महन्थको अडान : यही सरकारमा जाऊँ, उपेन्द्र-बाबुरामको जवाफ : बरु पार्टी फुटोस् ओलीसँग नजाने

सरकारमा जाने कुरालाई लिएर यति बेला जनता समाजवादी पार्टीमा रडाको मच्चिएको छ। सत्तामा जाने कुरालाई जसपाका चार नेता चार दिशातिर उभिएका छन्। 

संसदीय दलको नेता समेत चुन्न नसकेको जसपामा खास गरी अध्यक्ष महन्थ ठाकुर केपी शर्मा ओली नेतृत्वकै सरकारमा जान तम्तयार छन्। तर अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराई कांग्रेस र माओवादीसँग मिलेर सत्तामा जानुपर्ने पक्षमा उभिएका छन्।

यही विवादबीच जसपाका शीर्ष नेताको बैठक सोमबार अपरान्ह बालकुमारीस्थित कार्यालयमा बसेको थियो। सत्तामा जाने विधि र संसदीय दलको नेता चयनका लागि बसेका नेताहरु आज पनि वादविवाद गरेरै उठेका छन्। 

महन्थको रोजाइ ओली

सोमबारको बैठकमा पनि अध्यक्ष ठाकुरले जुनसुकै अवस्थामा पनि ओली नेतृत्वकै सरकारमा जानुपर्ने अडान राखे। उनले अब यही निर्णय कार्यान्वयन हुने विचार राखेका एक नेताले बताएका छन्। 

'अब धेरै सोच्ने कुरा छैन, ओली सरकारमै जाने हो', उनले बैठकमा भने, ' तपाईंहरु विवाद गरिरहनुहुन्छ तर यसमा अब दायाँबायाँ हुँदैन।'



ओली हटाएर जाऊँ : बाबुराम-उपेन्द्र

पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्ध आक्रमक भएका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा महन्थको पक्षमा उभिन तयार देखिएनन्। 



उनीहरु दुवैजनाले बैठकमा एक स्वर बनाउँदै 'बरु पार्टी नै फुटे फुटोस् तर ओली सरकारमा जान सकिँदैन' भन्ने धारणा राखेको जसपाका एकजना नेताले बताए। 

तर उनीहरुको प्रतिवाद गर्दै महन्थले आफूहरुका माग सबैभन्दा राम्ररी ओलीले सुन्ने तर्क गरेका थिए। 'किन अरु कसैसँग दुस्मनी मोल्ने', ठाकुरले बैठकमा भने, 'अब सरकारमा जाऊँ, ढिला नगरौँ।'

सरकारमा जाने विषयलाई लिएर ठाकुरसँग कुरा नमिलेपछि बाबुराम र उपेन्द्र बैठक छाडेर हिँडेका थिए। त्यसपछि आज पनि जसपा शीर्ष नेताबीच सहमति जुटाउने प्रयास विफल हुन पुग्यो। 

जसपमा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीप्रति नरम र नजिक देखिएका छन्। तर बाबुराम र उपेन्द्र भने कुनै हालतमा ओलीलाई सरकारबाट विदा गरेर अर्कैको नेतृत्व या आफैँ नेतृत्व गरेर सरकारमा जाने रणनीतिमा जुटेका छन्। 

  • प्रकाशित मिति : चैत २, २०७७ साेमबार २१:३५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया