आमा हुँदाको खुसी महसुस गर्नै सकिन
छोराले प्रेममा परेँ भन्दा टाढिने डर हुने रहेछ

२०५५ सालको एक साँझ। सरस्वती क्याम्पसको गेटमा टाँसिएको लीनाको नाममा हात राखेर स्याङजाका सुवास रेग्मीले ठूलो स्वरमा भने, ‘म त यही केटीसँग बिहे गर्ने।’ विद्यार्थी नेता सुवास र लीना राजनैतिक रुपमा दुश्मन जस्तै थिए। सुवासको यो हर्कतले झन् दुस्मनी बढायो। 

क्याम्पसमा स्ववियुको चुनावी माहोल तातेको थियो। उनीहरु अलग अलग प्यानलबाट उम्मेदवार बनेका थिए। त्यस बेला क्याम्पसको गेटमा उम्मेदवारको नाम टाँस्ने चलन थियो। लीनाको नाम त्यहीँ टाँसिएको थियो। आफ्नो नाम पछि लाग्ने मान्छे कांग्रेस भन्ने थाहा पाएपछि लीनालाई झन् रिस उठ्यो। उनले सोचिन्, भेटेर उसको सातो लिन्छु। खोज्दै जाँदा सुवास भेटिएनन्। लीना यसै फर्किन्। 

अनि दुवैको भेट चुनाव प्रचार गर्दा भयो। सुवासले अप्रत्यक्ष कति प्रेम प्रस्ताव राखे, हिसाब नै छैन। मुख नै खोलेर ४ पटक मायाको प्रस्ताव राखे। २ वटा चिठ्ठी लेखे। लीनाले दुवै पत्र च्यातिन्। अहिले सम्झिँदा खुल्दुली लाग्छ, ‘के लेखेको थियो होला चिठीमा’। त्यतिबेला लीनाका लागि कुनै गुण्डा जस्तै लाग्थे सुवास। 

स्ववियू चुनाव भयो। सुवासले जिते। लीनाले हारिन्। उनीहरुको कक्षादेखि पढ्ने सिफ्ट पनि फरक थियो। भेट हुनुपर्ने कुनै कारण थिएन। तर, बिहान पढेर पनि दिउँसोसम्म कलेजमै बस्थे सुवास। लीना क्यान्टिनमा जाने समयको प्रतिक्षामा हुन्थे। जब लीना क्यान्टिन पस्थिन्, अनि भन्थे, ‘आज सबैलाई क्यान्टिनमा फ्री।’ 

अनि ‘ओके’ भनिन्

हरेक मान्छे सोचे जस्तै खराब पनि हुँदैनन्। उनीहरु भित्र राम्रो मन पनि हुन्छ। सुवासले लीनासामु यही कुरा पुष्टि गर्न झण्डै एक वर्ष कुर्नुपर्यो। सुवासले आफ्नो जन्मदिन पारेर २०५६ चैतमा फेरि मायाको प्रस्ताव राखे। यसपटक उनको प्रेम स्वीकार भयो। लीनाले ‘ओके’ भनिन्। 



प्रेममा परेपछि लीनालाई लाग्यो, ‘परिवारले अरुबाट यो कुरा सुन्नुअघि नै आफैंले भन्नुपर्छ।’ आफ्नो प्रेमको कथा आमालाई सुनाइन्। अनि आमाले बुवालाई। घरमा उनको प्रेममाथि अनेक कोणबाट बहस भयो। आइएको परीक्षा सुरु हुने बेला थियो। लीना घरमा नजरबन्दमा परिन्। कलेज जान र सुवासलाई भेट्न प्रतिबन्ध लगाइयो।

उता परीक्षा सुरु भयो। लीनाका बडीगार्ड बनेर मामा क्याम्पसको गेटमा कुर्थे। सुवासले लीनालाई मनको कुरा भन्ने गतिलो अवसर यही परीक्षाको समय थियो। उनले सबै कुरा लेखेर लीनाको हातमा चिठ्ठी थमाएर हिँडे।



लीनालाई त्यसबेला लागेको थियो, ‘यो सामान्य आकर्षण हो। भेट नभएपछि सुवासले बिर्सिहाल्छन्। फरक फरक बाटोबाट नयाँ जिन्दगी सुरु हुनेछ।’ उनले सोचेको जस्तो सजिलो थिएन बिर्सन। अन्ततः उनले एक दिन सुवासलाई अँगालिन्। बुवाआमाको साथ र जन्म घर छोडेर हिँडिन्। बुवाआमाले पनि फर्काउन बल गरेनन्। सुवाससँग बिहे गरेर लीना स्याङजा पुगिन्। 

बुबाका आँसु

बिहेको एक महिनासम्म माइत गइनन्। आमाबुवाले पनि खोजी गरेनन्। एक महिनापछि माइती फर्किँदा पहिलो पटक बुवाको आँखामा आँसु देखिन्। त्यसबेला उनलाई लाग्यो, ‘धिक्कार छ मलाई। मैले बुवा आमालाई रुवाएँ’। अहिले पनि रुने अवस्था आउँदा लीनालाई लाग्छ, ‘मैले बुवा आमालाई रुवाएको सजाय भोग्दैछु’। उनी आज पनि मनमा बुवाआमाको आँसु झरेको त्यही दिनको भार बोकेर हिँडिरहेकी छन्। 

बिहेको एक वर्षपछि लीना आफैँ आमा हुने भइन्। मध्यमवर्गीय परिवारका सुवास। लीना जमिन्दारकी छोरी। उनलाई यसै पनि अभावसँग जुध्न गाह्रो परेको थियो।

अनेक अभावबीच गर्भवती हुँदा उनलाई लाग्यो, ‘फेरि अर्को भार थपिने भयो।’ पढ्ने सपना अधुरै थियो। पढेर केही गर्ने सपना साँचेकै थिइन्। तर पेटमा बच्चा आयो। आर्थिक अवस्था सवल थिएन। आमा बन्ने खुशीमा रमाउनै मानेन उनको मन। 

लीना गर्भवती भएको थाहा पाएपछि परिवारका सदस्य भन्थे, ‘तेरो छोरो जन्मिन्छ।’ उनलाई पनि छोरो नै जन्मियोस् भन्ने लाग्थ्यो। उनको यो मन छोराछोरीको विभेदले बनाएको होइन। छोरो जन्मियो भने तत्काल अर्को बच्चा जन्माउनु नपर्ने कुराले उनले त्यही प्रार्थना गरिन्। मनमनै भन्थिन्, ‘छिट्टै अर्को बच्चा जन्माउने झमेला नहोस्, पढ्नु छ।’

त्यो संघर्ष
गर्भवती भएकै कारण उनले विशेष छुट पाउने सम्भावना थिएन। सुवासले कमाउनै पर्थ्यो। लीनाले घरको काम गर्नै पर्थ्यो। पढ्नु पनि थियो। नियमित कलेज जान्थिन्। 

गर्भवतीबारे विभिन्न भनाइ चलनमा थिए। लीनाले पनि ती भनाइ पछ्याइन्। ‘हिँड्दा नर्मल डेलिभरी हुन्छ’ भन्थे, उनी साँझ बिहान हिँड्थिन्। ‘नरिवल खाँदा बच्चा गोरो जन्मिन्छ’ भन्थे, आफ्नै शरीरले पचाउन नसक्ने गरी नरिवल खान्थिन्। 

माइती त नजिकै थिए। तर, आफ्नै खुसीले हिँडेकी हुँदा माइती गइरहन मनले मानेन। सासुससुरा गाउँमै। साथमा अनुभवी कोही थिएन। प्रसव पीडा ‘पेट दुखेर सुरु हुन्छ’ भन्ने सुनेकी उनलाई ८ महिना कटेपछि पेट दुख्दा सुत्केरी बेथा लागे जस्तै हुन्थ्यो। अनि आत्तिन्थिन्।  

अस्पतालमा एक्लै

सुत्केरी हुन शिक्षण अस्पताल भर्ना भइन्। प्रसव पीडा बढ्दै जाँदा उनी अस्पतालका भित्तामा लेखिएका अक्षर पढेर मनमनै सोच्थिन्, ‘मैले मेरो जिन्दगीमा पढ्न पाउने यति नै रहेछ’। नर्मल डेलिभरी नहुने भयो। अप्रेसन थिएटरमा लैजानुअघि नर्सहरु उनका आफन्तको खोजी गर्थे। अस्पतालमा आफन्त कोही रहेनछन्। यतिबेला लीनालाई नमज्जाले दुख्यो। सुवाससँग पहिलो पटक चित्त दुखाइन्। तत्काल अप्रेसन गर्ने निर्णय परिवर्तन भयो। उनले नर्मल विधिबाटै छोरो जन्माइन्। 

उनको प्रार्थना पनि पूरा भएको थियो। उनी आमा भइन्। खुशी थामिनसक्नुको हुनुपर्ने थियो तर, त्यस्तो भएन। छोरो जन्मिँदा पटक्कै खुशी थिएन, उसको भविष्यले पोल्न थालेको लीनाको छाती। आज पनि अरु आमाले झैं छोरासँग ऊ जन्मिँदाको खुशी बाँड्ने शब्द छैन उनीसँग। 

छोरो जन्मेपछि लामो समय माइत गएर बसिन्। नातीलाई बोकेर बुवा खुशी भएपछि बल्ल सन्तान जन्माएकोमा मन रमायो। लाग्यो, ‘मैले भाँचेको मेरो बुवाको मन छोराले जोडिदियो।’ सुत्केरी भएको केही महिना कलेज जान पाइनन्। बिए दोस्रो वर्ष चल्दै थियो। 

केही महिनापछि छोरोलाई आमाकहाँ छोडेर कलेज जान थालिन्। दिनभर छोरालाई दूध चुसाउन नपाउँदा मन भतभती पोल्थ्यो। एकातिर मन पोल्छ, अर्कातिर दूध चुहिरहन्छ। लीनालाई अरुले के सोच्लान् भन्ने लाग्थ्यो। सकेसम्म लुकाउन खोज्थिन्। कलेजमै मिसले मायाले सम्झाइन्। गुरूआमाको त्यो गुन लीनाले बिर्सिएकी छैनन्। ३ महिना माइती बसेपछि  डेरामा फर्किन। बिहान कलेज आउँदा छोरो बोकेर माइत पुग्थिन्। त्यहीँ छोडेर पढ्न जान्थिन्। बेलुका माइतबाट छोरो लिएर डेरा फर्किन्थिन्। 

आमाको त्यो साथ

पढाइमा छोरीको लगाव देखेर आमाले नातिलाई आफैंसँग राखिन। छोरीलाई निरन्तर पढ्न भनिन्। लीना पनि छोरो माइतीमै छोडेर पढ्न थालिन्। तर, काखे छोराको न्यास्रोले सताउँथ्यो। अनि दौडिएर माइती पुग्थिन्।

छोराले हजुरआमालाई सोध्थ्यो, ‘आमा यो लीना मेरो घर कति आएकी ?’ त्यो बेला उनको मन यति भक्कानिन्थ्यो, हिसाब नै छैनन्। अनि सुवासले पनि अब बुबाआमा नजिकै बसौं, छोरो आफैंसँग राखौं भने। त्यसपछि उनीहरु लाजिम्पाटबाट धुम्बाराही सरे। दिनभर आमासँग बसेपछि छोरो उनीसँगै निदाउन थाल्यो।

अभाव र संघर्षका ती दिनमा छोरालाई हुर्काउन ठूलै संघर्ष गर्नुपर्यो। अहिले पनि लाग्छ, ‘बाल्यकालमा छोराका थुप्रै रहर खोसिए।’ छोरोले गुनासो गर्दैन। लीना पनि मन बुझाउँछिन्। तरपनि छोरोसँग गाँसिएका उनका कयौं रहर मारिए। सम्झँदा आज पनि मन दुख्छ। भन्छिन्, ‘छोरालाई डाइपर लगाइदिने आफ्नै रहर पूरा गर्न पाइनँ। नहुनु पनि धेरै कुरा हुनु रहेछ जिन्दगीमा। अभावले धेरै कुरा सिकायो।’ 

छोराको कुरा

बढ्दै गरेको छोराले एक दिन भन्यो, ‘आमा म कसैलाई माया गर्छु।’ लीनाको मन फेरि एकपटक पिल्सियो। सोचिन्, ‘अब मेरो छोरो म बाट टाढा हुने छ।’ त्यसबेला वर्षौअघि आफूले बुबाआमा रुवाएर हिँडेको बाटो सम्झिन्। सोचिन्, ‘मैले केही नभनी घर छाडेर हिँड्दा कति पोल्यो होला बुवाआमाको मन।’ 

अब त छोराको उमेर उनी आमा हुँदाको जत्रै भइसक्यो। छोरो आफैं कमाउन थाल्यो। लीनालाई लाग्छ, ‘छोराको भविष्य भनेर मैले आफ्नै भविष्य बनाइरहेको रहेछु। ऊ त आफैँ बाँच्न सक्ने रहेछ’। 

  • प्रकाशित मिति : चैत १४, २०७७ शनिबार ८:३०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया