सरकार संसद अगाडि बढाउनै चाहँदैन : बालकृष्ण खाँड
फाइल तस्बिर

नेपाली कांग्रेस संघीय संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको बताएका छन् ।

संसदको कार्य व्यवस्था तथा परामर्श समितिको सोमबारको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्य सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको बताएका हुन् । 

संसदको बैठक मंगलबार बस्ने भए पनि सरकारले हालसम्म कुनै बिजिनेस नदिएको उनको भनाइ छ । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भए पनि ती अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको उनले बताए ।

उनले भने, ‘सत्तापक्ष सदनलाई गतिशील गराउने र सदनलाई प्रभावकारी बढाउने मानसिकतामा आजको मितिसम्म छैन । उहाँहरुले विगतमा पनि बजेट सेसनमा अस्वाभाविक रुपमै अन्त्य गर्नुभयो र हिउँदे अधिवेशन बोलाउने बेलामा सदन नै विघटन गर्नु भो । र अहिले न्यायपालिकाले पुन:स्थापना गरिसकेपछि पनि सरकार सदनलाई गम्भीरतापूर्वक सम्बोधन गरेर अगाडि बढाउने मानसिकतामा देखिँदैन । किनकि उहाँहरुले आजको बैठकमा सरकारले अहिलेसम्म कुनै पनि बिजिनेस नै दिएको छैन । अस्ति अगाडि बढाएका अध्यादेशमा संवैधानिक परिषद्को अध्यादेश, संविधानको प्रतिकूल रहेका कारणले हामीले विरोध जनाएका हौं । त्यसमा हामीले विरोधको सूचना पनि दर्ता गरिसकेको छौँ । तर अरु अध्यादेशहरू वास्तवमा सदन चलेको भए सदनबाट अध्यादेशका रुपमा आएका छन् त्यसलाई परिष्कृत गरेर, परिमार्जित गरेर अगाडि बढाउनुपर्ने ठाउँमा ती अध्यादेशहरूलाई अगाडि बढाउने बारेमा पनि सरकार गम्भीर छैन । भोलिको सदनको कार्यसूचीका लागि सरकारले कुनै प्रस्ताव पेस गरेको छैन । कुनै कार्यसूची छैन ।’

मुख्य सचेतक खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलले शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए । उनले भने, ‘सदन प्रारम्भ हुँदा सबै दलले सदनमा शुभकामना आदान-प्रदान गर्ने हाम्रो पुरानो प्रचलन थियो । भोलिको मिटिङमा सबै दलहरुले अहिलेको परिस्थितिका बारेमा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुस् भन्दा पनि सरकारका तर्फबाट शुभकामना मन्तव्य दिनेमा पनि कुनै अभिरुचि जनाउनु भएको छैन ।’

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ । मंगलबारको बैठकको कार्यसूची हालसम्म तय भइसकेका छैनन् ।





  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार २०:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया