नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आइतबार आफूनिकट नेताहरुसँग छलफल गरेका छन् । सोमबार तय भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकको अघिल्लो दिन पौडेल समूहको बैठक बसेको हो ।
पौडेल निवास बोहोराटारमा गरिएको उक्त छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरू रामशरण महत, मीनेन्द्र रिजाललगायत सहभागी रहेको स्रोतको भनाइ छ ।
के-के भयो छलफल ?
बैठकमा १४औँ महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको कांग्रेस महामन्त्री डा.शंशाक कोइरालाले जानकारी दिए । फरकधारसँग कुरा गर्दै उनले सभापति देउवाले भोलि राखेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा कसरी जाने भन्नेबारे सल्लाहका लागि आज बैठक राखिएको हो ।
खासगरी १४औँ महाधिवेशनमा आफ्नो टिमको तर्फबाट कसरी जाने भन्नेबारे रणनीति तय गर्न छलफल राखिएको बुझिएको छ । छलफलमा सहभागी एक नेताका अनुसार सबैले एकजुट भएर महाधिवेशनमा जान वरिष्ठ नेता पौडेललाई सुझाब दिएको बताए ।
कांग्रेसले १४औँ महाधिवेशनको मिति भदौ ७ का लागि तोकेको छ । तर, त्यसका लागि आवश्यक तयारी नभएको पौडेल पक्षको निष्कर्ष छ ।
छलफलको अर्को एजेण्डा थियो, प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउनका लागि अन्य दलले अग्रसरता देखाए पनि कांग्रेस सभापति देउवाले अग्रसरता नदेखाएकोबारे । यस विषयमा पदाधिकारी बैठकमा जोडदार रुपमा कुरा उठाउने सहमति भएको बैठकमा सहभागी नेताको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।