सेयर बजारमा झिनो सुधार : कारोबार रकम भने घट्यो

साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो सुधार देखिएको  छ । यस दिन समग्र नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.५६ अंकले वृद्धि भएको छ । 

नेप्सेमा मंगलबार निकै उतारचढाव आएको छ । बजार खुल्दा २ हजार ३८८ बिन्दुबाट कारोबार सुरु भएको आजको बजारमा १२.१० मिनेट जाँदासम्म निरन्तर उकालो लागेर नेप्से २ हजार ४१७ विन्दुको नजिक पुग्यो । तर त्यसपछि निरन्तर ओरालो लागेको नेप्से अन्तिम समयमा २.५६ अंकले बढेर २ हजार ३९१.७५ बिन्दुमा बन्द भएको हो ।

त्यसैगरी, बजारको उतारचढामा संवेदनशील रहने कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ०.४४ अंक बढेर ४३०.४९ बिन्दुमा पुगेको छ ।

समग्र नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको नेप्सेले देखाएको छ । सोमबार २१२ ओटा कम्पनीको ५२ हजार ३०९ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार बराबरको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर कारोबार भएको थियो । तर, मंगलबार आज २१४ वटा कम्पनीको ९ लाख १२ हजार कित्ता सेयर कुल ३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ ।

यसअघि गत मंसिरमा मात्रै सेयर बजारमा कारोबार रकम ३ अर्बको हाराहारीमा थियो । त्यसपश्चातको सेयर बजार घट्दा वा बढ्दा पनि कारोबार रकम भने ४ अर्बभन्दा तल झरेको छैन ।

मंगलबार अधिकांश उपसूचक हरियो भएको बजारमा जीवन बिमा समूह २३० अंक, लघुवित्त समूह २७ अंक र उत्पादन समूह २३ अंकले बढ्नुबाहेक अन्य समूहमा उल्लेख्य सुधार आउन सकेको छैन । त्यस्तै, व्यापार समूह ७२ अंक, निर्जीवन बिमा समूह ६२ अंक, हाइड्रोपावर ३१ अंक र अन्य समूहको सूचक २० अंकले घटेको छ ।   
पछिल्लो समय सेयर बजारमा उच्च उतारचढाव आउनु ‘टुरिस्ट’ खालका लगानीकर्ता हाबी भएकाले सेयर बजारमा नकारात्मक प्रभाव परेको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । ‘अहिले सेयर बजारमा अलिकति कमाउने बित्तिकै बिक्री गर्ने टुरिस्ट किसिमका लगानीकर्ता हाबी भएका छन्,’ उनले भनिन्, ‘धैर्य नगर्ने र थोरै घट्दा अझै घट्छ भनेर सेयर बिक्री गर्न थाल्दा समस्या आएको हो ।’



पुराना लगानीकर्ताले सेयर बजार उकालो लाग्दा पनि धेरै नमात्तिने र घट्दा पनि धेरै हतार गर्दैनन् । तर, नयाँ लगानीकर्ता भने थोरै बजार घट्दा पनि हतारिएर फ्याँक्ने भएकाले समस्या भएको अध्यक्ष पोखरेलको भनाइ छ ।

साना लगानीकर्ता निराश भएका बेला ठूला लगानीकर्ताले सम्भावना देखेर छानीछानी राम्रा-राम्रा कम्पनीको सेयर उठाउँदै छन् । राम्रा कम्पनीको सेयर धितोमा राखेर कर्जा प्रवाह गर्न पाउँदा बैंकहरू पनि निकै खुसी छन् । हाल २६४० बिन्दु नजिक पुगेको नेप्से घटेर २३९१.७५ बिन्दुमा आउनुलाई ठूला लगानीकर्ताले अवसरका रूपमा लिइएको पाइएको छ । सेयर बजार उकालो लाग्ने सम्भावना देखेकाले पनि सेयर खरिद गर्न उपयुक्त समय भएको तर्क सेयर विश्लेषकहरूले दिन थालेका छन् ।



यस्तै, आगामी बजेटसम्ममा वा त्योभन्दा पहिले नै सेयरका सुधारका कार्यक्रम राख्ने तयारीमा सरकार जुटेको छ । त्यसैले पनि ठूला लगानीकर्ता सेयर खरिद गर्ने मनस्थितिमा पुगेका छन् ।

  • प्रकाशित मिति : चैत ३, २०७७ मंगलबार १६:२७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया