पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुले दोस्रो डोजको खोप वैशाख ७ गतेदेखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । गत माघ १४ गतेदेखि पहिलो चरणमा खोप लगाएका व्यक्तिका लागि दोस्रो डोज लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि ११ गतेसम्म प्रदान गर्ने जनाएको छ । यसका लागि तयारी थालिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले वैशाख ७ देखि ११ गतेसम्म गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका व्यक्तिहरुका लागि दोस्रो मात्राको खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।
सरकारले पहिलो चरणको खोप अभियानमा भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप लगाएको थियो । पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए ।
मन्त्रालयले दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचना पछि प्रकाशन गरिने जनाएको छ । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।