काठमाडौं : सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सांसद हटाउने अधिकार पनि आफैँमा लिएका छन्। बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार अध्यक्षलाई दिएको हो।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले संसदीय दलका नेता ओलीलाई अझै शक्तिशाली बनाउँदै समानुपातिक सांसदलाई हटाउन सक्ने अधिकार दिएको हो। यसबारेको जानकारी पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि दिएका छन्।
संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरफेर गर्ने अधिकार पनि पार्टी अध्यक्षलाई नै प्रत्यायोजन गर्ने निर्णय गरिएको ज्ञवालीले बताए।
बैठकमा सातवटा एजेण्डा पेश भएका थिए। जसमा वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसालसहितलाई स्पष्टीकरण पनि सोधिएको छ। त्यस्तै बैठकले एमालेको विधानलाई पनि संशोधन गर्ने दलको निर्णय अनुमोदन गरेको छ।
‘संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ,’ बैठकपछि प्रवक्ता ज्ञवालीले भने।
यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाई, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षमा प्रत्यायोजन गरिएको छ।
पार्टी केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेपछि दलको विधान आजैबाट लागू भएको छ। पारित भएको विधान अनुसार अबदेखि एमाले संसदीय दलको नेता प्रतिनिधिसभाका सदस्यहरुले मात्रै निर्वाचित गर्न पाउने भएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।