निजी क्षेत्रले सरकारको प्रभावकारी कदमका कारण कोभिड महामारीका कारण थला परेको अर्थतन्त्र चाँडै तङ्ग्रिन पाएको बताएका छन्।
बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफल कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले सरकारको प्रभावकारी नीतिले उद्योग वाणिज्य क्षेत्रमा सकारात्मक प्रभाव परेको बताएका हुन्।
उनीहरुले लगानी र व्यवसायीमैत्री नीति-कार्यक्रमको अझै अभाव रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण पनि गराएका छन्। उनीहरुले सरकारको कामको प्रशंसा पनि गरे। तर राम्रा नीति-कार्यक्रम पनि चाहिएकोमा जोड दिए।
उक्त कार्यक्रममा आफ्ना भनाइ राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रभावकारी पहलकदमी लिएकै करिब एक वर्ष लामो कोरोना कहर चिर्दै नेपालको अर्थतन्त्र तंग्रिन सकेको बताए।
'पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीका लागि रकमको माग बढेको छ। यसले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ', उनले भने, 'नेपाल राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कार्यविधिले लघु, साना एवम् मझौलालाई ठूलो राहत दिएको छ।'
उनले नेपालमा यति चाँडै कोभिडको भ्याक्सिन ल्याएकाले पनि अर्थतन्त्रमा विश्वास बढाएको बताए। 'सरकारले छिटै कोभिडविरुद्ध खोप ल्याएको छ। यसले व्यवसायीलाई उत्साहित बनायो', उनले थपे, 'कोरोना कहरबाट उठेर अब लगानी र व्यापारको वातावरण बनेको देखिँदैछ। बैंकको तरलता घटेको कुराले पनि यो संकेत गरेको छ। अब विस्तारै औद्योगिक वातावरण बन्दैछ। यो सबै सरकारकै प्रभावकारी पहलबाट सम्भव भएको हो।'
कोरोनाका कारण उद्योग र पर्यटन क्षेत्र अझै पूर्ण रुपमा उठिनसकेको पनि उनले प्रधानमन्त्रीलाई सम्झाए। गोल्छाले सरकारबाट अझै पनि राहतका कार्यक्रमको अपेक्षा राखे।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले उद्योग बढाउन, व्यापारमा सहजीकरण गर्दै स्वदेशी उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनका लागि अझै पनि सरकारी पहललाई प्रभावकारी रुपमा लान सक्नुपर्ने उल्लेख गरे।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारले सही निर्णय लिएर अघि बढ्नुपर्ने सुझाव दिए। 'यो बेलामा सही निर्णय लिएर अघि बढ्न सके देशमा विकासको लहर आउन सक्छ', उनले भने, 'प्रधानमन्त्रीको योजनाअनुसार काम अघि बढेमा १० वर्षमै नेपालले काँचुली फेर्न सक्छ।'
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा रहेको वैदेशिक व्यापार घाटालाई घटाउन सकेमा राम्रो हुने बताए। उनले त्यसका लागि आन्तरिक उत्पादन बढाउने नीति लिन सुझाव दिए।
लघु, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले कोरोनाका कारण साना उद्योगीहरु थला नै परेको बताए। उनले देशभर २ लाख ४१ हजार साना र घरेलु उद्योग संकटग्रस्त भएको भन्दै उचित राहत दिन माग गरे।
सिएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओलीको नीति र भिजन अनुसार अघि बढ्न सके देश चाँडै समृद्ध हुने बताए। 'प्रधानमन्त्रीले लिएको नीति अनुसार अघि बढे देश समृद्ध हुन धेरै समय कुर्नुपर्दैन', उनले भने, 'उद्योगीलाई केही कानुनी झन्झट छन्, तिनलाई सहजीकरण गरिदिए निजी क्षेत्र उत्साहित भएर लगानी बढाउँछ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।