राजनीतिक स्वार्थमा अदालतको दुरुपयोगले सम्पदा पुनर्निर्माणमा अवरोध : विद्यासुन्दर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिगत लाभ तथा राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् । 

काठमाडौँ महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्वन्धमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलका क्रममा प्रमुख शाक्यले अदालतको समेत दुरुपयोग हुने गरेको शाक्यले बताए ।
 
‘काठमाडौँ महानगरले अघि सारेका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा व्यक्तिगत स्वार्थका कारण अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लामो समय निर्माण कार्य अवरोध हुने र लागत समेत बढी राज्यलाई करोडौँ घाटा हुने गरेको छ,’ शाक्यले भने, ‘अख्तियार र अदालतलाई समेत दिग्भ्रममा पारी दुरुपयोग गर्न खोज्ने व्यक्तिलाई कारबाही वा क्षतिपूर्तिको व्यवस्था नहुँदा उनीहरु थप प्रोत्साहित हुने गरेका छन् । त्यस्तो प्रवृत्तिलाई न्यायालय र अख्तियारले निरुत्साह नगर्ने हो भने समृद्धिको यात्रा कठिन छ ।’

उनीहरुका माग उपयुक्त रहेछन् भने सम्बोधन हुनुपर्छ तर स्वार्थ केन्द्रित भएर विकास निर्माणमै अवरोध गर्ने प्रयास भएको भए त्यस्तालाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्नेमा शाक्यले जोड दिए । ‘आफूले केही गर्न नसकेपछि २ पन्ना लेखेर अदालत गुहार्ने अनि उनीहरुकै कारण राज्यले ठूलो क्षति व्यहोर्ने अवस्था रहिरहने हो भने राज्य निरीह र उनीहरु झन् प्रोत्साहित हुन्छन्,’ उनले भने, ‘मुद्धा मामिलाका कारण राज्यको जति क्षति भएको हो त्यति नै क्षतिपूर्ति उनीहरुलाई तिराउने व्यवस्था अदालतले गर्यो भने मात्रै अदालतलाई पनि हलुङ्गो हुन्छ ।’ 

अदालतमा मुद्दा परेका कारण रानीपोखरी पुनर्निर्माणको लागत करिब ६ करोड बढेको स्मरण गराउँदै प्रमुख शाक्यले व्यक्तिगत र राजनीतिक स्वार्थ राखी निर्माण कार्यमा अवरोध गर्दा लागत बढी राज्यलाई ठूलो नोक्सानी हुने तर्फ संकेत गरे । 

पहिचान लुकाएर आन्दोलन 
अहिले पनि कमलपोखरीमा आफ्नो पहिचान लुकाएर आफूलाई नागरिक अभियन्ता भन्दै महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाउन लाग्यो भनेर नागरिकलाई नै दिग्भ्रममा पार्ने र भ्रामक प्रचार गरेर केहीले आफ्नो स्वार्थ पूरा गरिरहेको पनि शाक्यले आरोप लगाए । 

हामीले खबरदारी गरेकाले कंक्रिटको पोखरी निर्माण हुनबाट बच्यो भन्ने भ्रम छर्न वदनियतपूर्ण ढंगले आन्दोलनको नाटक गरेको पनि प्रमुख शाक्यले दावी गरे । ‘पोखरी पुनर्निर्माण स्थलमा राखेको डिजाइनमा कतै पनि कंक्रिटको कमलपोखरी बन्ने भन्ने उल्लेख छैन । डिजाइनमा पनि कतै छैन,’ उनले भने, ‘तर, केहीले नियोजित योजनाका साथ कमलपोखरी निर्माणमा अवरोध गर्ने होडबाजी चलाएका छन् । महानगरवासीलाई भ्रमित बनाएर महानगरले कंक्रिटको कमलपोखरी बनाउन लाग्यो भनी केहीलाई सडकमा उतार्न सकिन्छ कि भनेर धेरै प्रयास पनि गरेका छन् । तर, उनीहरुको त्यो प्रयास असफल भयो ।’



काठमाडौँ महानगरपालिकाका सबै जनप्रतिनिधि कमलपोखरी छिटो निर्माण सम्पन्न हुनुपर्छ भन्नेमा एकजुट रहेको भन्दै स्थानीय बासिन्दा पनि आन्दोलनकारीको पक्षमा नरहेको शाक्यले बताए ।  



  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १२:४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया