नेकपा एमालेका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूहरुको उद्धेश्य विभाजन नरहेको बताएका छन्। ललितपुरको सानेपामा जारी माधव नेपाल समूहको राष्ट्रिय भेलाको पहिलो दिनको सत्रपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले यसो भनेका हुन्।
'यो भेला छुट्टिएर अलग्गै पार्टी बनाएर जान गरिएको होइन, यो मिल्ने उद्देश्यसहित गरिएको हो', उनले भने, 'हामी केपी ओलीसँग मिलेर जाने कुरामै संघर्षरत छौँ। एमालेबाट छुट्टिन गरिएको होइन यो कार्यक्रम, त्यसो भए त अलग्गै ब्यानरमा हुने थियो। यो पार्टी निर्माण गर्न हामीले ठूलो भूमिका खेलेका छौँ।'
उनले एमालेलाई फुट्न नदिने पनि तर्क गरे। 'यो पार्टी फुट्न हामी दिँदैनौँ, यो भेला हाम्रो पार्टीको सुदृढ एकताका लागि राखिएको हो', उनले भने, 'तर हामीले सर्वोच्चको फैसला अनुसार मिल्ने बिन्दु २०७५ जेठ २ लाई नै बनाउनुपर्छ भनेका छौँ।'
नेता भट्टराईले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन फिर्ता नगरिएको पनि बताएका छन्। 'कर्णाली प्रदेशमा एमाले र माओवादी सम्मिलित सरकार छ', उनले भने, 'त्यो सरकारप्रतिको समर्थन अहिलेसम्म कायम छ। फिर्ता भइसकेको छैन।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।