नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनेक प्रश्न सोधेका छन्। आफूलाई सोधिएको १० बुँदे स्पष्टीकरणको बिहीबार जवाफ फर्काउँदै नेता नेपालले ओलीमाथि अनेक प्रश्न गरेका हुन्। नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै जवाफ माग गरेका छन्।
नेता नेपालले पार्टी अध्यक्ष ओलीले सोधेको १० बुँदे स्पष्टीकरणको ८ पेज लामो जवाफ दिएका हुन्। 'गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको राजनीतिक दल नरहने भएकोले साविकको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः मिल्ने भए निर्वाचन आयोगमा जानु भनी गरेको फैसला तथा सोही अनुरुप निर्वाचन आयोगले पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनु भनी दिएको सूचनाबारेमा केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक विधिवत् नबोलाइ तपाईले छलफल किन गराउनु भएन ?', उनले सोधेका छन्, 'यसरी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक नबोलाइएबाट सर्वोच्च अदालतको फैसलाको अवज्ञा हुनुका साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईँको गलत मनसाय रहेको किन नभन्ने?’
वरिष्ठ नेता नेपालले पुस ७ गते कार्की पार्टी प्यालेसमा बसेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाएर आफूलाई अध्यक्ष बनाएकोबारे थाहा नपाएको भन्दै प्रश्न तेर्स्याएका छन्।
‘तपाईँले माथि उल्लेखित कार्यहरु गर्नुका साथै पार्टी नीति र स्थापित राजनीतिक मूल्य–मान्यता विपरीत मन्त्रीपरिषद्को पुनर्गठन गर्ने, विभिन्न राजनीतिक नियुक्ति गर्ने, यसरी नियुक्ति गर्दा म लगायत पार्टीका नेतामाथि सार्वजनिक रुपमा गाली बेइज्जती गर्ने व्यक्तिलाई प्रश्रय दिने, कर्णाली प्रदेशमा आफू अनुकुलका व्यक्तिहरुलाई प्रयोग गरी सरकारका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने जस्ता क्रियाकलापहरू गर्नु भएपछि त्यसबारे स्थायी कमिटीको बैठकमा उठेको प्रश्नको जवाफ नदिइ अप्रत्याशित रुपमा प्रतिनिधिसभा विघटन गर्नुका साथै पार्टीको विधान मिचेर अलग संगठन निर्माण गर्नु भएकोले २०७७ साल पुस ७ गते बसेको नेकपा स्थायी कमिटीको प्रस्तावमा केन्द्रीय कमिटीको त्यही मितिमा बसेको बैठकले पार्टी अध्यक्षबाट हटाई रिक्त स्थानमा मलाई पार्टी अध्यक्ष चयन गरेको तथ्य तपाईलाई जानकारी छैन र?,’ नेपालले ओलीलाई सोधेका छन्।
गत फागुन २८ गते नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक विधिवत् रुपमा नबोलाइ माओवादीका २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरिएकोमा पनि नेपालले गम्भीर आपत्ति जनाएका छन् ।
‘नेकपा (एमाले) को सदस्य नै नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरिएको भनी सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लंघन गर्दै पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?,’ नेपालले ओलीलाई सोधेका छन्।
नेता नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्चको फैसला विपरीत फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको आरोप लगाइएको छ।
‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरूबाट तपाईं समेतका नेताहरुसँग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?,’ नेपालले सोधेका छन्।
उनले ओलीमाथि अनेक प्रतिप्रश्न गरेका छन् ‘यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसँग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईंबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ? यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।