नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी सञ्चालनको कुनै पनि ज्ञान नभएको बताएका छन्। अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधनका क्रममा गौतमले यस्तो भनेका हुन्।
उनले २०७५ जेठ ३ गते दुई पार्टी मिलेर नेकपा बनेपछि प्रधानमन्त्री ओलीमा कम्युनिष्ट सिद्धान्त बाहिरको चरित्र देखिएको पनि आरोप लगाए। 'पार्टी एकता भएपछि केपी ओलीको व्यवहार कम्युनिष्ट पार्टीको सिद्धान्त विपरीत भएन', उनले भने, 'झापाबाट भागेपछि रौतहटमा पक्राउ परेर १४ वर्ष जेल परेको कठोर यातना भोगेको हो। अनेक अनेक किसिमका पीडा दिएर उहाँलाई गोलघरमा राखिएको थियो।'
केपी ओली जेलमा लामो समय बसेर एकैचोटी केन्द्रीय नेतृत्वमा पुगेकाले पार्टी सञ्चालनको कुनै ज्ञान नभएको पनि उनले बताए। 'लामो समय जेल बसेपछि एकै चोटी केन्द्रीय कमिटीमा पुग्नु भयो। त्यसैले उहाँसँग कुनै ज्ञान नै भएन। कार्यकर्ता संरक्षण र प्रवर्द्धनमा कुनै ज्ञान छैन', उनले भने, 'उनीभन्दा प्रचण्ड धेरै अब्बल छन्। पार्टी सञ्चालनको ज्ञानका लागि म केपी ओलीलाई सयमा जिरो र प्रचण्डलाई १० नम्बर दिन्छु।'
गौतमले केपी ओलीसँग तिगडम र जालझेल भन्दा अरु केही नभएको बताए। 'जालझेल तिगडम भन्दा केपी ओलीमा अरु केही नै छैन। सरकार एक वर्ष राम्ररी चल्यो होला तर दुई वर्ष अराजकतामा बित्यो', उनले भने, 'हामी सबै मिलेर घोषणा पत्र तयार गरेका हौँ तर उनले घोषणापत्र अनुसार कुनै पनि काम गर्नै सकेनन्।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।