रामचन्द्रको आरोप : सभापति ढुलमुले हुँदा कांग्रेस बिग्रियो, राजनीति उल्टो बाटोमा गयो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका निम्ति पार्टीले अब  ढुलमुले नीति त्याग्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित विभिन्न पुरस्कार वितरण समारोहलाई मंगलबार पोखरामा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'लोकतन्त्रप्रति विश्वास र प्रतिवद्ध पार्टी नेपाली कांग्रेसले अब अग्रसरता लिनैपर्छ', उनले भने, 'नेपालमा राजनीतिक संकट छ, प्रधानमन्त्री केपी ओली कताकता लोकतन्त्रप्रति उदासीन भए जस्तो देखिएको छ। संकटको घडीमा विदेशी शक्तिहरुले नेपालमा खेलिरहेका छन्।'

पौडेलले आफ्नो स्वार्थका लागि विदेशीहरुले लोकतन्त्र नै समाप्त पार्ने संकेत पनि देखिएका बताए। 'यस्तो संकटको बेला कांग्रेसले लोकतन्त्र रक्षा गर्नुपर्छ, ढुलमुले नीति लिनु हुँदैन', उनले भने, 'देशको संकटबारेमा काठमाडौँ पुगेर सभापति शेरबहादुर देउवासँग कुरा गर्छु।'

उनले आफू कांग्रेसको निर्णायक पदमा नहुँदा समस्या भएको बताए। 'म सभापति पनि होइन, संसदीय दलको नेता पनि होइन, निर्णायक तहमा पनि छैन', उनले भने, 'मैले त लोकतन्त्र रक्षाका लागि पार्टीभित्र आवाज मात्रै उठाउन सक्छु। तर दु:ख लाग्दो कुरा के छ भने राजनीति उल्टो बाटोतर्फ हिँडिरहेको छ।'

जनता समाजवादी पार्टीका नेताहरुले लोकतन्त्र रक्षाका लागि मिलेर सत्तामा जान भने पनि देउवा नमानेको उनले बताए। 'जनता समाजवादी पार्टीका नेताहरु भन्दै छन्, लोकतन्त्र रक्षाका लागि देउवासँग वार्ता हुँदा पनि उहाँले सरकार गठनमा चासो दिनुभएको छैन', उनले भने, 'लोकतन्त्र समाप्त पार्न विदेशीले खेलिरहेका बेला कांग्रेसले नै सरकारको नेतृत्व लिएर अगाडि बढ्नु पर्ने हो।'

वर्तमान राजनीतिलाई सही दिशा दिन कांग्रेसले पहल गर्नुपर्ने पौडेलले बताए। 'राजनीतिलाई उल्टो बाटोतर्फ जानबाट बचाउनुपर्छ', उनले भने, 'म्यानमारमा जसरी प्रजातन्त्र र शान्तिपूर्ण आन्दोलन दबाउने काम भएको छ, त्यो घातक हो, लोकतन्त्रमाथि आक्रमण गर्न पाइँदैन। नेपालमा पनि त्यस्तै अवस्था आउन सक्छ।' 





  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १२:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया