नेप्से पुनः २५ सय बिन्दु माथि उक्लियो

पछिल्ला दिनमा सेयर बजार पुनः बढ्दो क्रममा रहेको छ । केही दिन अघिसम्म घटिरहेको बजार पुनः बढ्दो क्रममा देखिएको हो । पछिल्ला केही दिन बढ्दो क्रममा रहेको बजारलाई आइतबार रकमले पनि साथ दिएको छ ।

कारोबारका पछिल्ला दुई दिनमा नेप्से परिसूचक उकालो लागे पनि रकममा वृद्धि नभएकाले लगानीकर्ता बजार फर्किएकै हो भन्ने कुरामा निश्चित हुन सकेका थिएनन् । तर, आज नेप्सेको वृद्धिलाई कारोबार रकम (भोल्युम) पनि साथ दिएको छ । यसले गर्दा लगानीकर्ता बजार फर्किएकै हो भन्ने कुरामा करिब ९५ प्रतिशत पक्का भइरहेका छन् ।

‘पछिल्ला दिनमा बजार बढे पनि लगानीकर्ताहरू ५ अर्बभन्दा बढी भोल्युमको पर्खाइमा थिए,’ एक विश्लेषकले बताए, ‘र आज त्यो भोल्युम आएको छ । त्यसैले, अब बजार फर्किएकै हो भन्नेमा लगानीकर्ताहरू करिब निश्चित नै भइसकेका छन् ।’

साताको पहिलो दिन आइतबार सेयर बजार २५ सय अंक माथि पुगेको छ । गत फागुन २० गते २५०० अंक पार गरेको नेप्से सूचक त्यसयता निरन्तर ओरालो लाग्दै २३९० अंकसम्म झरेको थियो । तर १७ दिनपछि सूचक पुनः २५ सय अंक माथि पुगेको छ । गत फागुन २० मा नेप्से २५०६ को विन्दुमा थियो । 

यस दिन नेप्से परिसूचक २.५६ प्रतिशतले बढेर २५३८.४७ बिन्दुमा बजार बन्द भएको छ । नेप्से परिसूचक बढेसँगै सेन्सेटिभ इन्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ ।

यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानी कर्ताहरू उत्साहित भएको छन् । 



सबै उपसमूहका परिसूचक हरियो

यस दिन कारोबारमा आएका सबै उपसमूहका परिसूचक बढेका छन् । जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको ५.३६ प्रतिशत, निर्जीवन बिमाको ४.५९ प्रतिशत र जीवन बिमाको ४.४४ प्रतिशत बढेको छ ।



कारोबार रकमका आधारमा यस दिन नेपाल बङ्गलादेश बैंकको शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३९ करोड ९० लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार १८:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया