किसान महासंघ आफ्नै नेतृत्वमा कायम रहेको वामदेवको दाबी

नेकपा एमालेका नेता वामदेव गौतमले अखिल नेपाल किसान महासंघका नाममा गुटगत भेला भएको भन्दै त्यसप्रति खेद व्यक्त गरेका छन् । महासंघका कार्यालय सचिव डिबी कार्कीले सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशल पार्टीलाई ०७५ साल जेठ ३ गतेअघिको अवस्थामा पुर्याएपछि स्वतः पुरानो समितिले आधिकारिकता पाएको दाबी गरेका छन् ।  

नेपालका ठूला दुई कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ०७५ साल जेठ ३ गते एकीकरण भएका थिए । एकीकरणपश्चात दुवै पार्टीका जनसंगठनहरु पनि एकीकरण भएका थिए ।

नेकपा एमले र माओवादी केन्द्र सर्वोच्चको आदेशपछि पुरानै अवस्थामा फर्किएकाले नेकपा (एमाले)सँग आबद्ध अखिल नेपाल किसान महासंघ पनि पूर्ववत् अवस्थामा पुनः स्थापना भएको गौतमको दाबी छ । सोहीअनुरुप चैत ६ गते महासंघको केन्द्रीय कार्यसम्पादन समितिको बैठक गौतमकै अध्यक्षतामा सम्पन्न भएको विज्ञप्तिमा जनाइएको छ । 

‘उक्त बैठकले यथाशीघ्र राष्ट्रिय समितिको बैठक बोलाउने तय गरिरहेको अवस्थामा कुनै गुट विषेशबाट अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेला गरेको भन्ने कुरा समाचार माध्यामबाट जानकारी भएकोले अनाधिकृत रुपमा एमालेको आधिकारिक किसान महासंघ र छैठौँ महासम्मेलनबाट निर्वाचित कमिटीविरुद्ध गुट बनाउने, विभाजन गर्ने काम खेद जन्य रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गलत क्रियाकलापबाट सतर्क रहन र छैटौँ महासम्मेलनबाट निर्वाचित अखिल नेपाल किसान महासंघको नेतृत्वमा बनेका सम्पूर्ण कमिटी र कमिटीमा आबद्ध सबै तहका नेता, कार्यकर्ता, सदस्यहरु अध्यक्ष कमरेड वामदेव गौतमकै नेतृत्वमा रहेको महासंघ नै एमालेको आधिकारिक  महासंघ भएकाले, यसको विधानले व्यवस्था गरेअनुसार गर्न–गराउन सबैमा जानकारी गराइन्छ ।’ 





  • प्रकाशित मिति : चैत ९, २०७७ साेमबार १८:३९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया