मछिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक फाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करण’ को बुधबार भएको पहिलो सेमिफाइनलमा लिग विजेता मछिन्द्रलाई स्तब्ध बनाउँदै आयोजक रिगल रिर्सोट मकवानपुर ११ फाइनलमा पुगेको छ । रोमाञ्चक खेलमा ४–३ को गोल अन्तरले मछिन्द्रलाई हराउँदै मकवानपुर ११ ले घरेलु मैदानमा फाइनल खेल्ने पक्का भएको हो ।

डिफेन्डिङ च्याम्पिएन मकवानपुर ११ को जितका लागि म्यान अफ द म्याच भएका अमिर श्रेष्ठले उत्कृष्ट प्रदर्शनसँगै दुई गोल गरेका थिए । श्रेष्ठले खेलको ४७ औं मिनेट र ६८ मिनेटमा गोल गरेका हुन् । सुरुवाती अग्रता लिएको मन्छिन्द्रका लागि पुजन उपरकोट पासमा ९ औं मिनेटमा गोल गरेर खाता खोलेका थिए । मकवानपुर ११ का लागि रुपेश केसीले २० मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य समेत रहेको रञ्जन विष्टले ३४ औं मिनेटमा गोल गरी अग्रता बनाएका थिए भने अमिर श्रेष्ठले ४७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बढाए तापनि  मछिन्द्रका अशोक थापाको ५० मिनेटमा र राजेश परियारले ५९ मिनेटमा गोल गरेर खेल फेरि बराबरीमा ल्याएका थिए । तर  मकवानपुर ११ का तर्फबाट अमिर श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै ६८ मिनेटमा गोल गरेपछि खेलको नतिजा आयोजकको पक्षमा आएको हो ।

खेलपछि प्रतिक्रिया दिँदै मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले खेलाडीहरूले सोचे अनुसार खेल्न नसकेको बताए । क्लबका अनुभवी खेलाडीहरू मैदानमा नहुँदा सोचेअनुसार खेल्न नसकेको भन्दै खेलाडीहरू मार्किङमा लगातार गल्ती गरेको बताए ।

यस्तै फाइनल पुगेको टिम मकवानपुर ११ का प्रशिक्षक विजयलाल श्रेष्ठले टिममा रहेका खेलाडीहरु निरन्तर विभिन्न प्रतियोगिता खेलिरहेकाले अपेक्षित प्रदर्शन नगरे तापनि स्कोर आफ्नो पक्षमा ल्याएको बताए । उनले फाइनल खेलमा अभै सशक्त रणनीति र तयारी गर्ने बताए ।

भोलि विभागीय टिम त्रिभुवन आर्मी क्लब र विदेशी टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (अरास) बीच दोस्रो सेमिफाइनल हुनेछ ।





  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १९:६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया