विप्लवको दौडधुप : वैद्यसँग एकीकरणका कुरा, बादल र मणिसँग सम्झौताबारे प्रश्‍न
दुई हप्ता सुस्ताएपछि फेरि सक्रिय

फागुन २१ मा सरकारबाट प्रतिबन्ध फुकुवा भएसँगै सार्वजनिक भएका नेत्रविक्रम चन्द 'विप्लव'लाई जेलमा रहेका नेता कार्यकर्ताको चिन्ताले सताउन थालेको छ। सरकारसँग भएको तीन बुँदे सम्झौता अनुसार नेता कार्यकर्ता रिहा नभएपछि उनी सरकारी अधिकारीसँग सघन छलफलमा जुटेका हुन्। 

राष्ट्रियसभा गृहमा २१ फागुनमा सार्वजनिक भएपछि उनले सम्झौता अनुसार हेमन्त प्रकाश ओली र माइला लामासहितका नेताहरु जेलबाट छुट्ने अपेक्षा गरेका थिए।  त्यही अपेक्षा अनुसार उनी गृह जिल्ला कपिलवस्तुतिर लागे।

तर सरकारले सम्झौता अनुसार आफ्ना नेता कार्यकर्ता नछाडेपछि उनले मन दुखाएका छन्। २५ फागुनसम्म ​सार्वजनिक कार्यक्रममा देखा परेका उनी करिब २ हप्ता गुमनाम रहे। कपिलवस्तुको शिवगढीमा आयोजित सार्वजनिक कार्यक्रमपछि उनी झण्डै दुई हप्ता सुस्ताएका थिए। 

सार्वजनिक हुनेबित्तिकै राजनीतिक व्यस्तता बढाएका विप्लवले दुई साताको विश्रामपछि भेटघाटमा सक्रियता बढाएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका उनले मंगलबार दिनभर सरकारका मन्त्रीदेखि विभिन्न नेतालाई भेट गरे ।  

विप्लवले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’सँग आजै राजधानीमा भेटेका छन्। गत १४ पुसमा विप्लवसहितका ४ साना दलले रणनीतिक मोर्चा बनाएका थिए । वैद्यसँगको भेटमा उनले रणनीतिक संयुक्त मोर्चाको आगामी जिम्मेवारी र कार्यक्रम कसरी अगाडि बढाउने भन्नेबारे छलफल गरेको बताइएको छ ।

‘संयुक्त मोर्चाको नीतिगत र सैद्धान्तिक पक्षमा छलफल भएको मैले बुझेको छु,’ विप्लवनिकट एक नेताले फरकधारसँग भने,‘भेटमा रणनीतिक संयुक्त मोर्चाको संरचना, नेतृत्व र नेतृत्व प्रणालीबारे छलफल हुनुको साथै क्रान्तिकारी कम्युनिस्टहरूलाई एकीकृत र ध्रुवीकरण गर्ने विषयमा छलफल भएको छ ।’



त्यसपछि विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितको टोली गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न मन्त्री निवास पुल्चोक पुगेको थियो । विप्लवले २१ फागुनमा भएको सहमति कार्यान्वयन छिटोभन्दा छिटो गर्नका लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । आफ्ना पक्षका नेताहरुलाई चाँडोभन्दा चाँडो रिहाइ गर्ने सहमति स्मरण गराउँदै त्यसमा गम्भीर भएर तत्काल सहमति पूरा गर्न विप्लवले माग गरेको ती नेताले बताए । 

बादलसँगको भेटवार्तापछि विप्लवको भेट खानेपानी मन्त्री मणि थापासँग भयो। ‘पुल्चोकस्थित मन्त्री क्वार्टरमै पुगेपछि उहाँ (मणि थापा) पनि त्यहीँ हुनुहुन्छ भनेपछि प्रसंगवश भेटघाट भएको हो,’ ती नेताले भने । 



विप्लवसँग सरकारको वार्ता गराउन पनि मन्त्री थापा सक्रिय भएका थिए । जेलमा रहेका नेताहरुसँग भेटघाटदेखि सरकारसँग वार्ताका लागि वातावरण बनाउन पनि उनले भूमिका खेलेका थिए ।  

आजको छलफलमा गृहमन्त्री थापाले सकारात्मक जवाफ दिएको र सहमति कार्यान्वयन गर्नेगरी अघि बढ्ने प्रतिबद्धता दोहोर्याएको बुझिएको छ।

  • प्रकाशित मिति : चैत १०, २०७७ मंगलबार २१:४६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया