[नयाँ पुस्ता] परीक्षा हलबाट बाबुकाे शवयात्रा हेरेकी रीता, जसले फर्काइन् आमालाई रंगीन कपडामा

रीता केसीले सानैमा आफू भोलि के बन्ने भन्ने करिअर म्यापिङ गरिसकेकी थिइन् । उनी गायिका बन्ने सपना बुनेर अगाडि बढिरहेकी थिइन् । तर, समाज रीताले जे सपना बनाएकी थिइन्, त्यसलाई सपना मान्न तयार थिएन । गीत गाएर हिँड्नेहरुलाई त यो समाजले नयाँ नाम जुराइदिन्थ्यो– गाइने ।

गीत गाउँछु भन्नेलाई होच्याएर गाइने भन्ने यो समाजमा रीताका बाबु चाहिँ छोरीको सपना साकार पार्नुपर्छ भन्ने ठान्थे । बाबुको साथ एउटा छोरीलाई कति शक्तिशाली हुँदो रहेछ भने रीताले समाजसँग लड्न सुरु गरिन्, बाबुको काँधमा आफ्ना सपना राखिदिइन् ।

काँधमा छोरीको फरक बाटोको त्यो सपना लिएर रीताका बाबुले त्यसलाई मलजल गरिरहे । रीतालाई भनिरहे– तिमी नयाँ बाटोमा हिँड्न खोजेकी छौ, हिँड्न नछोड ।

बाबुले निर्धक्क भएर रीतालाई आफ्नो बाटोमा लाग्न दिइरहेकाले पनि हुनुपर्छ, रीताको आँट र विश्वास ह्वात्तै बढ्यो । हो, त्यति बेला रीतालाई बाबुले भनेका कुरा के हुन् भन्ने ठ्याक्कै थाहा हुँदो रहेनछ । अहिले उनले बुझेकी छिन्, उनी भाग्यमानी छोरी रहिछिन् ।

‘मेरो बाबुले मेरो सपना बुझ्नु भएको रहेछ, त्यति बेलै,’ रीताले भनिन्, ‘मेरो सपनाको गोरेटो बलियो गरेर बाबुले पो अगाडि बढाइदिनु भएको रहेछ ।’

आफूले देखेको सपनामा रीताले पाइला चाल्दै अगाडि बढिन् । त्यो सपनामा उनले खुसी देख्न थालेकी थिइन् । दुर्भाग्य, अहिले बाबुले रीताको यो खुसी देख्न पाएनन्, आफ्नो काँधमा छोरीको सपना बोकेका उनले छोरीको अनुहारको मुस्कानलाई आत्मसात् गर्न पाएनन् ।



उनको देहान्त भयो । त्यसपछि रीताको जीवनमा अनेक यु टर्न आए, खुसी र दुःखका श्रृङ्खलाहरु आए । तर, उनका बाबुले त्यसलाई देख्न पाएनन्, त्यसलाई आत्मसात् गर्न पाएनन् ।

बाबुको देहान्त हुँदा रीता आठ कक्षामा पढ्थिन् । जुन दिन बाबुको निधन भयो, रीता परीक्षाहलमा थिइन् ।



‘बुवाको शव यात्रा सुरु भएको थियो, म परीक्षा हलमा थिएँ,’ रीताले लामो सास तानिन्, ‘मलाई थाहा छैन, त्यति बेला मैले आफूलाई कसरी सम्हालेँ, अहिले सम्झँदा पनि आश्चर्य लाग्छ ।’

बुवा गुमाएकी रीतालाई गुरुहरुले सम्हाले, बाबुको जस्तै माया दिए ।

बाबु हुँदासम्म रीतालाई थाहा थिएन, उनको सपनामा बाबुले कसरी साथ दिएका छन् । तर, जब उनको निधन भयो, त्यसपछि बल्ल रीतालाई महसुस भयो– उनलाई बाबुले कति ठूलो साथ दिएका रैछन् ।

त्यसैले रीता अहिले आफ्नो संगीतको प्रेरणा, आइडल र आइकन सबै आफ्ना बाबुलाई मान्छिन् ।

‘त्यो बेला बाबुले मलाई हौसला नदिएको भए आज म कहाँ हुन्थेँ भन्ने थाहा छैन,’ रीताले सम्झिइन्, ‘बाबुले मैले गाउँदा गाइने नभनेकाले नै आज म यो बाटोमा हिँडिरहेकी छु ।’

हो, आज सम्झिँदा रीतालाई बाबुको त्यो सपना र हात डोर्याइले निकै ठूलो हौसला दिन्छ । तर, त्यति बेला बाबुको निधन पछि रीताकी आमाको अवस्था झन् झन् खराब हुँदै गयो । आमाको अवस्था देखेर रीता कयौँपटक भक्कानो छोडेर रोइन् । भक्कानो छुट्दा छुट्दै पनि रीतालाई थाहा थियो, उनी खुसी भए आमाको पनि खुसी फर्किन्छ । 

त्यसैले हरेक पाइलामा बाबुको अभाव खड्किँदा पनि रीता खुसी हुन खोज्थिन्, आमाका लागि ।

‘आमालाई दुःख हुन्छ भनेर त्यति बेला आँसु लुकाउँथे, अनुहारमा खुसी मात्र देखाउँथे,’ रीताले भनिन्, ‘हो, त्यति बेला देखि नै हो, मैले आँसु लुकाएर खुसी हुन जानेको ।’

एकातिर दुःखहरुको ओइरो लागिरहेको थियो । अर्कोतिर, रीताले आफ्नो बाटोलाई अगाडि बढाइरहेकी पनि थिइन् । बाबुको निधनको दुई वर्षमा नै रीताले घर छोड्ने भइन्, उनले काठमाडौंको यात्रा तय गर्ने भइन् ।

एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि रीता काठमाडौं आएकी थिइन् ।

काठमाडौंमा दिदीसँग उनी शंखमूल बस्न थालिन् । आरआर क्याम्पसमा पढ्न थालिन् ।

आफ्नो सपनालाई थप बलियो बनाउन सक्ने आत्मविश्वास रीतालाई काठमाडौंमा मिलिरहेको थियो । तर, सुखका साथ होइन । काठमाडौंमा पनि उनले बारम्बार दुःखहरुलाई आफ्नो साहरा बनाउँदै अगाडि बढेकी थिइन् । दिदीसँग कोठामा त बस्थिन् उनी तर संघर्ष के हो त्यही समयमा राम्रोसँग बुझ्न थालेकी थिइन् ।

‘दिदीले कलेज जाँदा वा फर्किँदा एक पटकलाई मात्र पुग्ने गाडी भाडा दिनुहुन्थ्यो,’ रीताले सम्झिइन्, ‘आउँदा हिँड्दै कलेजबाट कोठासम्म फर्किन्थे, भोकले निकै सताएको हुन्थ्यो, तिर्खा लागेको हुन्थ्यो ।’

यी दुःख र संघर्षका साथ रीता अगाडि बढिरहेकी थिइन् । अनि सँगसँगै गीतसंगीतलाई पनि अगाडि बढाइरहेकी थिइन् ।

भनिन्छ नि, सबैको जीवनमा एक दिन आउँछ । हो, रीताको जीवनमा पनि अब विस्तारै त्यो दिन आउन थालेको थियो । 

रीताले केही फिल्मका गीतहरु गउन पाइन्, त्यसबाट थोरैतिनो भए पनि कमाउन पाइन् । यो त एउटा पाटो भयो । रीताले आमाको जीवनमा ल्याएको परिवर्तन चाहिँ साँच्चिकै उल्लेख्य छ । 

बाबुको निधन भएपछि रीताकी आमाले सेतो कपडा मात्र लगाउने निधो गरेकी थिइन् । सेतो कपडामा आमालाई देख्दा निकै दुखी हुन्थिन्, रीता । आफूले काठमाडौंमा टेक्ने आड बनाएपछि रीताले आमालाई काठमाडौं ल्याइन् । आमाको मन थोरै परिवर्तन गरिन् । 

आफू विदेशमा कार्यक्रम गर्न जाँदा रीताले आमालाई सँगै लगिन् । त्यहाँको परिवेशमा आमालाई घुलमिल गराइन् ।

अनि आमालाई सेतो कपडा छाडेर फेरि रातोमै फर्काइन्, रीताले । आमाको जीवनमा रीताले ल्याएको यो परिवर्तन यो समाजका लागि एउटा कोसेढुंगा हो, परिवर्तनको संवाहक ।

रीतासँग जीवनका अनेक पहेलूहरु छन्, अप्स एन्ड डाउन्स भोगेकी छिन् रीताले । फरकधारको कार्यालयमा केही दिनअघि आउँदा उनले आफ्नो मनमा गाँठो परेर रहेका दुःखका पोयोहरु फुकाइन्, खुसीका झङ्कारहरुलाई थप बढाइन् । 

हेर्नुहोस्, यो भिडियोः 

  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार ११:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया