भीम रावलले लगाए प्रधानमन्त्री ओलीमाथि १८ करोड भ्रष्टाचार आरोप

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले १८ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका छन्। आफूलाई एमालेले सोधेको स्पष्टीकरणको १४ बुँदे जवाफ बिहीबार बुझाउँदै नेता रावलले उल्टै ओलीमाथि १८ करोड रुपैयाँ भ्रष्टाचार आरोप लगाएका हुन्। 

रावलले तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीय कार्यालयमा सञ्‍चित १८ करोड रुपैयाँ हिनामिना र दुरुपयोग आरोप ओलीमाथि लगाएका हुन्। 'सुदूरपश्चिम प्रदेश कमिटी सचिव र कार्यालय सचिवले बैंक खाता संचालनमा आफ्नो हस्ताक्षरको प्रयोग गरी पार्टीको कोष सुरक्षित गरेको कुरालाई मसँग गाँसेर 'आर्थिक अनुशासनहीनता र पार्टी सम्पत्तिको हिनामिना गरेको' भन्‍ने जस्तो झुटो र हास्यास्पद कुरा पत्रमा उल्लेख गर्न लगाएको देख्दा तपाईँ जनमानसमा भ्रम छर्न कति उद्यत हुनुहुँदो रहेछ भन्‍ने कुराको पुष्टि हुन्न र ?,' रावलले ओलीलाई सोधेका छन्, 'यस्तो निकृष्ट प्रचार गरेर तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गर्नुभएको मात्र हो किन नभन्ने ?'

रावलले ओलीमाथि बालुवाटारमा बसेर गुट भेला गरी नेकपा र एमाले विभाजनको अभ्यास गरेको पनि आरोप लगाएका छन्। 'तपाईंले बालुवाटारमा गुट भेला गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधानविपरीत अलग केन्द्रीय कमिटी र मातहत कमिटीका साथै जनवर्गीय संगठनहरू बनाउने अवैधानिक काम गर्नुभएको हो', उनले जवाफमा भनेका छन्, 'तपाईँका त्यस्ता पार्टी विरोधी गतिविधिबाट पार्टीको हित सुरक्षा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा), स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट भएका निर्णय बैंक खाताको पैसा सुरक्षित गर्दा ममाथि हिनामिनाको गम्भीर आरोप लगाउँदा तपाईंको नियत प्रष्ट भएको छ।'

रावलले ओलीमाथि विदेशीसामु लम्पसार परेको अर्को आरोप पनि लगाएका छन्। उनले पार्टीले अनुशासनको कारवाही गरेको कुरा पनि ओलीलाई सम्झाएका छन्। रावलले ओलीलाई साबिक नेकपा केन्द्रीय कमिटीले अनुशासनको कारवाही गरेको कुरा पनि सम्झाएका छन्। 

ओलीले फागुन १८ मा नवौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी पद खारेज गरेका थिए। त्यसपछि उनलाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा स्पष्टीकरण सोधेका थिए। तर रावलले एमालेको उपाध्यक्षकै हैसियतमा जवाफ फर्काएका हुन्। 





  • प्रकाशित मिति : चैत १२, २०७७ बिहीबार २०:४८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया