेताले सरकारको नेतृत्व लिन तयार रहेको बताइरहेका छन्। कांग्रेस र जसपा सरकारमा जान अघि बढे पनि त्यहाँ एक मत छैन। नेताहरुबीच अनेक स्वार्थ छन्। त्यहीकारण पार्टीभित्र एक मत नहुँदा यी दुवै दल अनिर्णयको बन्दी बनेका छन्।

सहयोग खोज्दै बाबुराम



सत्ताको यही तानातानमा जसपा अध्यक्ष महन्थ ठाकुर  नेता डा.बाबुराम भट्टराई सकेसम्म आफैँ सत्ताको नेतृत्व गर्ने रणनीतिमा जुटेका छन्। 

खासगरी अहिलेको राजनीतिक तरलताको फाइदा उठाएर प्रधानमन्त्री बन्ने दाउमा डा. भट्टराई देखिएका छन्। यसका लागि उनी आन्तरिकदेखि बाह्य सहयोग जुटाउने कोसिसमा जोडतोडले लागेका छन्। 

त्यो कुराको पुष्टि एउटा एकसाथ धेरैवटा घटनाबाट गर्न सकिन्छ। अर्थात् त्यो लक्ष्यलाई सफल पार्न उनी माओवादी र कांग्रेस नेता मात्रै नभएर भारतका विभिन्न एजेन्सीसँग सम्पर्क बढाएका छन्। 

यही क्रममा उनले आफ्नै पार्टीका केही शीर्ष नेताहरुसँग गोप्य वार्ता गरिरहेका छन्। वार्तासँगै पछिल्लो समय उनी सरकारको कडा आलोचनामा उत्रिएका छन्।

ठाकुरसँग गोप्य वार्ता

प्रधानमन्त्री ओलीलाई पदच्युत गरेपछि आफूलाई प्रधानमन्त्रीका लागि सहयोग माग्दै उनी हिजो ठाकुर निवासमै पुगेका छन्। 

हात्तीवनस्थित अध्यक्ष ठाकुर निवासमा बिहान ११ बजे भेट्न पुगेका डा. भट्टराइले खुलेरै भने, ‘सरकारको नेतृत्वको सवालमा मलाई सहयोग गर्नुपर्यो, नेतृत्व गर्न अफर आइरहेको छ। तपाईंले सहयोग गरेपछि मात्रै त्यो सम्भव छ।’ 

डा. भट्टराईले यसो भनेपछि अध्यक्ष ठाकुरले जवाफ दिए, ‘अहिले त्यस्तो अवस्था आएको छैन, आएपछि गरौंला। स्रोतका अनुसार भेटघाटमा उनले आफूलाई सहयोग गर्ने कुरा गरेसँगै डा. भट्टराई समर्थन गर्नु हुँदैन समेत भनेका थिए। 

बाबुरामकै डिजाइन

यो त भयो हिजोको एउटा घटना। अहिले उनी सरकारको नेतृत्वका लागि माहोल बनाउन जसपाका केही सांसदहरुलाई समेत आफनो पक्षमा लविङ गर्न लागिरहेका छन्। त्यही कारण अहिले सरकारको नेतृत्व अब जसपाले गर्न पाउनुपर्ने आवाज उठिरहेको छ। स्रोत भन्छ, ‘उनकै डिजाइनमा एकाएक जसपा अब सरकारमा जाने मात्रै होइन, नेतृत्व लिने कुरा गरिरहेको छ।’ 

जसपाले नेतृत्व लिन खोजिरहेको सवालमा उनकै वक्तव्य पनि सरकारविरुद्ध आइरहेको छ। पछिल्लो समय उनी भन्न थालेका छन्, ‘प्रधानमन्त्री ओलीको सरकार प्रतिगामी हो,यसलाई हटाउनुपर्छ।’ स्रोतका अनुसार डा.भट्टराईले माओवादी अध्यक्ष प्रचण्डलाई सहयोग गर्न उनकै सहयोगमा यो रणनीतिमा अगाडि आएका छन्।

भारतमा पनि भेट

यसरी आन्तरिक मात्रै नभइ उपचारका क्रममा उनी दिल्लीमा पुगेर उनले भारतको सहयोग लिन खोजे। त्यहाँका शीर्ष नेतासँग भेट्ने प्रयास असफल भए पनि भाजपानिकट केही अधिकारीसँग छलफल गर्न सफल बने। 

स्रोतका अनुसार डा. भट्टराई भारतमा रहँदा भाजपानिकट थिंक ट्यांकका केही पदाधिकारीसँग भेटेका थिए। यसका साथै सुरक्षा एजेन्सीका पूर्व अधिकारीसँग समेत उनले भेटघाट गरेका थिए। 

त्यहाँ केही अधिकारीसँग भेटघाट गरेका उनले भारतीय उच्च तहमा सिधै सन्देश पठाएर समर्थन लिन खोजेको चर्चा राजनीतिक वृत्तमा चलेको छ।

  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार १८:३५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया