सुधार गृहमा दिनेशको बयान : भागरथीको हत्या मैले होइन, सरकारी कर्मचारीले गरे
प्रहरी भन्छ : हत्यामा उनकै संलग्‍नता पुष्टि भइसकेको छ

काठमाडौं : बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा सुधार गृहमा रहेका बैतडीका दिनेश भट्टले बयान फेरेका छन्। जिल्ला अदालत बैतडीको आदेशपछि सुधार गृहमा रहेका १६ वर्षीय दिनेशले आफूलाई भेट्न आएका बाबुसँग यस्तो बताएका हुन्। 

सुधार केन्द्रमा भेट्न आएका बाबु दीपक भट्टसँग उनले आफूले भागरथीको ज्यान नलिएको भन्दै मार्ने धम्की दिएर घटना कबोल गर्न लगाएको बताएका हुन्। 

'भागरथीलाई आफूलाई नमारेको भन्दै प्रहरीले घाँटीमा चक्कु राखेर घटना स्वीकार गर्न लगाएको छोराले मसँग बताएको छ', उनले भने आइतवार भने। उनी दिनेशलाई भेट्न शनिबार सुधार गृहमा गएका थिए ।

दिनेशले आफूसँगको कुराकानीका क्रममा दोगडाकेदार गाउँपालिकाका एकजना प्राविधिक कर्मचारी र अर्का गाउँकै व्यक्तिले भागरथीको हत्या गरेको बताएको उनले उल्लेख गरेका छन्। 

‘मैले भागरथी दिदीको हत्या गरेको होइन। हत्या गर्ने एकजना गाउँपालिकाकै एकजना कर्मचारी हुन्, कार्की थरका हुन्', उनले बाबुसँग भनेका छन्, 'अर्को एकजनालाई मैले चिनेको छैन।’

दिनेशले बुवासँग यस्तो बताएको कुरा आएपछि प्रहरीले भने घटनालाई अन्तै मोड्ने प्रयास भएको जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले तथ्य-प्रमाणले भागरथी बलात्कार र हत्यामा दिनेशकै संलग्नता पुष्टि भइसकेको जानकारी दिए।



‘आवश्यक तथ्य र प्रमाणकै आधारमा अदालतले पनि उनलाई बाल सुधार गृह कोठीमा पुर्पक्षका लागि पठाएको हो। अहिले बयान फेरेर कुनै अर्थ हुँदैन', उनले भने, 'सबै तथ्यले उसैलाई दोषी देखाएको छ। हामीले उसले बुवासँग के बोल्यो भन्ने भन्दा तथ्यले के बोल्छ? त्यो हेर्ने हो। तथ्यले सबै दिनेशबारे बोलेको छ।'

उनले अनुसन्धानका क्रममा कसैको घाँटीमा तरबार या खुकुरी राखेको कुरा गलत भएको बताएका छन्। 'कसैले पनि घाँटीमा तरबार राख्‍ने काम गरेको छैन। त्यहाँ तथ्य आफैं बोलिसकेको छ, तथ्यका लागि कुनै मान्छेले बोल्न पर्दैन', उनले भने, 'भागरथीले लगाएको घडीबारे अरु कसैलाई थाहा थिएन, उसैलाई थाहा थियो। अन्य प्रमाण पनि भेटिएका छन्।'



दिनेश र उनका परिवारले घटनालाई जबरजस्ती ट्विस्ट गर्न खोजेको उनले बताए। 'उनीहरुले घटनाबारे ट्वीस्ट गर्ने दुष्प्रयास गरेका हुनसक्छन्', सिंहले भने, 'तथ्य र प्रमाणले अकाट्य हुने गरी दिनेशकै घटनामा संलग्न देखाइसकेको छ।'

बैतडीकै सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश त्यही विद्यालय कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका नाताले दिदी भाइ हुन्। भागरथी हत्यामा संलग्न अभियुक्त दिनेश नै रहेकोबारे पत्ता लगाउने दुई प्रहरी बढुवा भइसकेका छन्। अन्य तीनजनालाई पनि पुरस्कृत गरिएको छ। 

भागरथी हत्याको अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका असई पदमबहादुर थापा र इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा एक तह बढुवा भएका छन्। 

प्रहरी प्रधान कार्यालयले घटनाका अभियुक्त पक्रन सफल भएको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम राज सुवेदीसहित पाँचजनालाई नगदसहित सम्मान गरेको छ। 

यसअघि दिनेशले पारिवारिक रिसिबीका कारण प्रतिशोध लिन बलात्कारपछि हत्या गरेको बताएका थिए। बलात्कारपछि भागरथीले अपराध खोलिदिने डरले दिनेशले घाँटी थिचेर हत्या गरेको प्रहरीमा दिएका थिए।

गत माघ २१ गते विद्यालयबाट घर फर्किँदै गर्दा भागरथी हराएकी थिइन्। उनी नभेटिएपछि माघ २२ गते स्थानीय लबलेक जङ्गलमा उनको शव निर्वस्त्र अवस्थामा भेटिएको थियो।

प्रहरीले घटनाको कठिन अनुसन्धानपछि दिनेशलाई थत फागुन ४ गते पक्राउ गरेको थियो। उनलाई प्रहरीले जिल्ला अदालतबाट चार पटक ५-५ दिनका लागि म्याद थपेर अनुसन्धान गरेको थियो । दिनेशले अपराध स्वीकारिसकेका छन् भने उनले अपराध गरेका अनेक प्रमाण भेटिएको प्रहरीले जनाएको छ। 

भिडियो

  • प्रकाशित मिति : चैत ८, २०७७ आइतबार २१:१८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया