\
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई पुनःस्थापित गरिदिएपछि अहिले नयाँ सत्ता समीकरणका लागि रस्साकस्सी चलिरहेको छ । नयाँ समीकरणका लागि यतिबेला दौडधूप बढेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नयाँ सरकार बनाउनका लागि सत्तारुढ नेकपा एमाले बाहेकका सबै पार्टी सक्रिय रहेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस समीकरणको नेतृत्व गर्ने दाउमा रहेको छ ।
जसका लागि सबैभन्दा बढी हतारोमा माओवादी केन्द्र देखिएको छ । अदालतले एमालेसँगको पार्टी एकीकरण खारेज गरिदिएपछि प्रतिपक्ष बन्न पुगेको माओवादी नयाँ सरकार बनाउनका लागि सबैभन्दा बढी क्रियाशील बनेको छ ।
प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउनका लागि र प्रतिपक्षी दलहरुलाई नयाँ सरकार बनाउनका लागि मुख्य भूमिकामा भने जनता समाजवादी पार्टी देखिएको छ ।
यही पृष्ठभूमिका कारण जसपालाई फकाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना विश्वासपात्र वर्षमान पुनलाई जसपा अध्यक्ष महन्थ ठाकुरको निवासमै भेट्न पठाएका छन् । शुक्रबार अबेर पुन प्रचण्डको दूत बनेर ठाकुर निवासमा पुगेका हुन् ।
नयाँ सत्ता समीकरणका लागि आफूहरुलाई सघाउनका लागि प्रचण्डको आग्रहसहितको सन्देश बोकेर पुन कौशलटारस्थित ठाकुर निवासमा पुगेका थिए । तर, ठाकुरले प्रचण्डलाई नयाँ समीकरणका लागि ढुक्क भने नबनाएको स्रोत बताउँछ ।
अध्यक्ष ठाकुरले नयाँ समीकरणमा भन्दा आफ्ना मागहरु अहिलेकै सरकारसँग पूरा गराउन सजिलो देखिएको भावमा पुनसँग कुरा गरेका छन् । उनले आफूहरु ओलीसँगै कम्फर्ट जोनमा रहने संकेत गरेका छन् ।
अहिले जसपामा ओलीको समर्थन र विरोधी गरी दुई धार बन्न पुगेको छ । एकतापूर्वको राजपा समूह ओलीको पक्षमा देखिएको छ भने संघीय समाजवादी ओलीको विपक्षमा देखिएको छ ।
अहिलेको सत्ता टिकाउनका लागि अथवा ढालेर नयाँ सरकार बनाउनका लागि जसपाको प्रमुख भूमिका देखिएपछि पार्टीमा किचलो बढ्दै गएको छ । अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको ओलीप्रति लचक देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीलाई कुनै हालतमा बिदा गर्ने पक्षमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।