वामदेवको प्रश्‍न : पार्टी फुटाउने केपी, प्रचण्ड र माधव, दोषजति मलाई ?
फरकधार / ६ चैत, २०७७

नेकपा एमालेका एकजना नेता वामदेव गौतमले केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको द्वन्द्वका कारण भएको पार्टी विभाजनको दोष आफूलाई दिन खोजिएको भन्दै आक्रोश पोखेका छन्। 



नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा बोल्दै गौतमले यस्तो बताएका हुन्। यसअघि नेकपा र एमाले एकताको अभियानमा थिए। उनी धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा भइरहेको महासंघको भेलामा उपस्थित भएर बोलेका हुन्। 

उनले नेकपामा शक्ति संघर्ष चल्दा आफैंले २ पटकसम्म अविश्वास प्रस्ताव फेल गरिदिएको पनि बताएका छन्। 'मैले नै ओलीविरुद्धको अविश्वास प्रस्ताव दुई पटकसम्म फेल गरिदिएको थिएँ। तर मलाई केपी ओली र प्रचण्डका मान्छेले वामदेवले नै पार्टी विभाजन गर्यो भने', उनले भने, 'पुस ५ भन्दा अगाडि दुईवटा अविश्वास प्रस्ताव मैले नै फेल गरिदिएको हुँ।'

पुस ४ को घटना स्मरण गर्दै उनले आफूले त्यसअघि नै गुटबन्दी छाडेको सुनाए। 'म गुटबन्दीमा जान छाडेको थिएँ। जे सल्लाह हुन्छ भन्नु भनेको थिएँ। पुस ४ गते उहाँहरुले बोलाउनुभयो। त्यो बेला केपी ओली, प्रचण्ड र म बसेको थिएँ', उनले भने, '
त्यहाँ केपी ओलीले प्रचण्डलाई तपाईं पार्टी एकताको पक्षमा हुनुहुँदो रहेनछ भन्नु भयो। त्यहीँ तपाईंले मलाई अविश्वास राखेर प्रधानमन्त्री बाट हटाउनुहुन्छ, त्यसपछि पार्टीबाट हटाउनुहुन्छ भन्नु भयो। तपाईंहरूले जुन हतियार चलाउनुहुन्छ त्यो भन्दा ठूलो हतियार म चलाउँछु भनेको अहिले पनि सम्झिरहेको छु।'



त्यहीँ प्रचण्डले एकता नरहे केही नहुने बताएको पनि उनले सुनाए। 'एकता नरहे के हुन्छ भनेका थिए प्रचण्डले, माधवले त फुटे फुट्छ म अत्याचार सहन सक्दिनँ भनेका थिए', उनले भने, '२०५४ सालमा एमाले  फुट्नुअघि हामीलाई पार्टीबाट निष्कासन गरिदिएका थिए। तर अहिले त त्यस्तो परिस्थिति थिएन र छैन।'

  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार १५:३:४७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया