परिसूचक बढेर नेप्से २५७० बिन्दुमा रकममा समेत सुधार

साताको चौथो कारोबारको दिन समग्र नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक बढेसँगै यस दिन कारोबार रकमसमेत बढेको हो ।

बुधबार नेप्सेमा १.६३ प्रतिशतको वृद्धि भएको छ । मंगलबार १४ अंकले बढेर २५२८.९६ बिन्दुमा बन्द भएको सेयर बजार बुधबार भने ४१.३० अंकले वृद्धि भएको छ । यससँगै बुधबार अन्तिम कारोबार हुँदै नेप्से परिसूचक २५७०.२६ बिन्दुमा बन्द भएको हो । साथै राम्रा कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यस दिन ७.०६ अंकले बढेर ४५५.९५ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक वृद्धि भएसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । मंगलबार २०८ वटा कम्पनीको १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर कुल ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा खरिद–बिक्री भएको थियो । तर बुधबार भने २०८ वटा कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर उपसमूहबाहेक १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ । पछिल्लो एक महिनाको बजारमा भएको कारोबार रकमलाई हेर्दा यो सर्वाधिक रहेको देखिन्छ । 

पछिल्लो पटक गत महिना फागुन ११ गते ८ अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । त्यसपछिको ४ कारोबार दिनमा रकम ६ अर्ब रुपैयाँ पुगेको थियो । त्यसयता बाँकीका दिनमा भने कारोबार रकम मात्रै ३ देखि ५ अर्ब रुपैयाँ वरिपरि हुने गरेको थियो । 

पछिल्लो समय अन्तर बैंक ब्याजदर घटेको र तरलता पनि सहज हुने भएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताको भनाइ छ । नेप्सेमा उछाल आएसँगै कारोबार रकम पनि बढेकाले सेयर बजार केही समय २५-२६ सय बिन्दुकै वरिपरि स्थिर रहन सक्ने लगानीकर्ताले औंल्याएका छन् । 



यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जलविद्युत् लगानी तथा विकास कम्पनीको ९.९७ प्रतिशत, चन्द्रागिरि हिल्सको ९.९५ प्रतिशत, आरएसडिसी लघुवित्तको ९.९४ प्रतिशत, माउन्टेन हाइड्रोको ९.९२ प्रतिशत र कालिका पावर कम्पनीको ९.७६ प्रतिशतले मूल्य बढेको छ ।

यता रैराङ हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ भने अपर तामाकोशीको ३.२६ प्रतिशत, साञ्जेन जलविद्युत ३.२१ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.३४ प्रतिशत, जोशी हाइड्रोको २.२९ प्रतिशत र आँखु खोला हाइड्रोको १.९६ प्रतिशतले मूल्य घटेको छ ।



  • प्रकाशित मिति : चैत ११, २०७७ बुधबार १६:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया